हिज्जे प्रतियोगिता सम्पन्न
साझा बिसौनी संवाददाता
सुर्खेत, ७ जेठ ।
राष्ट्रियस्तरको हिज्जे प्रतियोगिताका लागि सुर्खेतबाट तीन जना विद्यार्थी छनौट भएका छन् । अमेरिकन कर्नर सुर्खेतले मंगलवार वीरेन्द्रनगरमा आयोजना गरेको प्रतियोगितामा सहभागी ५९ जना छात्रछात्रामध्ये तीन जना राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि छनौट भएका हुन् ।
यसरी छनौट हुनेहरूमा एसओएस हर्मन माइनरकी छात्रा कशीस शाही, श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालयकी भूमिका खत्री र जन माध्यमिक विद्यालयका छात्र गणेशराज अधिकारी रहेका छन् । देशभरबाट छनौट भएका प्रतियोगितहरू सम्मिलित अन्तिम चरणको प्रतियोगिता जेठ १७ गते हुने अमेरिकन कर्नर सुर्खेतका कार्यक्रम संयोजक हृदेशकुमार केसीले बताए । उनका अनुसार अमेरिकी दुतावासबाट अनलाइनमार्फत् उक्त प्रतियोगिता सञ्चालन गरिनेछ ।
मंगलवार वीरेन्द्रनगरमा भएको छनौट प्रतियोगिताको निर्णायक मण्डलमा एसओएस बालग्रामका निर्देशक मुकुन्दकुमार गिरी, नेल्टा सुर्खेतका सचिव दिपेन्द्र खत्री र श्रीकृष्ण संस्कृत तथा साधारण माविका शिक्षक लोकबहादुर खत्री रहेका थिए ।
साझा बिसौनी ।