27 May 2019   |   सोमवार, जेष्ठ १३, २०७६

उद्यममार्फत् आत्मनिर्भर

महिला उद्योगी बढ्दै

          |   88 पटक पढिएको   |   सोमवार, बैशाख २३, २०७६ मा प्रकाशित

साझा बिसौनी संवाददाता
सुर्खेत, २२ वैशाख ।
सामान्य खर्च आवश्यक पर्दा सहयोग माग्नुपर्ने । मनले चाहे अनुसार न खान पाइने न त लगाउन पाइने । आत्मनिर्भर नहुँदा इच्छा भए अनुसार पूरा गर्न निकै हम्मे पथ्र्यो, मनमाया नेपालीलाई । ‘पैसा आम्दानी हुने स्रोत नै थिएन, अति आवश्यक हुँदा बाहेक आवश्यक हुँदा खुम्चिनुपर्ने अवस्था थियो’ उनी भन्छिन्, ‘घरपरिवारसँग मागेर सधैं जीवन धान्न पनि नसकिने, त्यसैले तालिम लिएर टेलरिङ्ग सिके । सीप सदुपयोग गर्दै व्यवसाय पनि गरियो ।


वि.सं. २०६७ सालमा मनमायाले वीरेन्द्रनगरको न्यूरोडमा टेलरिङ्ग दर्ता गरिन् । व्यवसायिक रूपमा टेलरिङ्ग गर्न थालेको नौ वर्ष भयो । ५० हजार रूपैयाँ लगानी गरेर लेडिज टेलर्स स्थापना गरेकी हुन् । घरेलु तथा साना उद्योग, कर कार्यालय तथा नगरपालिकामा व्यवसाय दर्ता
छ । टेलरिङ्गबाटै उनले मासिक ५० हजार आम्दानी गर्दै आएकी छन् । उनले आवश्यकता पर्दा खर्च माग्न अरुकै भर पर्नुपर्ने बाध्यता हटेको छ । ‘महिलाले पनि केही गर्न सक्छन् भन्ने सोचले व्यवसाय सुरु गरिएको हो’ उनले भनिन्, ‘परिवारबाट सहयोग पाइयो, सन्तोषजनक आम्दानी भएको छ । घरखर्चसमेत यसैबाट चलेको छु ।’ उनले सात जनालाई रोजगारी दिएकी छन् ।
वीरेन्द्रनगर–१२ की गंगा वलीले चाउमिन तथा सस उद्योग सञ्चालन गरेकी छन् । विगत ११ वर्षदेखि सुरु गरेको व्यवसायबाट नौ जनालाई रोजगारी दिएकी छन् । ‘सुरुमा निकै अप्ठ्यारो लाग्थ्यो, तर काम गर्दै जाँदा उद्योगमै खुशी पाइयो’ उनी भन्छिन् ‘हिजोआज काम गर्न अप्ठ्यारो छैन । सीपले निखार्दै लग्यो । प्रयास गर्दा राम्रै आम्दानी भएको छ ।’ विगत जस्तो परनिर्भरता हटेको उनले बताइन् । थोरै लगानीबाट पनि मनग्य आम्दानी गर्न सकिने उनी बताउँछिन् ।
पछिल्लो समय महिलाहरूको उद्योगप्रति आकर्षण बढेको छ । घरेलु तथा साना उद्योग विकास समितिका अनुसार आर्थिक वर्ष २०७४÷०७५ मा सुर्खेतमा सात सय ७७ साना उद्योग दर्ता भएका छन् । जसमध्ये महिलाका नाममा दुई सय २५ उद्योग दर्ता भएका छन् । आव २०७५÷०७६ को साउनदेखि फागुनसम्म आठ सय २८ नयाँ उद्योग दर्ता भएका छन् । जसमध्ये महिलाको नाममा दुई सय ४४ उद्योग थपिएका छन् । विशेष गरी उत्पादनमूलक, सेवामूलक, पर्यटन, वन तथा कृषिजन्य लगायतका साना उद्योग कार्यालयमा दर्ता भएको घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख शम्भुप्रसाद पौडेलले बताए ।
‘पछिल्लो समय महिलाहरूमा उद्योगप्रति आकर्षण बढ्दै गएको छ’ उनले भने, ‘जसले गर्दा महिलाहरू पनि आत्मनिर्भर हुँदै गएका छन् ।’ महिलाका नाममा उद्योग सञ्चालन गर्दा राज्यले छुट दिन थालेको छ । दर्ता गर्दा र करमा २५ प्रतिशत शुल्क छुट दिने भएकाले पनि उद्यममा महिलाको आकर्षण बढ्दै गएको हो । ‘पुरुषहरूले उद्योग दर्ता गर्दा पूँजीको आधारमा दस्तुर तिर्नुपर्ने हुन्छ’ उनले भने, ‘तर, महिलाहरूलाई एक करोडसम्म पूँजीको लागि दुई सय रूपैयाँ मात्रै दर्ता शुल्क लाग्छ । राज्यले दिने सुविधाका कारण पनि महिलाहरू उद्यमी बन्ने अवसर पाएका छन् ।’
साना तथा मझौला उद्योगमा महिलाहरूको लगानी बढ्दै गएको सुर्खेत उद्योग वाणिज्य संघका महिला उपाध्यक्ष कृष्णाकुमारी थापाले बताइन् । ‘पछिल्लो समय महिला उद्यमीहरूमार्फत् विभिन्न ठाउँमा उद्योगहरू सञ्चालनमा छन्’ उनले भनिन्, ‘ढाँका उद्योग, कोशेली गृह, सिलाइ बुनाइ तथा टपरी उद्योगहरूमा महिलाले नेतृत्व गरेका छन् ।’ अझै प्रविधिको विस्तार हुन नसक्दा समस्या भएको उनले बताइन् । स्थानीय तथा प्रदेश सरकारले महिला उद्योगहरूमा अझै लगानीको वातावरण सिर्जना गर्नुपर्ने उनले बताइन् । सुर्खेत उद्योग वाणिज्य संघसमेत महिला उद्यमीहरूले उद्योग दर्ता गर्ने क्रम बढ्दै गएको छ । राज्यले कर्णालीमा उद्योग दर्ताका लागि विशेष नीति ल्याउनुपर्ने उनको भनाइ छ । साना तथा मझौला उद्योगहरू सञ्चालन भए पनि ठूला उद्योगहरू भने कर्णालीमा सञ्चालनमा छैनन् ।

Loading...