अस्तव्यस्त बजार

ट्राफिक व्यवस्थापनमा चुनौती, पार्कि· क्षेत्र नै छैन

सीता वली
सुर्खेत, ९ जेठ ।
न सडक रेखाहरू छन्, न ट्राफिक बत्तीका संकेतहरू । ट्राफिक चिन्हहरू कहींकतै देख्न पाइदैंन । सवारी–साधनहरू अनियन्त्रित रूपमा दौडिरहेका छन् । पैदल यात्रुहरू पनि सडकमा मनपरी रूपमा हिँडिरहेका देखिन्छन् । जहाँ मन लाग्यो त्यहींबाट बाटो काटिरहेका हुन्छन् ।
वीरेन्द्रनगरको ट्राफिक व्यवस्थापनको अवस्था कस्तो छ भन्ने बुझ्न उल्लेखित दृष्टान्त पर्याप्त छ । एकछिन सडकमा निस्कदा देखिने दृश्यले वीरेन्द्रनगरको ट्राफिक व्यवस्थापनको अवस्था प्रष्ट्याउँछ । सडक कसरी क्रस गर्ने पैदल यात्रीलाई जानकारी छैन । जहाँ पायो त्यहीबाट पैदल यात्री सवार गरिरहेको दृश्य वीेरेन्द्रनगर बजार क्षेत्रमा जहाँकहीं देख्न सकिन्छ । त्यति मात्रै होइन सवारी चालकलाई समेत कुन गतिमा सवारी हुँइक्याउने भन्ने कुराको ज्ञान छैन । बीचबजारमा तीव्र गतिमा कुदिरहेका हुन्छन् । ट्राफिक लाइट, होर्डिङ्ग बोर्ड, जेब्राक्रस जस्ता चिन्हहरू न त वीरेन्द्रनगर बजार क्षेत्रमा पाइन्छ । नत त्यसको प्रयोगमा नागरिकको चासो नै देखिन्छ । ‘नो पार्किङ्ग’ लेखेको ठाउँमा समेत सवारी साधन राखेको धेरै ठाउँमा देख्न सकिन्छ । पैदल यात्रीलाई हिँड्नै सकस छ ।
बाटोको छेउछाउमा व्यापारीहरूले राखेको पसलको सामान र रत्न राजमार्गकै छेउछाउमा भएका ग्यारेज पसलहरूको कारण वीरेन्द्रनगरको सडक झनै कुरूप र असुरक्षित बनेको छ । यसरी कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा बढ्दो जनसंख्या र सवारी साधनको चापलाई कुनै पनि सरोकारवाला निकायले ध्यान दिएका छैनन् । वीरेन्द्रनगर बजार दिन प्रतिदिन थप अस्त–व्यस्त बन्दै गइरहेको छ ।
ट्राफिक व्यवस्थापन नहुँदा वीरेन्द्रनगर बजार अव्यवस्थित र कुरूप मात्रै बनेको छैन दुर्घटनाको जोखिम पनि बढाएको छ । एउटा सुरक्षित सडक हुनको लागि सडकका आधारभूत आवश्यकता पूरा हुनुपर्ने भए पनि वीरेन्द्रनगरमा त्यो अवस्था नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख हरि बिसीले बताए । सडक निर्माणमा हुने ढिलाइले पनि ट्राफिक व्यवस्थापनमा समस्या पर्ने गरेको उनले बताए । ‘चारलेन सडक निर्माणको क्रममा छ’ उनले भने, ‘राजमार्गको निर्माण सम्पन्न भएपछि ट्राफिक व्यवस्थापन गर्न सहज हुन्छ ।’
साँघुरा सडकका कारण पनि वीरेन्द्रनगरमा ट्राफिक व्यवस्थापनमा समस्या भएको छ । ‘वीरेन्द्रनगरको सडक साँघुरा छन्’ उनले थपे ‘त्यसमा पनि जेब्राक्रस, टा«फिक लाइट, विभिन्न होर्डिङ्ग बोर्ड जस्ता आवश्यकता अनुसार कुनै पनि ट्राफिक चिन्हहरू वीरेन्द्रनगरमा छैनन् । जसले गर्दा सडक व्यवस्थापनमा समस्या भएको छ ।’ ट्राफिक चिन्हहरू मात्रै भएर हुँदैन त्यसका लागि सडक आवश्यकता अनुसार फराकिलो पार्किङ्गको व्यवस्थासमेत हुनु जरुरी भएको प्रमुख बिसीले बताए । बिसीले मानवीय क्रियाकलापहरू सुधार्दै लगे सडक सुरक्षा बढ्ने आशासमेत व्यक्त गरे ।
वीरेन्द्रनगरको ट्राफिक व्यवस्थापन नहुँदा यातायात व्यवसायीहरूलाई समेत समस्या भएको काँक्रेविहार बस व्यवसायी समितिका इञ्चार्ज धर्मराज गिरीले बताए । उनले साँघुरो बसपार्कमा सवारी साधनको पार्किङ्गको व्यवस्थापन नहुँदा बसपार्कभित्रै दुर्घटना निम्तिने खतरा भएको बताउँदै यसमा प्रदेश तथा स्थानीय सरकारको ध्यान जानुपर्ने बताए । ‘सडकमा कुनै पनि ट्राफिक चिन्हहरू छैनन्’ उनले भने, ‘साँघुरो सडक त्यसमा पनि ट्राफिक चिन्हहरू नहुँदा त दुर्घटना कसरी न्यूनीकरण होला र ?’
सवारी साधनको उतिसारो चाप नहुँदा केही समय पहिले सडक वारपार गर्न सहज थियो । सार्वजनिक यातायातका साधन चढेर यात्रु समयमै गन्तव्य पुग्थे ।
तर, पछिल्लो समय वीरेन्द्रनगरमा बढ्दो सवारी चापको तुलनामा सडक विस्तार नहुँदा आवागमन प्रभावित भएको छ । अर्कोतर्फ व्यवस्थित पार्किङ्ग क्षेत्रसमेत छैन । जीर्ण अवस्थामा रहेका सडक त्यसैमाथि अस्तव्यस्त अवस्थाले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई कुरूप बनाएको भन्दै स्थानीय नागरिकहरूले पनि आक्रोश व्यक्त गर्ने गरेका छन् । वीरेन्द्रनगर–६ का व्यवसायी हरिहर खनालले प्रदेश राजधानी भइसक्दा पनि वीरेन्द्रनगर अव्यवस्थित रहेको भन्दै स्थानीय र प्रदेश सरकार मिलेर यसलाई व्यवस्थित गर्नुपर्ने बताए ।

प्रकाशित मितिः   १० जेष्ठ २०७६, शुक्रबार १५:०३