प्रक्रिया मिचेर कर्मचारी नियुक्त

साझा बिसौनी संवाददाता
सुर्खेत, १ जेठ ।
घरेलु तथा साना उद्योग विकास समिति शाखा सुर्खेतमा प्रक्रिया मिचेर कर्मचारी नियुक्त गरेको पाइएको छ । प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको भनसुनमा घरेलु उद्योग विकास समिति शाखा कार्यालय सुर्खेतका प्रमुख शम्भुप्रसाद पौडेलले प्रक्रिया मिचेर कर्मचारी नियुक्त गरेका हुन् ।


आवेदन आव्हान गर्दा धेरैले उम्मेदवारी दिने र आफ्ना आफन्त तथा चिनेजानेका व्यक्तिले जागिर नपाउने भएपछि मन्त्री बुढा र प्रमुख पौडेलको मिलेमतोमा जुम्लाकी तारा बुढालाई सहजकर्तामा नियुक्त गरिएको हो । मन्त्री बुढाले पदको दुरूपयोग गर्दै भनसुनका आधारमा जागिर खुवाएका हुन् ।
मन्त्रीको भनसुनका आधारमा घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख पौडेलले तारालाई नियुक्त गरेका हुन् । कर्मचारी आवश्यकताका लागि आवेदन आव्हान नै नगरी मन्त्रीको दबाबमा ताराले घरेलु तथा साना उद्योग विकास समितिबाट सहजकर्ता पदमा नियुक्ती पाएकी हुन् ।
आर्थिक वर्ष सकिनै लाग्दा बजेट खर्चिने चटारो परेको कार्यालयले समेत विना प्रक्रिया मन्त्रीका आफन्तलाई जागिर दिएको हो । मेडिकल क्षेत्र (एचए) अध्ययन गरेकी ताराले चालु आर्थिक वर्षका लागि घरेलु तथा साना उद्योग विकास समितिद्वारा सञ्चालन हुने सीप विकास सम्बन्धी तालिममा सहजकर्ताको जिम्मेवारी पाएकी छन् । घरेलु तथा साना उद्योग विकास समितिको सुर्खेत शाखाका अनुसार कार्यक्रम अवधिभरका लागि करारमा नियुक्त गरिएको हो । तालिम सहजकर्ताको मासिक रूपमा १८ हजार रूपैयाँ तलब हुन्छ । मन्त्रीकै भुनसुनका आधारमा उनलाई नियुक्त गरिएको स्रोतले जानकारी दिएको छ ।
घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय सुर्खेतका प्रमुख शम्भुप्रसाद पौडेलले सामान्य पद भएकाले आवेदन आव्हान नगरी कर्मचारी नियुक्त गरिएको बताए । ‘कार्यक्रम अवधिभरका लागि मात्रै कर्मचारी राखिएको छ’ उनले भने, ‘कर्मचारी चाहियो भनेर खोजी गर्दा काम गर्ने इच्छा व्यक्त गरेर सम्पर्कमा आएकाले नियुक्त गरिएको छ । उनीहरूका लागि आवेदन आव्हान नै गर्नुपर्ने अवस्था हुँदैन ।’ उनले सीपमूलक तालिम सहजकर्ताका लागि आवेदन आव्हान गर्ने प्रावधान नभएको जिकिरसमेत गरे ।
घरेलुले दुई विधामा सहजकर्ता नियुक्त गर्ने गर्दछ । साना तथा घरेलु उद्योग वृद्धि गर्न समितिको कार्यालयका लागि र सरकारद्वारा सञ्चालित मेड्पा कार्यक्रमका लागि सहजकर्ता नियुक्त गर्छ । लघुउद्यम विकास (मेड्पा)का लागि समितिले परामर्श सेवाप्रदायक संस्था चयन गर्छ । संस्थामार्फत् कार्यक्रम आवश्यक पर्ने सहजकर्ता नियुक्त गरिन्छ ।
घरेलु तथा साना उद्योग विकास समितिले भने सहजकर्ता नियुक्त गर्दा अनिवार्य प्रक्रियामा जानुपर्ने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव धिरेन्द्रकुमार प्रधानले बताए । ‘परामर्श सेवादायी संस्थाले आफै कर्मचारी नियुक्त गर्नुपर्छ’ उनले भने, ‘कार्यालय सहजकर्ताका रूपमा घरेलुमा करारमा कर्मचारी राख्ने प्रावधान छ । विगतमा काम गरेको व्यक्ति भए करार थप गरेर पनि नियुक्त गर्न सकिन्छ । तर, नयाँ नियुक्ती गर्दा अनिवार्य प्रक्रियामा गएको हुनुपर्छ ।’ उनले आवेदन आव्हान नै नगरी कर्मचारी नियुक्त गर्न नपाइने बताए । उनका अनुसार मेडिकल अध्ययन गरेको व्यक्ति भने उद्यम विकासका लागि नियुक्त गर्नु पनि गलत हो ।
यता, मन्त्री बुढाले ताराका लागि घरेलुका प्रमुख पौडेललाई सहजकर्ता जागिर दिन आग्रह गरेको स्वीकार गरेका छन् । ‘मेरो कुनै चिनजान छैन, अरुमार्फत् कुरा आएकाले मैले जागिर दिन घरेलुमा भनिदिएको हुँ’ मन्त्री बुढाले भने, ‘गतवर्ष क्षेत्रीय अस्पतालमा भन्दा भएन । राष्ट्रिय स्वयम्सेवकमा पनि भएन । कतै जागिर नभएर बेरोजगार भएपछि यता मिलाइएको हो ।’
मन्त्री बुढाले बेरोजगारलाई जागिरमा लगाइएको तर्क गर्दै आफूले गलत काम नगरेको दावी गरे । ‘जागिर गर्छु भनेर स्वीकार गरेपछि दिनैप¥यो । पढेकी उनले एचए हुन्, एसएलसी पासको प्रमाण–पत्र पेश गरेकी छन्’ मन्त्री बुढाले प्रश्न गर्दै भने, ‘के उनले जागीर गर्न नपाउने हुन् र ?’

प्रकाशित मितिः   २ जेष्ठ २०७६, बिहीबार १५:१५