किताब अभियानलाई सरकारको सहयोग

साझा बिसौनी संवाददाता
सुर्खेत, १० जेठ ।
कर्णाली प्रदेशका जिल्ला कारागारमा पुस्तकालय निर्माणका लागि स्थानीय र प्रदेश सरकारले सहयोग गरेका छन् । कारागारलाई किताब अभियानमार्फत् प्रदेश र स्थानीय सरकारले सहयोग पुस्तक तथा फर्निचर हस्तान्तरण गरेका छन् ।
सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले चार लाख ९९ हजार तीन सय ३८ रूपैयाँ बराबरको १७ सय ५० थान पुस्तक हस्तान्तरण गरेको छ । त्यस्तै वीरेन्द्रनगर नगरपालिकाले एक लाख रूपैयाँ बराबरको टेबल, कुर्र्ची र दराज हस्तान्तरण गरेको हो । पञ्चपुरी नगरपालिकाले ५० हजार दुई सय २५ रूपैयाँ बराबरको तीन सय ७८ थान पुस्तक, बराहताल गाउँपालीकाले ३९ हजार आठ सय ८० रूपैयाँ बराबरको एक सय ३० थान पुस्तक, लेकवेशी नगरपालिकाले ३० हजार एक सय ३० रूपैयाँ बराबरको एक सय ९९ थान पुस्तक सहयोग गरेका हुन् ।
त्यसैगरी अभियानको लागि भेरीगंगा नगरपालीकाले ३० हजार रूपैयाँ बराबरको तीन थान दराज, गुर्भाकोट नगरपालिकाले ३९ हजार आठ सय ४४ बराबरको एक सय १६ थान पुस्तक, चौकुने गाउँपालिकाले ४९ हजार नौ सय ५४ रूपैयाँ बराबरको एक सय ५१ थान पुस्तक हस्तान्तरण गरेको हो । प्रदेश सरकार तथा स्थानीय सरकारले हालसम्म कारागारलाई किताब अभियानका लागि आठ लाख ३९ हजार तीन सय ३५ रूपैया बराबरको २७ सय २४ पुस्तक हस्तान्तरण गरेका छन् ।
सबै क्षेत्रबाट गरी हालसम्म कारागारलाई किताब अभियानका लागी २७ लाख बराबरको पुस्तक सहयोग प्राप्त भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा अभियानका संयोजक डीआईजी महेशविक्रम शाहले जानकारी दिए । उनले यो अभियानलाई कर्णाली प्रदेशका सम्पूर्ण स्थानीय तहहरू तथा सामाजिक विकास मन्त्रालयको सहयोगमा सफल बनाउन सकेको समेत बताए ।
कार्यक्रमका बोल्दै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले कर्णालीमा नविन कामको थालनी भएकोले यसले कैदीबन्दीको मानसिकतालाई परिवर्तन गर्ने बताए । त्यस्तै सामाजिक विकास मन्त्रालयका सचिव मानबहादुर विकेलेसमेत देशकै नमुना काम कर्णालीबाट भएको बताए ।

प्रकाशित मितिः   ११ जेष्ठ २०७६, शनिबार १७:०२