कर्णालीको दोस्रो हार

साझा बिसौनी संवाददाता
सुर्खेत, १४ जेठ ।
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेश लगातार दोस्रो खेलमा पनि पराजित भएको छ । मंगलवार भएको आफ्नो दोस्रो खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई एक सय १७ रनको ठूलो अन्तरले पराजित गरेको हो ।
कर्णाली प्रदेश यसअघि आफ्नो पहिलो खेलमा नेपाल पुलिस क्लबसँग पराजित भएको थियो । मुलपानी मैदानमा सम्पन्न खेलमा पहिले ब्याटिङ्ग गर्दै आर्मीले दुई सय ९१ रनको लक्ष्य दिएको थियो । जवाफमा कर्णाली प्रदेशले ३५.१ ओभरमा एक सय ७३ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो । कर्णालीलाई लक्ष्यसम्म पुग्न नदिन आर्मीका देब्रे हाते स्पिनर सुशन भारिले चार विकेट लिए । नौ ओभरमा भारिले ३६ रन खर्चिए । यस्तै करन केसी र शाहब आलमले दुई÷दुई विकेट लिए भने हरिबहादुर चौहानले एक विकेट लिए ।
कर्णालीको ब्याटिङ्गमा ओपनर सुशान्त थापाले सर्वाधिक ३१, ललित प्याकुरेलले अविजित २८, युनिश बिक्रम सिंहले २० तथा दिवान पुनले २६ रन बनाए । नौ विकेट एक सय २० रनमै गुमाइसकेको कर्णालीको लागि दसौं विकेटको रुपमा ललित प्याकुरेल र युनिशविक्रम सिंहले ५३ रनको साझेदारी गरेका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिंग गर्ने क्रममा आर्मीले ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ९० रनको योगफल तयार गरेको थियो । आर्मीको लागि फर्ममा रहेका ब्याट्सम्यान राजु रिजालले सर्बाधिक ६६, रोहित पौडेलले ५६ र हरिकृष्ण झाले ५२ रन बनाए । उत्कृस्ट सुरुवात गरेको आर्मीको लागि राजु र हरिकृष्णले पहिलो विकेटको लागि एक सय ३२ रनको साझेदारी गरेका थिए ।
मध्यक्रममा हरिबहादुर चौहान ११, राजेश पुलामी दुई, विनोद भण्डारी पाँच तथा कुशल मल्ल दुई रन बनाएर आउट भए । रोहित पौडेल र करन केसीले छैठौं विकेटको लागि ६७ रनको तथा अन्तिम विकेटको लागि लोकेन्द्र चन्द र शाहव आलमले ३२ रनको साझेदारी गरे । कर्णाली प्रदेशको लागि ललित प्याकुरेलले सर्वाधिक पाँच विकेट तथा रविन्द्र शाहीले दुई विकेट लिए ।

प्रकाशित मितिः   १५ जेष्ठ २०७६, बुधबार १५:५५