प्रशंसावाद !
-दिनेश गौतम-
रेडियो सुन्न लागेको अलि धेरै वर्ष भएको भए पनि पत्रिका पढ्न लागेको धेरै भएको छैन । चिया चौतारीमा सामेल हुने, बुढापाकाहरूको कुरा सुन्ने गरेको पनि धेरै भएको छैन । तर जे जति सुनिएको छ, जे जति पढिएको छ त्यसमा के महसुस हुन थालेको छ भने प्रशंसा नै अहिलेको सबैभन्दा ठूलो हतियार हो, जसको माध्यमबाट यहाँले सबैलाई आफ्नो प्रभावमा पार्न सक्नुहुन्छ ।
अझै पनि नेपालको अधिकांश क्षेत्रमा पत्रिकाहरू पुग्दैनन् । गाउँमा अलि सुविधा भएको ठाउँमा नेपाल टेलिभिजन देख्न पाइन्छ भने धेरैजसो स्थानमा सामुदायिक रेडियोहरू तथा रेडियो नेपालले आफ्नो सेवा विस्तार गरेका छन् । भन्नुको आशय गाउँमा अझै पनि सूचनाको राम्रो पहुँच छैन । त्यसबेला गाउँतिर यस्ता सूचनाहरूको सहज पहुँचमा पुग्न सकिएन । तसर्थ सदरमुकाममा झरेपछि सूचनाको सहज पहुँच भयो र त्यहाँ मैले सबैभन्दा बढी पढेको र सुनेको शब्दहरूमा जोडिएर आउँथ्यो ‘वाद’ । जस्तो कि माओवाद, उदारवाद, पूँजीवाद, संशोधनवाद यस्तै अनेकौं । यस्ता ‘वाद’ झुण्डिएको शब्दहरू कति छन् ? कि नेपाली भाषाको कुनै ठूलो भाषा शास्त्री बताउन सक्लान् कि वामपन्थी भनिने कम्युनिष्टहरू । कम्युनिष्टहरू यसअर्थमा उनीहरू हरेक वाक्यमा कम्तीमा एक वाद त घुसाइहाल्छन् । र तत्काललाई म यो दुवैको पहुँचमा छैन । मलाई शब्दहरू जान्न मन त छैन तर यो ‘वाद’ले थोरै अप्ठ्यारो पारेको ।
ठ्याक्कै लेख तयार गर्छु भनेर लेख्न थालेको पलभरमै मैले शीर्षकको रूपमा ‘प्रशंसावाद’ राखिदिएको छु । थाहा छैन मलाई, प्रशंसासँग ‘वाद’ जोड्न सकिन्छ कि सकिन्न ? थाहा छैन, प्रशंसाको पनि कुनै ‘वाद’ हुन्छ वा हुँदैन । ‘वाद’को परिभाषा भित्र नछिरेरै नजानेरै वादको म वर्णन जो गर्न खोजिरहेको छु । यदि म वादको परिभाषा बाहिर गएर यसको वर्णन गर्न खोजिरहेछु भने त्यो संयोगवश हुनेछ र यो मेरो ज्ञानको दायरा बाहिर गएर लेखिएको रै’छ भनेर बुझे हुन्छ तर भाषाप्रति मेरो खेलाँची भने पक्कै होइन । मैले थोरै मात्र वाद बुझेको रहेछु भने वा छु भने यहाँ प्रशंसाका रूप, स्वरूप, चरित्र र व्याख्या उल्लेख गर्दछु । तपाईं यसलाई वाद वा अन्य जुनसुकै रूपमा बुझ्न सक्नुहुन्छ ।
प्रशंसा, अङ्ग्रेजीमा ‘एप्रिसेशन’ मैले जानेसम्मको शब्द । वास्तवमा यो प्रशंसा भन्ने कुरा अलि बृहत किसिमको हुन्छ । अझ धेरै रूप, स्वरूप, धेरै स्वार्थ र धेरै आयाम बोकेको अन्तर्राष्ट्रिय रोग मान्न सकिन्छ कमसेकम हो यो वर्तमानलाई हेर्दा । अहिले यसरी प्रशंसावादकै बारेमा लेख्नु मेरो प्रशंसाप्रतिको प्रशंसा हो । अर्थात् अहिले पनि म यहाँ प्रशंसावादको प्रशंसा गरिरहेको छु । तपाईं पढनुहोस् यो, तपाईंले प्रशंसावादको बारेमा पढेर यसकै प्रशंसा गरिरहनुभएको छ । म प्रशंसावादको खाट्टी प्रशंसक हुँ । त्यही भएर त लेखिरहेछु । म किन यसरी प्रशंसावादको प्रशंसा गरिरहेको छु भने अहिले यसले आफूलाई यसरी विश्वव्यापीकरण गरिहेछ कि उफ ! यसरी यो वायुमण्डलमा हावापानी वारपार गर्दैन होला । एउटा महामारी (यहाँ महामारीले ज्यानै लिन्छ भन्ने छैन) को रूपमा फैलिरहेछ प्रशंसावाद । प्रशंसा अर्थात् अरुको बढाइ चढाइ । त्यो आवश्यक मात्रामा पनि हुनसक्छ वा आवश्यकताभन्दा बढी । प्रशंसा त आखिर प्रशंसा नै हो ।
गम्भीर भएर सोच्दा यो प्रशंसावादको सबैभन्दा बढी प्रयोग गरिने भनेकै प्रेमको मामलामा हो । र प्रेमको मामलामा यो प्रशंसाको थ्योरी निकै प्रयोगसिद्ध पनि हुन्छ । मान्छेहरू प्रशंसावादको विधि अपनाएर प्रेम सम्बन्ध स्थापित गर्न निकै सजिलो पनि हुँदो हो सायद । प्रेम त्यो हामीले सोचे जस्तो प्रेम वा हामीलाई प्रेम शब्द सुन्नासाथ आउने धारणा मात्र होइन, त्यो प्राप्य वा अप्राप्य जुनसुकै चरणमा किन नहोस्, प्रशंसावाद हावी रहेको हामी पाउँछौं । त्यो ठूला भनिने मान्छेहरूसँग राख्न खोजिएको सम्बन्ध नै किन नहोस्, त्यो सेलिब्रेटीहरूसँग नजिक देखाउन प्रयोग हुने शब्दहरूको संयोजन नै किन नहोस्, सबै प्रशंसा नै हो । सबै प्रशंसावादका विशेषताहरू हुन् । यसका प्रयोगकर्ताहरू सबै प्रशंसावादको प्रयोग गरिरहेका छन् । तपाईं, म र हामी सबै, प्रशंसावादको ‘एडिक्ट’ हौं ।
प्रेम मात्रै होइन प्रशंसा पनि बहुआयामिक छ । प्रशंसा बहुरूपी पनि छ । धैरै मान्छेलाई एकैपटकमा आफ्नो प्रभावमा पार्न छ भने त्यसको लागि पनि प्रशंसा गरिदिए हुने । प्रशंसाले श्रृगांरको विषय पनि समात्छ । खासमा श्रृंगार जनाउने वा त्यसको परिणाम दिने वा त्यसको अर्थ बताइदिने नै श्रृंगारले हो । अर्थशास्त्र, शिक्षाशास्त्र, नीतिशास्त्र जुनसुकै शास्त्र किन नहोस् त्यहाँ पनि प्रशंसावाद आशिंक वा पूर्ण रूपमा छिरेको छ । राजनीतिको सवालमा भने प्रशंसावाद अत्यन्त न्यून हुन्छ । राजनीतिमा प्रायः जसो आलोचना नै चल्छ । आलोचना पनि निकै निम्नस्तरमा गएर गरिन्छ । तर कहिले काहीं राजनीतिमा प्रशंसाले काम गर्छ । धेरै प्रशंसाहरू मुखले मात्र गरिएका प्रशंसा हुन्छन् । खासमा आम मानिसको सहानुभूतिको लागि अर्काको प्रशंसा हुन्छ राजनीतिमा । त्यसबाहेक संसारमा त्यस्ता थोरै मात्र कुरा होलान जहाँ प्रशंसा नछिरेको होस्, संसारमा त्यस्ता थोरै मात्र व्यक्ति होलान् जसले प्रशंसा नगरेका हुन् । यही संसारमा थोरै मात्र व्यक्ति होलान् जसले प्रशंसा नपाएका हुन् । यही भूगोलभित्र त्यस्तो ठाउँ कुनै छैन होला जहाँ प्रशंसा नगर्ने गरिएको
होस् । भनिहाले नि, चरम विश्वव्यापीकरणको उत्कृष्ट उदाहरण हो, प्रशंसावाद वा भनौं प्रशंसा गर्ने लहर वा भनौं प्रशंसा गर्नुपर्ने आदत । प्रशंसाको यसरी अन्तर्राष्ट्रियकरण हुनमा कुटनीति र अन्तर्राष्ट्रियकरण सम्बन्धको मुख्य भूमिका छ । जस्तो सुकै होस्, आलोचना योग्य नै किन नहोस्, कुटनीतिज्ञहरू प्रशंसाका खरो प्रशंसक हुन् । प्रशंसाकै माध्यमबाट कुटनीतिज्ञहरूले आफूले प्राप्त गर्न चाहेका हरेक किसिमका लाभ लिन सक्षम भएका छन् ।
वास्तवमै, प्रशंसावाद जो भीमकाय रूप लिएर समाजमा उभिएको छ र समाजले आफैंलाई हेर्नै ऐनामा पर्दा बनेर बसेको छ । यसले आन्तरिक व्यक्तिगत, अन्तरव्यक्तिगत, अन्तरसमुदाय र अन्तरदेशीय रूपमै सकारात्मक प्रभाव त पारेको नै छ, केही नकारात्मक प्रभाव पनि प्रशंसावादकै कारण पर्न गएको छ । भन्न सकिन्छ, प्रशंसावाद आफैंमा एक कृत्रिमता हो । प्रशंसावादको मुख्य स्वरूप भनेकै यसको बनावट बनावटी हुनु हो । प्रशंसावाद आफैंमा एउटा अनर्गल प्रचार हो । प्रशंसावाद एउटा विशाल स्वार्थ हो र प्रशंसावादबाट प्राप्त भएको परिणाम अर्काे प्रशंसासम्म नपुग्न पनि सक्छ । जब कुनै घटना एउटा प्रशंसामात्रै थियो भन्ने महसुस हुन्छ, त्यो प्रशंसा पाउने मान्छेले कति पछुतो मान्दो हो ? हो, प्रशंसा सबैथोक छ, प्रशंसा धेरैथोक हो ।
(गौतमको साप्ताहिक स्तम्भ ‘पर्यालोचन’)
प्रकाशित मितिः १३ असार २०७३, सोमबार ०५:१५
साझा बिसौनी संवाददाता ।