हत्या आशंकामा एकै परिवारका तीन जना पक्राउ

साझा बिसौनी संवाददाता
सुर्खेत, ७ जेठ ।
गत फागुन १८ गते राती १० बजे वीरेन्द्रनगर–६, बुद्धपथमा मृत अवस्थामा भेटिएका चन्द्रप्रसाद आचार्यको हत्यामा संलग्न रहेको आशंकामा एक परिवारका तीन सदस्य पक्राउ परेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतले मंगलवार उनीहरूलाई पक्राउ गरेको हो ।
वीरेन्द्रनगर–६, बुद्धपथमा होटेल सञ्चालन गर्दै आएका नन्दकला विष्ट, उनका श्रीमान् कृष्ण बिष्ट र छोरी विन्दु विष्टलाई प्रहरीले पक्राउ गरेको हो । आचार्यले वीरेन्द्रनगर–६ मा चिया नास्ता पसल गर्दै आएका थिए । वीरेन्द्रनगर–१ बाङ्गेसिमलबाट नागरिकता लिन घर गएका उनी एक्कासी राती १० बजेर बुद्धपथमा मृत अवस्थामा भेटिएका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा विष्ट परिवारले हत्या आंशकामा पक्राउ गरेको हो । प्रहरीले बुद्धपथ र होटल अतिथिको भुइँतलामा जोडिएको सीसीटीभीको फुटेजको आधारमा अनुसन्धान सुरु गरेको थियो । ‘आचार्य सोही दिन नन्दकला विष्टले सञ्चालन गरेको पसल वरपर धेरै पटक आवात–जावत गरेको, टहरोको आँखीझ्याल जस्तो भागबाट पटक–पटक चियाएर भित्रबाहिर गरेको देखिएको छ ।
९ बजेर ३७ मिनेटमा अन्तिम पटक पसलमा प्रवेश गरेको सीसीटीभीमा स्पष्ट देखिन्छ’ प्रदेश प्रमुख डीआइजी महेशविक्रम शाहले भने, ‘पसल भित्र गएको ९ मिनेटपछि पसलको पश्चिमतर्फ करिब १२ मिटरको दूरीमा जैशी पल्टिएको अवस्थामा देखिएका छन् ।’ उनले प्रारम्भिक अनुसन्धानबाट विष्ट परिवारकै आशंका देखिएकाले विस्तृत अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए ।

प्रकाशित मितिः   ८ जेष्ठ २०७६, बुधबार १६:५९