हुम्लामा बढे पर्यटक

साझा बिसौनी संवाददाता
हुम्ला, ११ जेठ ।
मानसरोवर कैलाश यात्राको सिजन सुरु भएसँगै हुम्लामा चहल–पहल बढेको छ । भारतीय पर्यटकको आगमन बढेपछि होटल, पर्यटन व्यवसायी र हेलिकप्टर कम्पनीलाई भ्याइ–नभ्याइ छ । सिमकोट बजारमा विभिन्न उपभोग्य सामानको व्यापार बढेको छ । सदरमुकाममा रहेका होटेलमा कोठा–कोठा पाइनै मुस्किल छ ।
होटल सञ्चालक विजय लामा पहिल्यै होटलका कोठा ‘बुक’ भइसकेकाले नयाँ पाहुनालाई व्यवस्थापन गर्नै गाह्रो भएको बताउँछन् । सय जना क्षमताको होटल मानसरोवर र ७५ जना क्षमताको सनी भ्याली रिसोर्ट पनि भरिभराउ छन् । मानसरोवरका सञ्चालक टेके रावतले मानसरोवर जाने तीर्थयात्रुको कारण एकछिन पनि फुर्सद नभएको बताए । होटलमा आठ जना कर्मचारी राखिएकामा नपुगेर घरका पाँच जना पनि पाहुनाको सत्कारमा खटिनुपरेको उनले बताए । ‘यो सिजन हाम्रो व्यवसायका लागि निकै राम्रो मानिन्छ,’ उनले भने, ‘त्यसैले रातदिन पाहुनालाई खुसी बनाउन लागिपरेका छौं ।’
सामान्यतया एकजना पर्यटकले एक दिनमा दुई हजार चार सय रूपैयाँ होटलमा खर्च गर्छन् । होटलका कोठा पूरै खपत हुने भएकाले यही सिजनबाट फाइदा हुने गरेको होटल व्यवसायी बताउँछन् । सिमकोटमा साना ठूला गरी करिब
२० वटा होटल छन् । घुइँचो बढी भएको दिन पर्यटकहरू साना होटलमा पनि बस्ने गरेका छन् ।
करोडौं लगानी गरेका व्यवसायी माात्र होइन, भारी बोकेर गुजारा गर्ने भरियालाई पनि यो सिजनले उत्साही बनाएको छ । सिमकोट गाउँपालिका–३ का बाँचु सुनारले पर्यटकको भारी बोक्न पाउँदा आम्दानी बढेको बताए । उनका अनुसार यो सिजनमा दैनिक करिब एक हजार दुई सय रूपैयाँसम्म कमाइ हुने गरेको छ । एयरपोर्टदेखि होटलसम्म भारी बोकेको प्रतिट्रिपको एक सय रूपैयाँ लिने गरेको उनले बताए । ‘भारी नबोकी पेट भरिदैंन, सधैं भारी बोक्न पाइँदैन,’ उनले भने, ‘यसरी भारी बोक्न पाइने भनेको सिजन सुरु भएपछि मात्र हो ।’ सिमकोटकै ५१ वर्षीय भरिया हंश सुनारले मानसरोवर कैलाश यात्राको सिजनले राम्रै आम्दानी दिने गरेको बताए । जग्गा नभएकाले यही सिजनमा पैसा बचत गरी अरू बेला गर्जो टार्ने गरिएको उनको भनाइ छ ।
सिमकोट बजारमा पनि चहलपहल बढेको छ । पसल, सपिङ्ग सेन्टरमा पर्यटकले दैनिक उपभोग्य वस्तु खरिद गर्दा व्यापार बढेको स्थानीय व्यवसायी बताउँछन् । पानस सपिङ्ग सेन्टरका प्रोप्राराइटर सरोज रावतले एक सातायता दैनिक १० हजारदेखि १५ हजारसम्म कारोबार हुने गरेको बताए । जय सप्लायर्सका प्रोप्राइटर खुम्मबहादुर रावत त दैनिक ३० देखि ४० हजारसम्म कारोबार गरेको सुनाउँछन् । ‘मानसरोवर जाने पर्यटक आउन थालेपछि सिमकोटमा चहलपहल बढेको छ, हाम्रो व्यापार व्यवसाय पनि फस्टाएको छ ।’

प्रकाशित मितिः   १२ जेष्ठ २०७६, आईतवार १७:१३