धुलोले श्वास फेर्नै सकस
सीता वली
सुर्खेत, ७ जेठ ।
मीनादेवी विश्वकर्माले वीरेन्द्रनगरमा व्यापार गर्न थालेको १० वर्ष बित्यो । यो १० वर्षमा वीरेन्द्रनगरमा धेरै बदलाव आइसक्यो । तर धुलोको कहर भने कहिल्यै बदलिएन । त्यसैले मीनादेवी रुघाखोकी र घाँटीमा निम्तिरहने समस्या त अचेल पेवा जस्तै लाग्न थालिसक्यो । ‘१० वर्षदेखि मैले वीरेन्द्रनगरको धुलो झेल्दै आएकी छु’ उनले भनिन्, ‘बाटो छेउमै व्यापार छ, धुलोले हैरानी बेहोर्नु परिरहेको छ ।’
सुस्ता गाउँपालिका नवलपरासीकी उनले वीरेन्द्रनगर–९ मंगलगढीचौकमा कस्मेटिक पसल गर्दै आएकी छिन् । वीरेन्द्रनगरमा उनलाई सबैभन्दा बढी सास्ती धुलोकै कारण हुने गरेको छ । जताततै धुलै–धुलो छ । पसलको सामान धुलोकै कारण बिग्रिएर काम नलाग्ने हुन्छन् । त्यति मात्र होइन आँखा पोल्ने, चिलाउने, रुघाखोकी, घाटी दुख्नेसहित छाला सम्बन्धी अनेक समस्याले उनलाई सताइरहन्छ । सम्बन्धित निकायले बेवास्ता गर्दा नागरिकले धुलोको सास्ती झेल्नुपरेको उनले बताइन् । व्यापारबाट कमाएको पैसाको आधा हिस्सा उपचारमै ठीक्क हुने समेत उनी बताउँछिन् ।
वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी पनि हो । राजधानी भन्नेबित्तिकै सुविधा सम्पन्न सहर सबैको मानसपटलमा आउँछ । तर वीरेन्द्रनगरलाई भने राजधानी मान्नै अप्ठ्यारो मान्छिन् मीनादेवी । ‘यस्तो पनि राजधानी हुन्छ ?’ उनले भनिन्, ‘प्रदेशको राजधानी भएपछि त व्यवस्थित हुनुप¥यो, सुविधायुक्त हुनुप¥यो नि ।’ सरोकारवालाहरूको बेवास्ताकै कारण वीरेन्द्रनगरको बेहाल भएको उनको बुझाइ छ । ‘चिल्लो गाडीमा सिसा लगाएर हिँड्नेलाई सडकको धुलोको समस्या के थाहा ?’ आक्रोशित हुँदै प्रश्न गरिन् ।
यस्तै वीरेन्द्रनगर–९ लाटीकोइलीका विष्णु खनाल पनि धुलोबाट आजित छन् । सडकमा निस्कँदा मात्र होइन सडकको धुलो घर र पसलभित्रै पुगेर सताउने गरेको उनले बताए । मंगलगढीचौकको छेउमा उनको सानो पसल छ । त्यहाँ पनि धुलोले बसिनसक्नु हुने भन्दै उनले वर्षौदेखि श्वास प्रश्वास सम्बन्धी समस्यासमेत भोग्नुपर्ने बाध्यता रहेको बताए । ‘समस्या भएर के गर्ने ? तल्लो तहका नागरिकको समस्या कसैले देख्दैन’ उनी निराश बने । थपे, ‘कर्णालीको राजधानी होइन, यो त धुलोको राजधानी भन्न सुहाउँछ ।’ जताततै धुलो नै धुलो भएको भन्दै उनले प्रदेश राजधानीमा धुलोकै कारण श्वास फेर्नसमेत सकस हुने गरेको बताए ।
मीनादेवी र विष्णु त प्रतिनिधि पात्र मात्रै हुन् । वीरेन्द्रनगरमा सीसाभित्रको यात्रा गर्नेहरूलाई धुलोको समस्याले नसताए पनि सडकमा यात्रा गर्नेदेखि सडक छेउछाउमा घर भएका र पसल गरिरहेका नागरिकहरू भने धुलोकै कारण ठूलो समस्यामा परेका छन् । धुलोको कारण रुघाखोकी, दम, आँखा चिलाउने तथा पोल्ने समस्या अधिकांशलाई छ । बिहान विद्यालय गएका बालबालिकाहरू समेत बेलुकी नचिनिने भएर आउने गरेको अभिभावकहरू बताउँछन् । सडकमा पैदल यात्रु हुन् वा सवारी चालक माक्स नलगाई हिँड्न सक्ने अवस्था छैन । दैनिक जसो कार्यालय र घर गर्ने कर्मचारीहरूलाई समेत ठूलो सास्ती वीरेन्द्रनगरको धुलाले दिएको छ । निर्माणाधीन फोरलेन सडक समयमै निर्माण नहुँदा पनि उक्त सडक क्षेत्रमा धुलोले सास्ती दिएको छ ।
वीरेन्द्रनगरमा सडकको खाल्डाखुल्डी मात्रै समस्या होइन धुलोले समेत नागरिक आजीत छन् । माथिल्लो निकायका कर्मचारी तथा सांसददेखि मन्त्रीसम्म सरकारी गाडीमा धुलो उडाउँदै सवार गर्छन् तर त्यो धुलोको कारण जनता कति मारमा परेका छन् भन्ने तल्लो आम नागरिकलाई मात्रै
थाहा छ । सडकमा सरकारी सवारी साधनमा धुलो उडाउँदै हिँड्नेहरूको सडकको धुलोमा भने ध्यान जान नसकेको नागरिकको गुनासो छ । धुलोका कारण वातावरण मात्र प्रदूषित भइरहेको छैन मानव जीवनमा प्रत्यक्ष असर पु¥याउँछ । कर्णाली प्रदेश अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा.के.एन. पौडेलले धुलोको कारण दमका रोगी तथा बालबालिका र वृद्धहरूलाई अत्याधिक समस्या हुने बताए । ‘धुलोको कारण श्वास प्रश्वासमा समस्या आउँछ । दमका रोगीहरू त धुलोमा नहिँड्दा नै राम्रो हुन्छ’ उनले भने धेरै जसो कर्णाली प्रदेश अस्पतालमा दम तथा रुघाखोकीका बिरामी आउने गरेका छन् ।’
धुलोबाट बच्नको लागि बाटोमा हिँड्दा माक्स लगाउने, बाटोको छेउमा बोट बिरुवा रोप्ने र बाटोमा पानी हाल्नुपर्ने पौडेलले बताए । ‘छालालाई समेत धुलोले बिगार्ने गर्दछ’ डा. पौडेलले भने ‘सवारी साधनको धुँवा समेत रोक्नको लागि बाटोको छेउमा बोट बिरुवा लगाउनु जरुरी छ ।’
यता वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी भने विकास निर्माण पनि खोज्ने र धुलो पनि भयो भन्न नमिल्ने बताउँछन् । उनले सडक निर्माणाधीन भएको कारण नागरिकले धुलोको सास्ती बेहोर्नुपरेको बताए । सडक निर्माणको काम सकिएपछि वीरेन्द्रनगरमा धुलोको समस्या नआउने उनको भनाइ छ ।
साझा बिसौनी संवाददाता ।