ज्येष्ठ नागरिकलाई सम्मान
साझा बिसौनी संवाददाता
सुर्खेत, ११ जेठ ।
बराहताल गाउँपालिका वडा नं. ८ मा रहेका ज्येष्ठ नागरिकहरूलाई एक कार्यक्रमका बीच सम्मान गरिएको छ । बेलचौर स्वावलम्बन कृषि आमा समूह, सुर्खेतले बेलचौरमा रहेका ज्येष्ठ नागरिकहरूलाई सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्दै आमा समूहले आयोजना गरेको सम्मान कार्यक्रमले वडामा रहेका वृद्धवृद्धाहरूमा हौसला प्रदान गरेको बताएका छन् । आमा समूहले आफ्नो समूहको आयस्रोत वृद्धि गर्न विविधखाले उपायहरूको खोजी गरी आत्मनिर्भर बन्दै यस्ता सेवामूलक कार्यहरूमा लाग्न अध्यक्ष बस्नेतले सुझाव दिए ।
यस्तै वडा नं. ८ का अध्यक्ष मणिराज कार्कीले ज्येष्ठ नागरिक सम्मान कार्यक्रमले एकअर्काको सहअस्तित्वको बचावट गर्ने धारणा राखेका छन् । कार्यक्रममा आमा समूहले वडामा रहेका १५ जना ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै दैनिक उपभोग्य वस्तु प्रदान गरेको थियो ।
यस्तै सोही अवसरमा विना विषादी बीऊ तथा खाद्यान भण्डार गर्नका लागि ३० जना कृषक सदस्यहरूलाई सुपर व्याग (थैलो) वितरण गरिएको समूहकी अध्यक्ष निर्मला दर्लामीले बताइन् ।
३६ जना महिला कृषक सदस्य रहेको समूहले विशेष गरी मौसमी तथा बेमौसमी तरकारी खेती करिब ४० रोपनी क्षेत्रफलमा गर्दै आइरहेको छ । सदस्य कृषकहरूले विशेष गरी काउली, आलु, बन्दा, काँक्रा, करेला, लौका, पिँडालु जस्ता तरकारीजन्य वस्तुको उत्पादनमा जोड दिएका छन् ।
साझा बिसौनी संवाददाता ।