विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता हुँदै

साझा बिसौनी संवाददाता
सुर्खेत, १ जेठ ।
सुर्खेतमा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । एमएस क्रिकेट एकेडेमीको आयोजनामा जेठ ४ गतेदेखि प्रतियोगिता हुन लागेको हो ।
कर्णालीमा विद्यालयस्तरबाटै क्रिकेटको विकास होस् भन्ने उद्देश्यले प्रतियोगिता गर्न लागेको एकेडेमीका अध्यक्ष मोहन शाहीले बताए । प्रतियोगिता कालुङ्गचौक क्रिकेट मैदान सुर्खेतमा हुने अध्यक्ष शाहीले जानकारी दिए । केही समय अघि उक्त मैदानमा कर्णाली प्रिमियर लिगको दोस्रो संस्करण सम्पन्न भएको थियो ।
प्रतियोगितामा सहभागित हुनका लागि टिम दर्ता शुल्क चार हजार तोकिएको छ । उनका अनुसार प्रतियोगिताको विजेता टिमले नगद १५ हजारसहित ट्रफी र प्रमाण–पत्र पाउनेछ । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले ६ महिनासम्म आयोजक एकेडेमीमा पूर्ण छात्रवृत्तिमा तालिम लिन पाउनेछन् ।
प्रतियोगितामा उत्कृष्ट हुने बलर र ब्याटस म्यानलाई तीन महिनासम्म पूर्ण छावृत्तिमा तालिम दिने शाहीले जानकारी दिए । ‘विभिन्न विद्यालयहरूबाट टिमहरू दर्ता भइरहेका छन्’ उनले भने, ‘कति टिम हुन्छन् भन्ने अहिले एकिन भएको छैन ।’ पछिल्लो समय कर्णालीमा क्रिकेट क्रेज बढ्दो क्रममा रहेको छ ।

प्रकाशित मितिः   २ जेष्ठ २०७६, बिहीबार १५:११