दुर्घटनामा परी तीन जनाको मृत्यु

साझा बिसौनी संवाददाता
दैलेख, १० जेठ ।
दैलेखमा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सुर्खेतदेखि खाद्यान्न बोकेर दैलेखको ठाँटीकाँध गाउँपालिकातर्फ जाँदै गरेको ट्रक बिहीवार राती दुर्घटना भएको हो । ना ८ ख ३२८३ नम्बरको मिनी ट्रक दैलेखको गुराँस गाउँपालिका १ निगाल झाप्रामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेहरूमा दैलेखको ठाँटीकाँध गाउँपालिका ६ का धर्म थापा, सोही ठाउँका जोरबहादुर थापा र दिपेन्द्र थापा रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरिक्षक प्रेम क्षेत्रीले जानकारी दिए । बिहीवार दिउँसो ७ बजेर ५५ मिनेटमा सुर्खेतको बड्डिचौर चेक पोष्टमा ट्रक इन्ट्री भएको र त्यसैको अनुमानमा राती ९ बजेतिर दुर्घटना भएको हुनसक्ने निरीक्षक क्षेत्रीले बताए ।
गाडी सडकबाट करिब तीन सय मिटर तल खसेको थियो । उनले भने दुर्घटनाको कारण खुल्न भने सकेको छैन ।’ ट्रकमा पेट्रोलको भाँडो राखिएकोले दुर्घटनासँगै पेट्रोलका कारण आगलागी भएको हुनसक्ने उनले बताए । दुर्घटनामा मृत्यु भएका तीन जनाको सनाखत भइसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः   ११ जेष्ठ २०७६, शनिबार १७:०४