‘यसपटक हामी सजग छौं’

सुर्खेत, ७ जेठ । (साबिस)
आगमी आर्थिक वर्ष २०७६÷०७७ को बजेट बनाउने कुरामा कर्णाली सरकार सजग रहेका आर्थिक मामीला तथा योजना मन्त्री प्रकाश ज्वालले बताएका छन् । मंगलवार समता फाउण्डेशनको आयोजना तथा साझेदारी सशक्तीकरण केन्द्रको समन्वयमा वीरेन्द्रनगरमा आयोजित दलितमैत्री नीति तथा कार्यक्रम र बजेट सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
‘कर्णाली सरकार आगामी वर्षको नीति तथा कार्यक्रमको तयारीमा जुटेको छ’ उनले भने, ‘यो वर्ष हामीहरू अली बढी सचेत छौं । धेरै कार्यक्रम ल्याउनु भन्दा पनि कार्यान्वयन हुने मात्रै कार्यक्रम यो वर्ष कर्णाली सरकारले ल्याउने तयारी गरेको छ ।’ बरु दलित समुदायको नेतृत्व गर्नेहरूले पनि कार्यान्वयनमुखि योजना ल्याउन पहल गर्नुपर्ने बताए । उनले थपे, ‘घाँटी हेरि हाड निल्नुपर्छ । कर्णाली सरकार यो वर्ष आफ्नो क्षमतालाई मात्रै हेरेर कार्यक्रम ल्याउने तयारीमा छ ।’
कर्णालीमा दलित माथि ठूलो विभेद भएको भन्दै मन्त्री ज्वालाले दलितका अधिकार संविधानमा उल्लेख भए अनुसार कर्णाली सरकार कार्यान्वयन गर्न तयार रहेको बताए । मन्त्री ज्वालाले सबैभन्दा पहिला विभेद अन्त्य गर्ने किसीमका कार्यक्रम ल्याइने बताए । कार्याक्रममा बोल्दै समता फाउण्डेशनका अध्यक्ष प्रदिप परियारले दलितसमुदाय सदियौंदेखि थिचोमिचोमा रहँदै आएकोले अब जनसंख्याको आधारमा सरकारको नीति तथा कार्यक्रममा दलितको पनि न्योचित उपस्थिति हुनुपर्ने बताए ।
साझेदारी सशक्तीकरण केन्द्र नेपालका अध्यक्ष बसन्तकुमार विश्वकर्माले दलित समुदायको संख्या कर्णालीमा धेरै भएको र दमन पनि धेरै भएकोले यसमा कर्णाली सरकारको ध्यान जानुपर्ने बताए । आगामी नीति तथा कार्यक्रमा दलित समुदायको अर्थपूर्ण सहभागिता हुनुपर्ने भन्दै मन्त्री ज्वालालाई ज्ञापनपत्रसमेत बुझाइएको थियो ।

प्रकाशित मितिः   ८ जेष्ठ २०७६, बुधबार १६:५८