प्रिय लेखकलाई गुनासो पत्र

विज्ञानराज कार्की
प्रिय लेखक
नमस्कार !
म तपाईंकी प्रिय पाठक (प्रिय नहुन पनि सक्छु) धनसरा माझी ।
भुल्नुभयो ? म त्यही माझी कि श्रीमती–जसले तपाईंलाई कर्णाली तारेकि थिएँ । त्यही झुपडिकी छोरी, जसले तपाईंलाई ओत दिएकी थिएँ । त्यही कर्णालीकी किनार, जसले तपाईंलाई डुब्नबाट बचाएकी थिएँ । सम्झिनुभयो कि भुलिसक्नुभयो ?
होस्, धेरै जोड नदिनुहोस् विचरो दिमागलार्इ । म त्यस्तो खास पात्र त होईन सम्झिनलाई वा सम्झिनै पर्ने वा यादमा रहिरहनुपर्ने ।
यतिखेर तपाईं केही काम गरिरहनुभएको छ भने गरी सिधाउनुहोस् । लेख्न बस्नु भएको हो ? त्यसोभए लेखेर सिधाउनु होस् । अनि मज्जाले गफ गरौला ।
‘सकियो !’
हुर्रे…कुरा सुरु गर्नु भन्दा पहिले के टक्राउँ वियर कि रक्सी ? धत्तेरी म पनि के भएकी ? तपाई जस्तो लेखकलाई चिया कि कफि ? भन्रे ठाउँमा के सोधिरहेकी छु । हेर्नुन तपाईंको किताब पढेको दिन देखि यता यस्तै फतफताइरहन्छु । के के मनगढन्ते सोचेर टोलाइरहन्छु ।
अँ मैले तपाईको किताब पढें । साह्रै राम्रो लाग्यो । सुरुमा पत्याउन सकिन–तपाईंले नै लेख्नु भएको हो ? शरीर हेर्दा त लाग्दैनथ्यो । हुन त शरीरले के नै प्रभाव पार्छ र सोचमा ? अनि कसरी पा¥यो प्रभाव कर्णाली बासीको शरीरले देश विकासमा ? यो प्रश्न लेख्न छुटाउनु भएको रहेछ । अँ साच्ची किन छुटाउनुभएको हो ? प्रकाशनले काटेर फ्यालिदियो वा तपाईंले ? साँच्ची भन्नुस् न । खुसुक्क भन्नुन । यहाँ अहिले म एक्लै छु । बुढा समेत छैनन् । भनिदिए केही रात निन्द्रा पथ्र्यो कि मेरो आँखामा ।
किताबमा छुटेछन्, जैशे कामी, पानसरा बौजु, बसन्ती र आशुरामहरूका छाती चिरिएका घरहरू । कर्म जलेका भाग्यहरू ।
मेला गएकी पल्ला गाउँकी झुमाको लास त्यति लामो र गहिरो कर्णालीमा कसरी पौडिन पुग्यो ? यसको उत्तर लेख्न किन बिर्सिनुभएको ? खेत रोपी रेल चडेर गएको भागीराम धान झुलिसक्दा, काटिसक्दा, फेरि रोपिसक्दा पनि किन आएन ?
वर्ष÷वर्षमा सरकार फेरिन्छन् तर वर्ष÷वर्षमा तुइन किन फेरिदैनन् हाम्रो गाउँको ? अँ त्यो तुइनबाट खसेको एक टुक्रो डेउडा गीत बग्दैबग्दै काठमाडौ आएको छ । कर्णाली भुलेर त्यो त्यहाँ ठमेल बजारका डान्सबारमा घन्किन्छ रे, हो ?
भेटाउनु भयो कि, नागरिताको नाम ‘दुखी बहादुर’लाई सच्चाएर ‘सुखी बहादुर’ बनाउन आएका दुखी बहादुरहरूलाई ?
किन फर्कायो खाडी जाने विमानले झोलामा हरियो कर्णाली बोकेर उडान तयार हर्कबहादुरहरूलाई ?
यदि उकाली–ओराली नबोकिदिएका भए खच्चरहरूले, नदि नतारिदिएका भए तुइन, डुङ्गा र झुलुङ्गे पुलले, पानी ल्याउन घटौं नहिँडिदिएका भए भाँडाकुँडाहरूले, मेलापात नगरिदिएका भए डोकाहरूले, नखनिदिएका भए खेत बाउसा र हलोहरूले र स्कुल गएर तातो पानी नतताइदिएको भए स्कुले हातहरूले अन्तिम सास फेरिरहेकी आमाले आफू भन्दा पर भाँडा माझिरहेको आफ्नो श्रीमान् सम्झिन पाउने थिइनन् ।
आफू भन्दा पर (छाउघरमा छटपटाइ रहेकी छोरीहरू सम्झिन पाउने थिइनन् । र धेरै पर मरुभुमिको तातो बालुवामा भलभल उम्लिरहेका छोराहरू सम्झिन सक्ने थिईनन् । ती खच्चड, डोका, भाँडाकुडा, आँसि, हलो र बाँउसाहरूका त्याग र आहुती किन त्यति गहन रूपमा सम्बोधन नगर्नुभएको किताबमा ?
एकछिन है । तिर्खा लाग्यो । कर्णाली जुठो बनाएर पानी पिउँछु ।
उम लेखकज्यु, तपाईलाई के लुकाउनु ? यहाँ त आफ्नो देशको राष्ट्रिय गान, राष्ट्रिय फूल, राष्ट्रिय जनावर, राष्ट्रिय खेल, राष्ट्रिय रङ्ग र राष्ट्रिय झण्डा समेत सम्झिने फुर्सद छैन ।
सुदूर गाउँबाट आएको सुत्केरी आमाको चित्कार, भिरबाट खस्दा खेरीको पीडादायक सुस्केरा, तुइन चलाँउदा खेरिको कनाइ र भात बोकेर उडेको हवाईजहाज नआएपछिको बालकहरूको अनुहारलाई राष्ट्रिय गीत मानेका छन कतिले ।
भारी बोकेर उकाली–ओराली गर्नु, तुइन, डुङ्गा र झोलुङ्गे पुलबाट नदि तर्नु, बिरामि बोक्नु, भोकै बस्नु, मृत्युसँग मितेरी लगाउनु यहाँका लोकप्रिय खेल हुन् ।
थाहा नै छ तपाईंलाई पनि दुःखको रुखमा प्राय फुल्ने फूल भनेकै दुःखको हो । दुःख नै यँहाको राष्ट्रिय फूल हो । दुखको रङ्ग यदि भोकै सुतेको रात जस्तै हुन्छ भने रात हाम्रो राष्ट्रिय रङ्ग हो । तपाईंको र हाम्रो राष्ट्रिय झण्डामा यति मात्र फरक छ–सिमृक रङ्ग भएको ठाउँमा हामीले रात पोतेका छौं । चन्द्रमा र सूर्यलाई हसाउनु भएको ठाउँमा हामीले रुवाएका छौं ।
तपाईंहरू उडेको सपना देख्नु हुन्छ । हामी त उड्दा उड्दै पखेटा विहीन भएका देख्छौं । अमेरिका, पैसा, सुख र प्रेमिकाहरू आउँछन् तपाईंका सपनामा । हाम्रा त त्यही परको भिर, तलको तुइन, माथीको खेत, त्यही छेउको मेलो, भिर भएर जाने मिलको बाटो,परदेशी हुन गएका घरदेशीहरू आउँने साझ, बस यिनै–यिनै । सपनामा यी नआएका दिन, मर्यौ कि भनेर मध्यरातमा आफूलाई धेरै बेरसम्म छामछुम पारिरहन्छौं ।
हेर्नु न अस्ती मेरो बुढाले माछा नै नल्याइ घर फर्के । त्यस रात भोकै सुत्यौं । जालबाट फुत्केर आएको माछो ‘कालोकालो सेतोसेतो’ छ । कतै प्रधानमन्त्रीको डिनरमा त छैन ? हेर्नुहोस् त एकफेर ? छ भने सुटुक्कै बाग्मतीबाट पठाइदिनु होला है । हामी कर्णालीको माझमा डुङ्गामाथी टोलाएर माछा आँउने बाटो हेरि बसेका छौं ? डुबेर कुन बेला हामी किनारमा तारिन्छौं थाहाछैन ।
यदि प्रधानमन्त्रीले माछा फर्काउन आनाकानी गर्नुभयो, खान सुरु गरिहाल्नु भयो भने, भनिदिनु, कर्णाली प्रदेशमा कर्णाली नदी अनशन बसेको छ । यसलाई पनि हेलिकप्टरमा हालेर अनशन तोडाउने त होला नि है ?
पहिले चुनाव जितेपछि नेताहरूले गाउँ भुल्थे ? खुब गाली गथ्र्यौं । नेता बाहेक अरु सबै गतिला हुन कि लाग्थ्यो ? तर हामी भ्रममा पो रहेछौं । अरु पनि नेता जस्तै फटाहा,जाली र स्वर्थी रहेछन् । जस्तै तपाईं ।
हो तपाईं । तपाईं हाम्रो गाउँमा आउनुभयो । दुःख नियाल्नुभयो । अभाव भोग्नुभयो । पीडाहरू बोकेर फर्किनुभयो काठमाडौं । केही दिन गुप्तबास बसेर किताब लेख्नुभयो । छाप्नुभयो । भव्य होटलमा भव्य विमोचन गर्नुभयो । र कुर्न थाल्नु भयो रोयल्टी । ग्रहण गर्न थाल्नुभयो रोयल्टी । रोयल्टी जसबाट तपाईंको जिविका चल्छ हो त्यो रोयल्टी किताब बेचेर होइन कर्णाली बेचेर आएको हो । भ्रममा नबस्नु होला लेखक ज्यू । कर्णालीका चरम दुःख, गरिबी, विकट र अन्धोभक्त बिकेका हुन । नकि ती तपाईंका बोक्रा शब्दहरू ? फुस्रा गफहरू ?
नरिसाउनु होला मेरो प्रिय लेखक तर हविगत यही हो कि तपाईंले पनि बेच्नुभयो कर्णालीलाई । थपिनुभयो कर्णाली बेचेर ईमान, चर्चा र जिविका चलाउने लेखकहरूको अनुसूचीमा । मदेखि खुब रिस उठेको होला है तपाईंलाई । जाड खाएर लेखेकी हो कि ? सोच्नु भएको होला । हो जरुर पिएकि छु आँशु । खाएकी छु चोट मुछेर पीडा । हल्काफुल्का आँसु लागेको होला । थोरैथोरै पीडा लागेको होला । र पो लेखिए होलान खाली आँसु र पीडाहरू मात्र । यसमा मेरो के दोष ?
बिन्ती ! यो चिठ्ठी नच्यातनु होला है ? च्याते, च्यातिने छ तपाईंकै हातबाट कर्णालीको कर्म । जो म हेर्न चाहन्न, आफ्नो भाग्य आफ्नै प्रिय लेखकबाट च्यातिएको । बरु सक्नु हुन्छ भने फेबिकल किनेर यो चिठ्ठी सिंहदरबारका चारै गेटमा टाँसिदिनुहोला । र पठाइदिनुहोला फेबिकल हामिलाई पनि । फेबिकल किन्ने पैसा कर्णाली बेचेर आएको रोयल्टीबाट घटाउनु होला । कतै त्यो फेबिकलले चिरिएको हाम्रो भाग्य टालिन्थ्यो कि ? भत्केको झोलुङ्गे पुल टालिन्थ्यो कि ? फुटेका डाँडा जोडिन्थें कि ? सियो पनि पठाइदिनु होला है, घरका छाती सिउन सकिन्थें कि ? कर्णाली नदी हाम्रो आँसुबाट बगिरहेको छ, आँखा सिउँन सकिएको भए ?
तपाईंकी पाठक
धन्सरा माझी

प्रकाशित मितिः   ११ जेष्ठ २०७६, शनिबार १७:०१