‘पञ्चायती सोचबाट संघीयता चल्दैन’
साझा बिसौनी संवाददाता
सुर्खेत, ९ जेठ ।
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले पञ्चायती सोचबाट संघीयता नचल्ने बताएका छन् । बिहीवार वीरेन्द्रनगरमा महिला, बालबालीका तथा जेठ नागरिक मन्त्रालय काठमाडौं र समाज कल्याण परिषद्ले गैरसरकारी संस्थाहरूको प्रभावकारी व्यवस्थापनको लागि आयोजित एक दिने गोष्ठी कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘नेपालमा कसैको मनपरी चल्दैन’ उनले भने, ‘संघीयता नागरिकको जीवन पद्दति हो । पञ्चायतको शोचबाट संघीयता चल्दैन । तल्लो तहका सरकारलाई बलियो नबनाइ संघीयता फेल हुन्छ ।’ माथिल्लो तहमा बस्नेलाई जति देशको चिन्ता छ त्यति तल्लो तहमा बसेकोलाई पनि भएको भन्दै मन्त्री रावलले विदेशी सहयोग चाहिँदैन भन्न नमिल्ने बताए । गैरसरकारी संस्थाहरूको पनि आफ्नो ठाउँमा भूमिका भएको भन्दै रावलले कर्णाली सरकारले गैससलाई सँगै अगाडि बढाउने बताए । उनले हामीलाई राष्ट्रिय सहयोग मात्रै होइन अन्तर्राष्ट्रिय सहयोग चाहिन्छ तर त्यसलाई प्रभावकारी बनाउनेतर्फ सबैको ध्यान जानु जरुरी छ ।
कार्यक्रममा विभिन्न तीन वटा विषयमा सरोकारवालाहरूले प्रस्तुति समेत राखेका थिए । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश महिला तथा बालबालिका महाशाखाका प्रमुख अनिता ज्ञवालीले समेत कार्यक्रममा प्रस्तुतीकरण राखेकी थिइन् । सहभागीहरूको तर्फबाट बोल्दै जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापाले कुनै पनि गैरसरकारी संघ–संस्थाहरूले सरकारको नीति र विधिभित्र रहेर काम गर्नुपर्ने बताए । सरकार नपुगेको क्षेत्रमा गैसस पुगेको भन्दै उनले गैसससले गर्ने कामको जानकारी स्थानीय सरकारलाई समेत हुनुपर्ने बताए । कार्यक्रम समग्रमा गैससको अवस्था, आगामी दिनमा गैससको नीति कस्तो बनाउने र कसरी व्यवस्थापन गर्ने भन्ने विषयको छलफलका लागि आयोजना गरिएको
आयोजकले बताएको छ । कार्यक्रममा विभिन्न गैसस महासंघ, नगर तथा गाउँपालिका महासंघ, जिल्ला समन्वय समितिका पदाधिकारीहरू लगायतको सहभागिता रहेको थियो ।
साझा बिसौनी ।