माओवादी केन्द्रको संयोजकमा जिसी
साझा बिसौनी संवाददाता
सुर्खेत, १२ असार ।
नेकपा (माओवादी) केन्द्र सुर्खेतको एकता भेला आइतवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । यसअघि फुटेर बनेका विभिन्न माओवादी पार्टीहरूबीच एकता भएपछि सुर्खेतमा पनि एकता भेला गरिएको हो ।
माओवादी केन्द्रले सुर्खेतमा प्रदेश नं. ६ अन्तर्गतका जिल्लाहरू मध्ये सबैभन्दा पहिले एकता भेला सम्पन्न गरेको हो । आगामी कार्तिक महिनासम्म देशैभरका सबै जिल्लामा जिल्ला अधिवेशन गरिसक्ने केन्द्रको परिपत्र अनुसार सुर्खेतमा आइतवार एकता भेला आयोजना गरी जिल्ला अधिवेशन आयोजक समिति समेत गठन गरिएको छ । एकता प्रक्रियामा सहभागी भएका माओवादीहरूका अगुवा नेता तथा कार्यकर्ताहरूको भेलाले कृष्ण जिसीको संयोजकत्वमा जिल्ला अधिवेशनका लागि आयोजक समिति गठन गरेको हो । जिसीको संयोजकत्वमा चार सय ७५ सदस्यीय आयोजक समिति गठन गरिएको हो ।
एकतामा सहभागी भएका सबै नेता तथा कार्यकर्ताहरूको चित्त बुझाउनका लागि केन्द्रले नै आयोजक समिति जम्बो बनाएपछि जिल्लामा पनि सोही अनुसार आयोजक समिति बनाइएको हो । आयोजक समितिमा पूर्व जिल्ला कमिटीका सदस्यहरू नछुट्ने गरी र सक्रिय नेताहरूलाई पनि नछुटाइएको जनाइएको छ । एकता भेला तथा प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका स्थायी समिति सदस्य कालीबहादुर मल्लले अहिले माओवादी केन्द्र एकाएक चर्चामा आउन थालेपछि अन्य दलहरू हतास भएको बताए । उनले अब माओवादी केन्द्र अगाडि आइहाल्छ कि भनेर कांग्रेस र एमालेहरूले अनेक जालझेल गर्नसक्ने भन्दै मल्लले अब पार्टी बनाउन लाग्नुपर्ने बताए । उनले अहिले पार्टीभित्र केही असन्तुष्टि देखिएको भन्दै अधिवेशनहरू हँुदै जाँदा यी सबै असन्तुष्टिहरू मेटिने भन्दै एकताका क्रममा मिलाउनुपर्ने भएकोले पनि आयोजक समिति जम्बो भएको बताए ।
यस्तै पोलिटब्यूरो सदस्य मायाप्रसाद शर्माले बाँकी क्रान्ति पूरा गर्नका लागि माओवादीहरू एक ठाउँमा आएर एकता भएको भन्दै अब देशको विकास माओवादी केन्द्रले गर्ने र सम्पूर्ण निकास
माओवादी केन्द्रले मात्रै दिन सक्ने बताए । अब माओवादी केन्द्र प्रत्यक्षरूपमा जनतासँग जोडिएर जाने भन्दै शर्माले पार्टी सङ्गठनलाई तल्लोतहदेखि नै सुदृढ बनाएर अघि बढ्ने बताए । कार्यक्रममा पूर्वसभासद् नरबहादुर विष्टले समाजवाद उन्मुख संविधान कार्यान्वयनसँगै बाँकी क्रान्ति पूरा गर्नका लागि माओवादी एकता भएको भन्दै अब वैचारिक र भावनात्मकरूपमा समेत एक भएर पार्टी सुदृढ बनाउने बताए ।
कार्यक्रममा सहभागीहरूले १० वर्षे युद्धका क्रममा भोगाइहरू र पीडासमेतबाट पाठ सिक्नुपर्ने भन्दै त्यतिबेलाका सबै सहकर्मीहरू एकै ठाउँमा भएर माओवादी आन्दोलनलाई सार्थक बनाउनुपर्ने भावनाहरू व्यक्त गरेका थिए । कार्यक्रममा सहभागीहरूलाई हरिमाया शर्माले स्वागत गरेकी थिइन् । कार्यक्रम पुष्पा घर्तीको अध्यक्षतामा सम्पन्न भएको हो ।
साझा बिसौनी संवाददाता ।