‘व्यवसायले पैसा र प्रतिष्ठा दियो’

उनका बुबा–आमाले निजामती जागीर गर्नुपर्छ भनेर कर गर्थे । त्यतिबेला उनलाई पनि निजामती जागीर नै सही लागेको थियो । घरको कान्छो छोरा भएकोले बालापनमा अभाव नझेलेका लक्ष्मण देवकोटा सफल व्यवसायी हुन् । वीरेन्द्रनगर–६, लक्ष्मी हललाइनका व्यवसाय सञ्चालन गरिरहेका उनी साविकको रतु गाविस वडा नं. ३ सल्लेरीमा जन्मिएका हुन् ।
बुबा कलु खत्री र आमा सशीला खत्रीको कोखबाट वि.सं. २०३४ साल मंसिर १८ गते जन्मिएका उनी बालापनमा भद्र स्वभावका थिए । सुरुमा आफू बेरोजगार बनेपछि सानै भए पनि रोजगारी हुन्छ की भन्ने हेतुले तरकारी पसल सुरु गरेका उनले हाल १६ जनालाई रोजगारी दिएका छन् । उनी भन्छन्, ‘तरकारी बजारमा कमाएको छवी र लोकप्रियता निजामती कर्मचारी भएको भए पाइदैनथ्यो की ।’ तरकारी बेचेरै जीवनमा रमाएका लक्ष्मण देवकोटाले आफ्नो व्यवसायिक जीवनको कथा हाम्रा सहकर्मी सीता वलीसँग यसरी साटेः

तीस हजारबाट व्यवसाय सुरु
मैले प्रविणता प्रमाण–पत्र तहसम्मको मात्रै शिक्षा लिएको छु । कलेज पढ्दा–पढ्दै निजी विद्यालय सञ्चालन गरेको थिएँ । द्वन्द्वकालमा तत्कालीन नेकपा माओवादीले निजी विद्यालहरु बन्द ग¥यो । लगभग २०५८ सालतिर धेरै निजी विद्यालयहरु बन्द भए । विद्यालय बन्द भएपछि वैदेशीक रोजगारीमा जाने तयारी गरी कामठमाडौं पुगें । तर मेरो मनले विदेश जान मानेन ।
विदेश जाने पैसाले काठमाडांैबाट फेन्सी सामान लिएर गाउँमा बेच्न थालें । म कपडा बेच्नको लागि सुर्खेत तथा दैलेखका गाउँहरुमा पनि पुग्थें । त्यहाँबाट पनि मैले खशी र सुन्तला जस्ता सामानहरु लिएर बेच्न थालें ।
व्यवसाय सँगसँगै लोकसेवाको तयारी पनि मैले गर्दै थिएँ । तर सानै भए पनि व्यवसाय गरिरहेको भएर मलाई त्यसैमा रमाइलो लाग्यो । निजामतीको बाटो बिर्सिएँ । वि.सं. २०६१ सालमा मैले वीरेन्द्रनगरमा जम्मा ३० हजार लगानी गरी तरकारी व्यवसाय सुरु गरें । आज म सँग करिब सात करोडको व्यवसाय भएको छ । आफू बेरोजगार भएर सुरु गरेको व्यवसायमा मैले १६ जनालाई रोजगार दिएको छु । ६ वटा सवारी साधनहरु छन् । बजारमा घर बनाएको छु । कर्णाली प्रदेशका सबै जिल्लाहरुमा तरकारी दिने गरेको छु । पाँच नम्बर प्रदेशमा समेत कर्णालीको तरकारी जाने गरेको छ ।

जागिर नगरेकोमा पछुतो छैन
मेरो बुबा–आमा कृषि गर्नुहुन्थ्यो । हामी १४ भाइबहिनीमा म घरको सबैभन्दा कान्छो सन्तान हुँ । बुबा–आमाले देखेको सपना र मैले देखेको सपना उस्तै थियो । तर समयले मलाई व्यवसायी बनायो । आज मलाई निजामती जागीरे हुन नपाएकोमा कुनै पछुतो छैन । बरु व्यापारी हुन नपाएको भए धेरैको रोजगारी गुम्थ्यो ।
जागीरले आफ्नो मात्रै पेट पाल्न सम्भव हुन्छ । तर सफल व्यापारीले धेरैको पेट पालेको हुन्छ । म हाल कृषि बजार सञ्चालक समितिको कोषाअध्यक्ष समेत छु । त्यस्तै बुलबुले कृषि बजार व्यवस्थापन सञ्चालक समिति सदस्य र जिल्ला कृषी समन्वय समितिको सदस्य भएरसमेत काम गरिरहेको छु । व्यवसाय सँगैसँगै समाज सेवा समेत गर्न पाइएको छ । व्यवसायबाट मैले पैसा र प्रतिष्ठा दुवै पाएको छु । व्यवासयमा पनि दुःख नगरी त कहाँ हुन्छ र ? धेरै दुःख गर्नुपर्छ । त्यसमा पनि तरकारीको व्यापार केही कुहिएर जान्छ । कहिले बिक्री हुँदैन । तर जे भए पनि निरन्तरता नै सफलताको अन्तिम विकल्प हो ।

व्यवसायमा जीवन संगीनीको ठूलो सहयोग छ
एक्लैले त केही पनि कुरा सम्भव छैन । म व्यवसायमा सफल हुने कुरामा मेरा आफन्तहरुको ठूलो सहयोग छ । त्यसमा पनि मेरी जीवनसंगीनी मीना वलीको ठूलो साथ मैले पाएको छु । उनी शिक्षिका पेसा छोडेर व्यवसायमा म सँगै लागेकी छन् ।
म सानैदेखि भद्र स्वभावको थिएँ । मीनासँग मेरो वि.सं. २०५६ सालमा मागी विवाह भएको थियो । हाल तीन वटा छोरी र हामी दुई जना गरी पाँच जनाको परिवार छ । मलाई मेरो पेसाप्रति एकदमै गौरव छ ।
मैले यो तरकारी व्यसायबाट धेरै कुरा पाएको छु । पैसाको कमी छैन । व्यवसायमा सफल हुनको लागि मेहेनत र दृढ विश्वास हुनुपर्दछ । सँगसँगै नियमित लगाव हुनुपर्दछ । हाल मैले मासिक ९० लाख बराबरको तरकारीको कारोबार गर्दै आएको छु । अझै यसलाई बढाउने र कार्यक्षेत्र समेत बढाएर कर्णालीलाई तरकारीमा आत्मनिर्भर बनाउने लक्ष्य छ । त्यसको लागि कृषि बजर व्यवस्थापन समितिको तर्फबाट किसानहरुलाई हामीहरुले उत्पादनमा प्रेरित गरिरहेका र्छौ ।
व्यवसाय गरेर आम्दानी लिनु मात्रै हाम्रो लक्ष्य होइन कर्णालीलाई समृद्ध बनाउने लक्ष्यसमेत हामीहरुले बोकेका छौ । आज कर्णालीबासीले उत्पादन गरेको तरकारी कहाँ बिक्री गर्ने भन्ने चिन्ता छैन । कर्णालीको उत्पादन बाहिर लैजाने माध्यम हामी बनेका छौं । त्यसैले म किसान हरुलाई जति सक्नुहुन्छ उत्पादनमा जोड दिनुस् भन्न चाहान्छु ।

प्रकाशित मितिः   ८ जेष्ठ २०७६, बुधबार १६:५६