इन्जिनियर बन्ने सपना त्यागेर कृषक

वीरेन्द्रनगर–८, सुर्खेतका मुरारिज· (सुवास) थापा बुबा दुर्गाजङ्ग थापा र आमा सीतादेवी थापाको कोखबाट वि.स २०४२ साल भदौ १ गते जन्मिएका हुन् । सानैदेखि अलि मौन बस्ने उनलाई भविष्यमा ईन्जिनियर बन्ने रहर थियो । तर समयले उनलाई सफल अर्गानिक किसान बनायो ।
पढाइमा बीबीएस सकेका उनले व्यवसायिक रूपमा वीरेन्द्रनगर अर्गानिक कृषि फर्म स्थापना गरी अर्गानिक कालो चामल उत्पादन गर्न थालेको दुई वर्ष भयो । दुई वर्षमा उनले थुप्रै किसानका पीडा बटुलेका छन् । समाजले किसानलाई हेर्ने दुष्टिकोण र कष्टलाई समेत राम्रोसँग झेलेका छन् । तर आफूलाई किसान भनेर चिनाउँदा गौरव लाग्छ । कर्णाली प्रदेश सरकारको अर्गानिक प्रदेश बनाउने योजना अनुरूप व्यवसायिक रूपमा कालो चामल उत्पादन गर्दै आएका मुरारिजङ्ग थापाले आफ्नो व्यवसायिक जीवनका कथा हाम्रा सहकर्मी सीता वलीसँग यसरी साटेः

म घरको एक्लो छोरा । दिदीको विवाहपछि घरको जिम्मेवारी मेरो काँधमा आयो । म आर्थिक अवस्था न्यून भएको परिवारमा जन्मिएको पनि होइन । तर पनि जीवनमा अगाडि बढ्नलाई रोजगारी आवश्यक पर्ने रहेछ ।
वीरेन्द्रनगर बहुमुखी क्याम्पसबाट बीबीएस पास गरिसकेपछि म बेरोजगार भएँ । मैले रोजगारीका लागि केही संघ–संस्थाहरुमा समेत संलग्न भएँ । तर पनि मलाई कृषितर्फ नै रुचि भएपछि मैले २०७१ सालमा कृषि फर्म स्थापना गरें । कृषि फर्म स्थापना गरेपछि मैले तरकारी उत्पादन गर्न थालें । तर तरकारीमा समेत विषादी प्रयोग गर्न मेरो मनले मानेन । विशुद्ध रुपमा अर्गानिक कृषि फर्मका नामले स्थापना भएको कृषि फर्मबाट विषादियुक्त पदार्थ उत्पादन गर्न मनले नमानेपछि मैले अर्गानिक कालो चामल उत्पादनतर्फ ध्यान दिन थालें । गणेश पौडेल सर र मेरो घरपरिवारले मलाई सहयोग गर्नुभयो । उहाँहरुकै सहयोगमा सुरु गरेको हुँ ।
वीरेन्द्रनर–१०, भ्वानपुरमा रहेकोे आफ्नै १० कट्टा जमिनमा यो कालो चामल उत्पादन गर्दै आएको छु । जाजरकोट कुशे गाउँपालिकाका धर्मराज सिंहले यो अलि मुनाफामूलक हुने र अर्गानिक औषधिजन्य खेती भएको जानकारी दिएपछि २०७२ सालबाट उत्पादनमा लागेको हुँ ।
मैले सानैदेखि सफल ईन्जिनियर बन्ने सपना देखेको थिएँ । त्यो सपना विशेष कारणवश पूरा हुन सकेन तर पनि मलाई कुनै पछुतो छैन । किनभने मैले अहिले कालोचामल उत्पादन गरेर डाक्टरकै काम गरेको जस्तो अनुभूति भएको छ । सुरुमा तरकारी उत्पादन गरी बेच्न लैजाँदा मानिसहरु नाक खुम्च्याउने गर्थे तर पनि मैले हिम्मत हारिनँ । अझै पनि यो पेसा गौरबको पेसा हो भन्न लायक बन्ने लक्ष्य बोकेको छु । जसले गर्दा पढेलेखेका युवाहरु कृषिमा आकर्षित हुन् ।
बीबीएस पढेको मान्छे एउटा राम्रो जागीर नखाएर खेतीतर्फ लाग्यो भनेर धेरैले नभनेका पनि होइनन् । तर पढेलेखेकाहरुले खेती गर्नुुहुन्न भन्ने कहाँ लेखेको छ र ? भन्ने एउटै प्रश्नले मलाई यो क्षेत्रमा सफल बनाएको छ ।
सामान्य मानिसहरुका लागि यो झट्ट हेर्दा महंगो खालको चामल भए पनि यसको उपयोग एकदमै महत्वपूर्ण छ । सुगर, मोटोपन, ग्याष्टिक घटाउने र प्रोटिन, आइरन लगायतका थुप्रै तत्व पाइने यो चामल प्रतिकेजी पाँच सय रुपैयाँ पर्दछ । तर २५ केजी चामलमा यो कालो चामल १ केजी मिसाएर खानुपर्छ ।
धेरैलाई कालो चामलको बहुउपयोगी गुण थाहा छैन । जतिलाई थाहा छ निरन्तर उपयोग गरिरहरनु भएको छ । धन्न मैले अरुलाई स्वस्थ बनाउन सकेको छु र अर्गानिक उत्पादनमा लागेको छु । म जस्ता धेरै युवाहरु खाँडीमा पसिना बगाइरहेका छन् । त्यो भन्दा आफ्नै देशमा गरे के हुन्न र भन्ने मलाई लाग्छ । मेरो आगामी योजना दुई बिगाहा जमिनमा कालो चामल उत्पादन गरी कर्णाली प्रदेश भर बीऊको रुपमा वितरण गर्ने योजना छ । यो चामल उत्पादन अरु चामल उत्पादन गर्न जस्तो सजिलो छैन । तीन महिनामै पाक्ने भए पनि झाँट्न भने एकदमै गाहे छ । मलाई कालो चामल भनेर धेरैले चिन्नुहुन्छ, त्यसमा गर्व लाग्छ । कृषि प्रधान देशमा जन्मिएको मान्छे कृषि क्षेत्रमा लागे पनि अरुले हेर्ने दुष्टिकोण त नकारामत्मक छ । तर पनि म सन्तुष्ट छु । खुशी छु । म आगामी दिनमा अझै यो पेसालाई बढाएर लैजाने योजना बनाएको छु ।
सरकारले अर्गानिक प्रदेशको रुपमा कर्णालीलाई अगाडि बढाउने योजना बनाएको छ । तर कती युवा कृषिमा आवद्ध छन् ? उनीहरुलाई अनुदान, तालिम, तथा ऋणको उपलब्धता छ कि छैन भन्ने तथ्यांक सरकारसँग छैन । कृषि विकास बैंकहरुले समेत वास्तविक किसानलाई ऋण उपलब्ध गराउन सकेको छैन । यसतर्फ कर्णाली प्रदेश सरकारको ध्यान जानु जरुरी छ । बैंकहरुले किसानहरुलाई साढे दुई प्रतिशतमा ऋण उपलब्ध गराउने भने पनि हामीले पाएका छैनौ । विश्व स्वास्थ्य संगठनले समेत यो चामललाई स्वास्थ्यका दृष्टिले एकदमै महत्वपूर्ण छ, भनिरहेको छ । नेपालमा आएको जम्मा सात वर्ष मात्रै भएको रहेछ । तर यसतर्फ सरकारको चासो भयो भने कर्णालीलाई अर्गानिक प्रदेशको रुपमा अगाडि बढाउन
सकिन्छ । सबैले यो चामल प्रयोग गर्न सकियो भने कर्णालीका कुनैपनि बालबालिकाहरुलाई कुपोषण हुनेछैन ।
कर्णालीमा जति कृषिमा ठूलो लगानी छ भन्ने भ्रम छ । त्यो मैले देखेको छैन । विदेशिएका युवाहरुलाई नेपालमै फर्काउनका लागि कृषिका बजेट ल्याएको भने पनि वास्तविक किसानहरुले पाएका छैनन् । कालो चामल उत्पादनबाट मुनाफा भन्दा पनि सेवा दिइरहेका छौ । यसलाई अलि नयाँ र हाई पावरको टेक्नोलोजी प्रयोग गरेर झाँट्ने र कुट्नुपर्ने भएकोले अलि गारो पनि छ । मैले अब कर्णालीमा कालो मकै र कालो गहुँ को उत्पादनमा लाग्ने तयारीमा लागको छु । जसलाई सानोतिनो प्राकृतिक प्रकोपले समेत नष्ट गर्न सक्दैन ।

प्रकाशित मितिः   १५ जेष्ठ २०७६, बुधबार १६:०१