गाउँ पस्दै कांग्रेस
साझा बिसौनी संवाददाता
सुर्खेत, २२ वैशाख ।
नेपाली कांग्रेसका पूर्व कोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधनसँगै रोकिएको गाउँ जागरण अभियान निरन्तरता दिइने भएको छ । सुर्खेतसहित बाँकी रहेका जिल्लाहरूमा यही वैशाख २५ गतेदेखि अभियान सुरु हुने भएको हो ।
सुर्खेतसहित देशभर हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियान सुरु हुने भएको हो । कांग्रेसले जिल्ला, क्षेत्र, गाउँ÷नगरसम्म विस्तारित हुने जागरण अभियान तीन चरणमा सञ्चालन गर्न लागेको छ ।
नेपाली काँग्रेस सुर्खेतले केन्द्रको जागरण अभियानलाई भव्यरूपमा मनाउने निर्णय गरेको छ । पार्टी कार्यालय सुर्खेतमा आइतवार बसेको बैठकले यही वीरेन्द्रनगरबाट जागरण अभियानको सुरुवात गर्ने निर्णय गरेको हो ।
अभियानको पुनः सुरुवात केन्द्रीय कोषाध्यक्ष सीतादेवी यादवले गर्ने कार्यक्रम तय गरिएको नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले बताए । केन्द्रीय प्रतिनिधि जीवनबहादुर शाहीको उपस्थितिमा बसेको बैठकले सुर्खेतका नौ वटै स्थानीय तहमा जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । बैठकले
वैशाख २९ गते सिम्ताको राकममा, ३० गते गुर्भाकोटको मेहेलकुना, जेठ २ गते भेरीगंगाको छिन्चुमा कार्यक्रम गर्ने भएको छ ।
लेकवेशीको कल्याणमा जेठ ३ गते, चिङ्गाडको अवलचिङ्गमा जेठ ६ गते, चौकुनेको गुटुमा ९ गते, पञ्चपुरीको बावियाचौमा १० गर्ने जागरण अभियान अन्तर्गत सभा गर्न लागिएको हो । सभापति रेग्मीका अनुसार बराहतालको बड्डिचौरमा जेठ २० गते कार्यक्रम हुनेछ भने वीरेन्द्रनगरमा २५ गते कार्यक्रम गरेर पहिलो चरणको जागरण अभियान समापन गरिनेछ । बैठकबाट जागरण अभियानमा सहभागी हुन पार्टीका सम्पूर्ण भ्रातृ संगठन, संस्था तथा शुभेच्छुकहरूलाई आव्हानसमेत गरिएको छ । बैठकले पार्टीका पूर्व कोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधनप्रति शोक प्रस्ताव पनि पारित गरेको छ ।
साझा बिसौनी ।