नौ थान भरुवा बन्दुक फेला

साझा बिसौनी संवाददाता
सुर्खेत, ५ जेठ ।
जिल्लाका विभिन्न स्थानहरुमा बेवारिसे अवस्थामा भरुवा बन्दुकहरू फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार विगत एक महिना यता नौ थान भरुवा बन्दुक फेला परेको हो । स्थानीय प्रशासनले लाइसेन्स नलिएर राखिएका हातहतियार बुझाउन अनुरोध गरेको थियो । उक्त समयवधि सकिएपछि बन्दुक भेटिएका हुन् ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई सरकारले प्रतिबन्ध लगाएपछि प्रशासनले गैरकानुनी हातहतियार एक महिना समयवधि तोकेको थियो । त्यो समयमा नबुझाएका हतियारहरू यतिबेला बेवारिसे अवस्थामा भेटिएको हुनसक्ने प्रहरीको अनुमान छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतकका प्रवक्ता प्रदीप क्षेत्रीका अनुसार बराहताल गाँउपालिका–५ करियापानीमा दुई नाल, लेखगाउँ, चेपाङबाट एक नाल र बराहताल एरियाबाट ६ थान गरी नौ थान बन्दुक भेटिएको हुन् । गाउँपालिका ईलाकामा सामुदायिक प्रहरी साझेदारिता कार्यक्रम अन्तर्गत गस्ती गर्ने क्रममा प्रहरीचौकी बड्डिचौरले भरुवा बन्दुक भेटाएको थियो ।

प्रकाशित मितिः   ६ जेष्ठ २०७६, सोमबार १५:३१