तदर्थ समितिमा शाही

साझा बिसौनी संवाददाता
सुर्खेत, २२ वैशाख ।
काँक्रेविहार यातायातको तदर्थ समिति गठन गरिएको छ । साविकको संघलाई विघटन गरेर समितिको अध्यक्षमा धनराज शाही चयन भएका हुन् । वीरेन्द्रनगरमा सम्पन्न संघको १२ औं साधारणसभाले उपाध्यक्षमा सन्तोष विष्ट, सचिवमा कलमबहादुर खड्का, सह–सचिवमा पंकज ढकाल र कोषाध्यक्षमा दिनेशप्रसाद न्यौपानेलाई चयन गरेको छ ।
सदस्यहरूमा मनोजकुमार शाही, बमबहादुर शाही, पदम सिंह विक, टंकप्रसाद पाण्डे, मुक्तिनाथ बराल र धवलसिंह धामी रहेका छन् । संघको कार्यसमिति विघटन भइसकेकाले तत्काल कार्य सञ्चालन गर्न तदर्थ समिति गठन गरिएको हो । प्रालिमा रूपान्तरण हुनका लागि समय लाग्ने भएकाले व्यवसायीको दुई तिहाइले तदर्थ समिति गरेको हो ।
तत्कालीन संघका सचिव रमेशकुमार सापकोटाले प्रालिको प्रक्रिया पूरा नहुने बेलासम्मका लागि तदर्थ समितिको गठन गरिएको जानकारी दिए । जेठ २१ गतेपछि प्रालिकै ढाँचामा सञ्चालक समितिको चयन गरिने बताए । यता अध्यक्ष लोगबहादुर थापाले कानुन विपरित तदर्थ समिति गठन गरिएकाले असन्तुष्टी व्यक्त गरेका छन् । उनले कानुनतः प्रालि भएको कार्य सञ्चालन गर्नुपर्नेमा संघकै ढाँचामा तदर्थ समिति गठन गरिएकाले आफूहरूलाई मान्य नभएको बताए ।
तत्कालीन संघको शेयर बाँडफाँडमा सहमती नहुँदा यातायात व्यवसायीहरू विभाजित भएका हुन् । सापकोटा निकटका व्यवसायीले तदर्थ समिति गठन गरेको छ भने थापा निकटका व्यवसायीहरूले उक्त कार्यप्रति असन्तुष्टी जनाएका छन् ।

प्रकाशित मितिः   २३ बैशाख २०७६, सोमबार १२:५८