सरकारको आलोचना गर्दै बजेट अधिवेशन सुरु
साझा बिसौनी संवाददाता
सुर्खेत, १० जेठ ।
कर्णाली प्रदेशसभाको वर्षे अर्थात् बजेट अधिवेशन आरम्भ भएको छ । शुक्रवार पहिलो बैठक बसेसँगै अधिवेशन शुभारम्भ भएको हो । यो अधिवेशनमा आगामी आर्थिक वर्ष २०७६÷०७७ को लागि सरकारले संसदमा नीति तथा कार्यक्रमसहित बजेट पेश गर्नेछ । तर अधिवेशनको सुरुवात प्रदेश सरकारको आलोचनाबाट भएको छ ।
शुक्रवारको बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले सरकारको चर्को आलोचना गरे । सरकारले प्रतिपक्षको सल्लाह, सुझावलाई आत्मसात् नगरेको भन्दै उनले आक्रोश व्यक्त गरे । सरकारले जनअपेक्षा अनुसार काम नगरेको उनको आरोप थियो । साथै बजेट कार्यान्वयनमा पनि बेथिति देखिएको भन्दै आलोचना गरे । ‘आयोजना निर्माणका लागि बजेट नै नपुग्ने गरी छुट्याइएको छ’ उनले भने, ‘एकलौटी रूपमा धमाधम रकमान्तर भएको छ । केही मान्छे राख्नुहोस्, सधैं हालीमुहाली चल्नु भएन ।’ उनले सरकारको प्रवृत्ति सच्याउन आग्रह गरे । कमिशन र व्यक्तिगत लाभका लागि नभइ समाज रूपान्तरण र समृद्धिका लागि सरकारले ध्यान दिनुको साटो एकलौटी गर्ने प्रवृत्तिको हावी भएको बताए ।
नेकपाका तर्फबाट सांसद यामलाल कँडेलले जनताका सामु विकास भएन भनेर उम्कन सक्ने अवस्था नभएको बताए । जनतामाझ सकारात्मक प्रभाव पर्ने गरी सरकारले काम गर्नुपर्ने उनको भनाइ थियो । उनले संसदप्रति सरकार र सांसद जिम्मेवार रहनुपर्ने बताए । ‘पहिलो सदनमा नेकपाकै ३३ जना सांसदको उपस्थितिको उत्साह थियो’ उनले भने, ‘सदनमा सत्तापक्ष र प्रतिपक्ष नभनी छलफल गर्दै आएका छौं, यसलाई सरकारमा रहनेहरूले सकारात्मक सोच्नु जरुरी र आवश्यक हुन्छ ।’ उनले विषय केन्द्रित छलफल चलाउने अभ्यास प्रदेश सरकारले गर्नुपर्ने बताए । संसदमा उठेका प्रश्नहरूको जवाफ प्रदेश सरकारले ढिला नगरी दिनुपर्ने बताए । सरकार र सांसदका लागि जिम्मेवारीभित्रका कुरा संसदमा छलफल हुनेगरी पेश गर्न आग्रह गरे ।
सार्वजनिक छलफल हुनेगरी सरकारले बनाउने बजेटबारे बाहिर हुने संवाद रोक्न आग्रह गरे । ‘बजेट पास गर्ने संसदबाट हो तर, एक करोड भन्दा कमका आयोजना नै बन्दैनन् भन्नेकुरा मन्त्रीमात्रै होइन परसम्मका व्यक्तिलेसमेत भनिसके’ उनले भने, ‘संविधानले धेरै अधिकार दिएको छ, औकात हेरिकन कार्यान्वयन गर्नुपर्ने हुन्छ हेक्का राखौं ।’ उनले भइरहेका संरचनामा अनावश्यक व्ययभार बढ्ने गरी संरचना निर्माण नगर्न उनले आग्रह गरे । उनले सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम र बजेट सांसदले मात्रै नभइ जनतालेसमेत पास गर्न सक्ने खालको ल्याउन सुझाव दिए । जनताको चासो र संसदभित्रको छलफललाई व्यापक बनाएर सरकार जिम्मेवार हुनुपर्ने बताए ।
जनताको आवश्यकतामा आधारित रहेर आगामी बजेट तथा नीति ल्याउन राप्रपाका सांसद शोसिला शाहीले सरकारलाई ध्यानाकर्षण गराइन् । उनले बजेटको सिद्धान्त र प्रक्रियाविना नै बजेट ल्याउँदा जनताका आवश्यकता सम्बोधन हुनुभन्दा पनि मन्त्रीले कार्यकर्ता पोस्ने काम हुने गरेको बताइन् । शक्तिका भरमा बजेट विनियोजन हुँदा विकास अभाव भएका कर्णालीका हिमाली जिल्लाहरूमा विकासको मुहार फेर्न नसकिएको उनले बताइन् ।
यो अधिवेशन अवधिभर कर्णालीको बजेट, नीति र कार्यक्रमबारे छलफल केन्द्रित हुनेछ । सांसदहरूले बैठक सुरु भए लगत्तै सरकारलाई सजग बनाएका छन् । विगतको जस्तो कार्यान्वयनमा चुनौती हुने बजेट ल्याउँदा जनतामा निराशा पैदा हुने भन्दै देखिनेगरी विकास गर्न सक्ने गरी बजेट सार्वजनिक गर्न सांसदहरूको माग छ । सरकारले यतिबेला आगामी नीति तथा कार्यक्रम निर्माणमा केन्द्रित भएको छ । जिल्ला–जिल्लामा पुगेर विषयगत मन्त्रालयले जनताका आवश्यकता सम्बोधन गर्न प्रयास गरिएको बताउँदै आएको छ । बजेट अधिवेशनको दोस्रो बैठक जेठ १३ गते दिउँसो तीन बजे बस्नेछ ।
साझा बिसौनी ।