अब सुर्खेतबाट पनि शेयर कारोबार

साझा बिसौनी संवाददाता
सुर्खेत, १० जेठ ।
अबदेखि सुर्खेतबाट पनि शेयर बजार सम्बन्धी कारोबार हुने भएको छ । धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जको पहलमा वीरेन्द्रनगरमा शेयर दलालको शाखा स्थापना भए पश्चात यहाँबाट पनि पूँजी बजारमा लगानी गर्ने अवसर प्राप्त भएको छ ।


शेयर किनबेच गर्ने कम्पनी इम्पेरियल सेक्यूरिटीजले शुक्रवारबाट कर्णाली प्रदेशमै पहिलो शाखा कार्यालय शुभारम्भ गरेको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की र नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले संयुक्त रूपमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा शाखा कार्यालयको उद्घाटन गरेका हुन् । ब्रोकर नम्बर ४५ इम्पेरियल सेक्यूरिटीजले कार्यालय उद्घाटन गरेसँगै सातै प्रदेशमा बजार पुगेको अध्यक्ष कार्कीले बताए ।
शुक्रवार नै वीरेन्द्रनगरमा धितोपत्र बजार सम्बन्धी अन्तरक्रिया कार्यक्रम समेत भएको छ । अन्तरक्रिया कार्यक्रममा अध्यक्ष कार्कीले नेपालको धितोपत्र बजारको सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका छन् । कार्यक्रममा दोस्रो बजार तथा अनलाइन प्रणालीका बारेमा जानकारी दिइएको छ । इम्पेरियलले यस अगाडि नेपालगन्जमा शाखा कार्यालय सञ्चालनमा ल्याएको थियो । शुक्रवार उद्घाटन
भएको शाखा कार्यालयसहित तीन स्थानबाट ब्रोकरको सेवा प्रदान गर्ने इम्पेरियलका प्रबन्धक निर्देशक भक्तिराम घिमिरेले बताए ।
अन्तरक्रियामा बोल्दै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले संघीयताले कर्णालीलाई फाइदा पु¥याउनुपर्ने बताए । ‘संघीयता विकास भइसकेको र पहुँच भएकाहरूका लागि होइन’ उनले भने, ‘वास्तवमै कर्णालीका जनताका लागि संघीयता चाहिएको हो । सदियौंदेखि चेपाहामा परेको कर्णालीका लागि संघीयताले फाइदासमेत भएको छ ।’
कर्णालीमा एउटा पनि राष्ट्रिय गौरवको आयोजना नभएको भन्दै मन्त्री ज्वालाले आर्थिक विकासको लागि गौरवको आयोजना र शेयर बजार आवश्यक पर्ने बताए । उनले भेरी–बबई डाइभर्सन आयोजनाले कर्णालीलाई कुनै पनि लाभ नहुने भएकोले यसबारेमा संघीय सरकारको ध्यान जानुपर्ने बताए ।

प्रकाशित मितिः   ११ जेष्ठ २०७६, शनिबार १७:०५