विकासमा यस्तो बेथिति : ‘एम्बुस’ बन्यो अस्पतालको भवन

1साझा बिसौनी संवाददाता
सुर्खेत, १४ असार
बाहिरबाट झट्ट हेर्दा भवन भव्य र लोभलाग्दो देखिन्छ । दुर्गम गाउँमा बनेको यो भवनले धेरैलाई विकासको अनुभूति पनि दिलाउँछ । नयाँ भवन बनेपछि सानो कटेरो र खुला चौरमा बिरामीको उपचार गर्नुपर्ने बाध्यता पनि ट¥यो । वर्षौदेखिको प्रयासपछि गाउँमै सुविधायुक्त अस्पताल भवन पाएपछि उपचार अभावमा कसैले ज्यान गुमाउनु नपर्ने भन्दै स्थानीयले खुशीयाली नै मनाए । तर ठेकेदारको चरम लापरबाहीका कारण अहिले त्यही भवन धराप (एम्बुस) बनेको छ ।
सुर्खेत सदरमुकाम वीरेन्द्रनगरबाट पश्चिममा रहेको प्राथमिक स्वास्थ्य केन्द्र सालकोटको नवनिर्मित भवन कतिबेला भत्किने हो कुनै टुङ्गो छैन । निर्माण भएको दुई वर्ष बितेको छैन, तर भवनको भित्री भागमा भत्किनेक्रम सुरु भएको छ । बिरामीको ज्यान जोगाउन निर्माण गरिएको अस्पतालको भवन नै भत्किन थालेपछि त्यहाँ कार्यरत स्वास्थ्यकर्मी र उपचारका लागि भर्ना भएका बिरामीहरू त्रसित छन् । बाहिर राम्रो देखिए पनि भवनको भित्री भागमा छतबाट भत्किन थालेको छ । कोठामा रहेका बिरामी र स्वास्थ्यकर्मीको शरीरमा नै माथिबाट भत्किदैं सिमेन्ट र बालुवा खस्न थालेपछि जोखिम बढ्दै गएको हो । भत्किएको भाग एक्कासी शरीरमा खस्न थालेपछि हिजोआज अस्पतालभित्र बस्न
समेत स्वास्थ्यकर्मीहरू डराउन थालेका छन् ।
प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत सिनियर अहेब डिल्लीराम सापकोटाले भने, ‘भवन भत्किन थाल्यो, कतिबेला के हुने हो थाहा छैन ? अहिले त कर्मचारीहरू पनि भित्र बस्न डराउँछन्, बारम्बार छतको भाग भत्किएर शरीरमै खस्छ ।’ भवनको अधिकांश भागमा माथिबाट सिमेन्ट र बालुवा खस्न थालेको भन्दै उनले सुत्केरी र बच्चाहरू बढी जोखिममा रहेको बताए । उक्त भवनको धेरै स्थानमा छतको भाग भत्किएर अहिले सरिया समेत देखिन थालेका छन् । स्वास्थ्य संस्था व्यवस्थापन समिति सालकोटका अध्यक्ष समेत रहेका गाविस सचिव तिलकराम अधिकारीले उक्त भवन धराप
(एम्बुस) बनेको बताए । उनले भने, ‘भाग्य नै भन्नुपर्छ, अहिलेसम्म कसैलाई केही भएको छैन । तर अहिले सानो–सानो भाग खसिरहेको छ, कुनै पनि बेला ठूलो दुर्घटना हुनसक्छ ।’ भवन भत्किन थालेपछि अस्पतालका डाक्टरले समेत त्रासका कारण काम गर्न आनाकानी गर्न थालेको उनले बताए । उनका अनुसार उपचारका लागि भर्ना भएका बिरामीहरू समेत कतिबेला भत्किन्छ भन्दै त्रसित अवस्थामा उपचार गराउन बाध्य छन् ।
एक करोड ८६ लाख ९९ हजार रूपैयाँको लागतमा निर्माण भएको यो भवन दुई वर्ष पहिले हस्तान्तरण भएको हो । बज्रगुरु कन्स्ट्रक्सन कम्पनी कुपन्डोल ललितपुरले यो भवन निर्माण गरेको हो । २०६५ वैशाखमा ठेक्का सम्झौता भएको उक्त भवन ठेकेदारले निर्माण सम्पन्न गरी दुई वर्ष पहिले मात्र हस्तान्तरण गरेका थिए । भवनबाट सेवा प्रवाह भएको केही महिनादेखि नै भत्किन सुरु भएको स्थानीय बासिन्दाले बताएका छन् । ठेकेदारले लापरबाही गरेर कम गुणस्तरमा भवन बनाएको भन्दै स्थानीयले कारबाहीको माग गरेका छन् । करोडौं खर्च गरेर बनेको भवन आफूहरूका लागि एम्बुस बनेको भन्दै स्थानीय बासिन्दाले तत्काल यसको पुनर्निर्माण हुनुपर्ने बताए । यही अवस्थामा आफूहरूले भवनभित्र बसेर काम गर्न नसक्ने चेतावनी स्वास्थ्यकर्मीले दिइसकेका छन् । यस्तै बिरामीहरू पनि सुरक्षित कोठामा मात्र उपचार गरिदिन आग्रह गर्न थालेका छन् । ‘ठेकेदारले इमान्दार भएर काम गरेनन्, हतारमा भवन हस्तान्तरण गरियो’ गाविस सचिव अधिकारीले भने, ‘भवन भत्किरहेको छ, अस्पतालमा पानीको व्यवस्था छैन । सोलारले पनि काम गर्दैन, एक्सरे मेशिन पनि चल्दैन ।’
यता उक्त भवन निर्माणको ठेक्का सम्झौता गरेको सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतले तत्काल भवनको अनुगमन गरेर कारबाही प्रक्रिया सुरु गर्ने जनाएको छ । डिभिजन कार्यालयका प्रमुख थम्बराज श्रेष्ठले भने, ‘हामी भवनको तत्काल अवलोकन गर्छौं, यसको पुनर्निर्माणको जिम्मा ठेकेदारले नै लिनुपर्छ । अहिले पनि ठेकेदारको धरौटी फिर्ता भएको छैन, त्यही रकमबाट भवनको मर्मत गर्न लगाउँछौं ।’ कम गुणस्तरको सामग्री प्रयोग भएको हुनसक्ने भन्दै उनले कुनै पनि हालतमा अस्पताल भवनको मर्मत तथा सुधार हुने बताए । जिल्ला प्रशासन कार्यालयले समेत यसमा चासो देखाएको छ । कार्यालयका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले अनियमितता गर्ने कसैलाई पनि नछोडिने जानकारी दिए । यसबारेमा आफूहरूले सम्बन्धित निकायलाई सचेत बनाउने उनको भनाइ छ ।

प्रकाशित मितिः   १५ असार २०७३, बुधबार ०७:४३