समीक्षा गोष्ठी सम्पन्न

साझा बिसौनी संवाददाता
सुर्खेत, १ जेठ ।
बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाको वार्षिक कर्मचारी समीक्षा गोष्ठी वीरेन्द्रनगरमा सम्पन्न भएको छ । संस्थाका सुर्खेत, दैलेख, जाजरकोट र जुम्लाका चार जिल्लामा रहेका दुई सय एक जना कर्मचारीहरू, सञ्चालक समितिका पदाधिकारी र कार्यकारी प्रमुखको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा संस्थाका सेवा सुविधालाई गाउँ–गाउँसम्म पुगेर सञ्चालन गर्दा कर्मचारीले भोग्नुपरेको समस्या, चुनौतीलाई समाधान गर्न र संस्थाको सेवा सुविधालाई प्रभावकारी रूपमा विस्तार गर्नका लागि संस्थाको सञ्चालक समिति, केन्द्रीय कार्यालय र इलाका कार्यालयका प्रमुखहरूको सहभागतिामा कार्यक्रम सञ्चालन गरिएको हो ।
संस्थाका अध्यक्ष पञ्चसिंह रोकायाले कर्मचारी भनेको संस्थाको मेरुदण्ड भएकाले कर्मचारीहरूलाई सक्षम र क्षमतावान बनाउनका लागि सञ्चालक समिति कहिले पछि नहटने प्रतिबद्धता व्यक्त गर्दै संस्थाले आगामी वर्षमा सदस्यहरूका लागि नयाँ–नयाँ कार्यक्रमहरू सञ्चालन गर्ने तयारी गरेको बताए ।
त्यसैगरी लेखा समिति संयोजक अंकबहादुर गुरुङ्गले संस्थाको विकास र विस्तारका लागि कर्मचारी र सञ्चालक समितिहरू इमान्दार, मेहेनती संस्थाप्रति सधै चिन्तनशील रहनुपर्ने बताए । कर्मचारीहरूको स्तरोन्नति र क्षमता वृद्धिका लागि संस्थाले आन्तरिक तथा बाह्य तालिमहरूको आयोजना, देश तथा विदेशको भ्रमण कार्यक्रम पनि संस्थाले आयोजना गर्ने गरेको सचिव पासाङ महत्तराले
बताए । गोष्ठीलाई सहजीकरण गरेका संस्थाका कार्यकारी प्रमुख विशाल केसीले कर्मचारीहरूको मनोबल बुद्धिका लागि नयाँ–नयाँ कार्यक्रम सञ्चालन र गाउँ–गाउँमा पुगी सदस्यलाई थप वित्तीय सुविधा दिने बताए ।
कार्यक्रममा सञ्चालक समिति उपाध्यक्ष सिंहबहादुर गुरुङ्ग, सदस्यहरू पार्वती बुढा, लक्ष्मी गुरुङ्ग र पार्वती गुरुङ्ग , केन्द्रीय कार्यालयका प्रबन्धक अशोक चौधरी, इलाका कार्यालय कर्णालीका प्रबन्धक धनबहादुर शाही, इलाका कार्यालय भेरीका प्रबन्धक डम्बर विश्वकर्मा र आन्तरिक लेखा परीक्षक रामु सुबेदीको सहभागिता रहेको तालिम सहायक आरती गुरुङ्गले जानकारी दिइन् ।

प्रकाशित मितिः   २ जेष्ठ २०७६, बिहीबार १५:१२