वाङ्मय सङ्गोष्ठी हुँदै

साझा बिसौनी संवाददाता
सुर्खेत, २२ वैशाख ।
वीरेन्द्रनगरमा वाङ्मय सङ्गोष्ठी हुने भएको छ । वैशाख २७ गतेदेखि गोष्ठी सञ्चालन हुने भएको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठानको सहयोग तथा सुर्खेती कल्याण समाज काठमाडौंको आयोजना र सुर्खेतस्थित साहित्यिक संघ–संस्थाको सहकार्यमा गोष्ठी हुन लागेको हो ।
आइतवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी सुर्खेती कल्याण समाजका सभापति प्रा.डा. जीवेन्द्रदेव गिरीले कार्यक्रमको तयारी तीव्र पारिएको बताए । नेपाल प्रज्ञा प्रतिष्ठानले कार्यक्रमका लागि दुई लाख ५० हजार आर्थिक सहयोग गरेको छ । सङ्गोष्ठीमा कर्णाली प्रदेशका लोकवार्ता विषयमा प्रा.डा. चुडामणि बन्धु, कर्णाली प्रदेशमा गद्य साहित्यको वर्तमान अवस्था र भावी दिशा डा. दीपक गौतमले कार्यपत्र प्रस्तुत गर्ने कार्यसूची छ । गोष्ठीमा कर्णाली प्रदेशमा प्रचलित शैव, वोन र बौद्ध धर्म दर्शनको परम्परा विषयमा विष्णुप्रसाद पराजुली, नेपाली कवितामा कर्णाली प्रदेशको योगदान विषयमा प्रा. जगतप्रसाद उपाध्याय र कर्णाली प्रज्ञा प्रतिष्ठानको आवश्यकता र सम्भावना विषयमा प्रा. डा. जीवेन्द्रदेव गिरीले कार्यपत्र प्रस्तुत गर्दैछन् ।
गोष्ठीका अवसरमा वैशाख २७ गते साँझ मध्यपश्चिमाञ्चल गजल मञ्चको सहकार्यमा गजल साँझसमेत आयोजना गरिएको छ । २८ गते कर्णाली प्रदेश सबै जिल्लाहरूको प्रतिनिधित्व हुने गरी प्रदेशस्तरीय कवि गोष्ठीसमेत हुने प्रा.डा. गिरीले बताए । कार्यक्रममा वीरेन्द्रनगर घोषणा पत्र २०७६ समेत जारी गरिनेछ ।

प्रकाशित मितिः   २३ बैशाख २०७६, सोमबार १२:५९