लेखापरीक्षण सम्बन्धी तालिम

साझा बिसौनी संवाददाता
सुर्खेत, ११ जेठ ।
लेखापरीक्षकहरूको क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने तालिम वीरेन्द्रनगरमा सम्पन्न भएको छ । आन्तरिक राजश्व विभाग काठमाडौं र लेखा परीक्षणमान बोर्ड नेपालको संयुक्त आयोजनामा शनिवार तालिम सम्पन्न भएको हो ।
तालिममा आन्तरिक राजश्व कार्यालय सुर्खेत प्रमुख कर अधिकृत भूमिराज शर्माले कर र कर परीक्षण सम्बन्धी प्रशिक्षण दिएका थिए । यस्तै, लेखा परीक्षणमान बोर्ड नेपालका अध्यक्ष अनुपकुमार श्रेष्ठले लेखा परीक्षण सम्बन्धी, नेपाल र अन्तर्राष्ट्रिय लेखापरीक्षमान सम्बन्धमा प्रशिक्षण दिएका थिए । लेखापरीक्षणमान बोर्डका सीए गोपालकुमार श्रेष्ठले नेपालको लेखा परीक्षण सम्बन्धी प्रशिक्षण दिएका थिए ।
तालिममा विभिन्न जिल्लाका ४४ जना लेखा परीक्षकहरूको सहभागिता थियो । तालिमको समापन कार्यक्रममा अडिटर्स एशोसियन अफ नेपालका केन्द्रीय उपाध्यक्ष हिमालय खत्री र केन्द्रीय सदस्य बलराम रेग्मी, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उप–प्रध्यापक डा. दीपबहादुर रावल लगायतको उपस्थिति थियो । बोर्डका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा तालिम समापन भएको हो ।
यसैबीच, नेपाल अडिटर्स एशोसियशनको कर्णाली प्रदेशस्तरीय समिति गरिएको छ । शनिवार कर्णाली प्रदेशस्तरीय भेलाले कृष्णप्रसाद पौडेलको अध्यक्षतामा सात सदस्यीय समिति सर्वसम्मत् चयन गरेको हो ।
समितिको उपाध्यक्षमा पदमबहादुर घर्ती, सचिवमा तुलाराम तिवारी, कोषाध्यक्षमा गणेशबहादुर खड्का चयन भएका छन् । यस्तै, सदस्यहरूमा विष्णुऋषि रेग्मी, योगराज पोखरेल र ज्ञानेन्द्र बहादुर केसी चयन भएका छन् ।

प्रकाशित मितिः   १२ जेष्ठ २०७६, आईतवार १७:१२