समायोजनमा पुनर्विचार गर्न माग

साझा बिसौनी संवाददाता
सुर्खेत, २२ वैशाख ।
कर्मचारी समायोजनलाई पुनर्विचार गर्न सुर्खेतका स्वास्थ्यकर्मीहरूले माग गरेका छन् । आइतवार वीरेन्द्रनगरमा स्वास्थ्यकर्मी हकहित संरक्षण मञ्च जिल्ला समिति सुर्खेतले पत्रकार सम्मेलन गर्दै कर्मचारी समायोजन स्वास्थ्यकर्मीको हितमा नभएकाले पुनर्विचार गर्न माग गरेको हो ।
कर्मचारी अध्यादेश–२०७५ अनुसार सरकार सेवामा कार्यरत प्रशासन सेवा तथा अन्य सेवाका कर्मचारीहरूलाई एक तह बढुवा तह मिलान, ग्रेड तलब वृद्धि गर्ने र स्वास्थ्य सेवामा कार्यरत कर्मचारीलाई सेवा सुविधासमेत विभेद गरिएको गुनासो स्वास्थ्यकर्मीहरूको छ । सरकारी सेवामा कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई समान सेवा सुविधा लागू गर्नुपर्ने गरी समायोजनलाई हेरफेर गर्नु माग उनीहरूले गरेका हुन् । अन्तिम ज्येष्ठता सूची र दरबन्दी संरचना प्रकाशित नगरी स्वास्थ्यकर्मीहरूलाई निवेदन माग गरी पुनः समायोजन सूची प्रकाशन गर्नुपर्ने माग स्वास्थ्यकर्मीहरूको छ ।
अन्तरप्रदेश शारीरिक अशक्तता, बिरामी, श्रीमान् श्रीमती तथा समायोजन फारम भर्दा प्राथमिकता अनुसार माग गरिएको स्थानीय तहका सम्बन्धित प्रदेशमा नै समायोजन गर्नुपर्ने मञ्चका अध्यक्ष किशोर रावलले बताए ।
अवकाश प्राप्त हुन एक वर्ष बाँकी रहेका कर्मचारी कार्यरत स्थानीय तहमा वा रोजेको स्थानीय तहमा समायोजन गर्नुपर्ने उनले बताए । मञ्चको नयाँ स्थापना भएका वडाका स्वास्थ्य संस्था कर्मचारी व्यवस्थापन गर्नुपर्ने माग छ । समायोजन भए पश्चात् निजामती सेवा ऐनमा स्थानीय, अन्तरस्थानीय, प्रदेश, अन्तरप्रदेश र संघको बीचमा सरुवाको व्यवस्थापन गरी सहज बनाउनुपर्ने, संघीय निजामती सेवामा समावेश गरी स्तरवृद्धिको बाटो खुल्ला गरिनुपर्ने लगायतका माग सरकारसँग राखिएको छ । स्वास्थ्य सेवामा कार्यरत कर्मचारीहरू पनि फाजिलमा परेको भन्दै उनले उनीहरूको दरबन्दी सिर्जना गरी माग बमोजिम स्थानीय तह र प्रदेशमा समायोजन गर्न र हाल कार्यरत पद भन्दा घटुवा गरी समायोजन गरिएको भन्दै मञ्चले वर्तमान कार्यरत पदमा नै समायोजन गर्नुपर्ने माग गरेका छन् ।

प्रकाशित मितिः   २३ बैशाख २०७६, सोमबार १३:०१