नौ जनाको मृत्युपछि सरकारको चासो

औषधिसहित आइतवार हुम्ला पुग्यो चिकित्सकको टोली

साझा बिसौनी संवाददाता
सुर्खेत, १५ वैशाख ।
हुम्लाको ताँजाकोट गाउँपालिका–१ का ७० वर्षीया लालसरा रिठाल एक्कासी बिरामी परिन् । सुरुमा ज्वरो आउने, टाउको दुख्ने लक्षण देखियो । विस्तारै रोगले आक्रमण गर्दै गएपछि हातखुट्टा झमझमाउन थाले । पाँच दिनसम्म लगातार बिरामले च्यापेपछि गत चैत २६ गते उनको मृत्यु भयो ।
रिठालको मृत्यु भएको ६ दिन पछि सोही ठाउँका थप दुई जनाले पनि ज्यान गुमाए । उस्तै लक्षण देखिएको रोगका कारण थलिएका ताँजाकोट–३ चौतारी बाडाका ५५ वर्षीय लक्ष्य सुनार र ताँजाकोट–१ काडागाउँका सुरजीत खड्काको वैशाख १ गते मृत्यु भयो । वैशाख ३ गते ताँजाकोट–३ का बजेरी सुनारको मृत्यु भयो । उनी ७५ वर्षका थिए । एकपछि अर्को गर्दै ताँजाकोटमा तीन सातादेखि श्रृंखलाबद्ध रूपमा नागरिकको ज्यान गइरहेको छ ।
स्वास्थ्य समस्याका कारण वृद्धवृद्धा तथा बालबालिकाको धमाधम मृत्यु हुन थालेपछि गाउँपालिकाको स्वास्थ्य शाखाले शिविर सञ्चालन ग¥यो । गाउँपालिकाको फार्मेसीमा भएको औषधिसहित घर–घरमा स्वास्थ्यकर्मी खटाएर औषधोपचारसमेत गरिएको थियो । फार्मेसीमा भएको औषधि नै सकियो तर अज्ञात रोगका कारण मृत्यु हुनेको संख्या रोकिएन । वैशाख ४ गते ताँजाकोट–३ का अमकली मल्लको पनि ६७ वर्षको उमेरमा मृत्यु भयो । थला परेको पाँचौं दिनमा उनको मृत्यु भएको थियो । वैशाख ४ गतेदेखि सामान्य समस्या देखिएका ताँजाकोट–२ कोलीवाडाका रंगे वलीको पनि वैशाख ८ गते मृत्यु भयो । सोही ठाउँका १० महिनाका बालक सञ्जिव थापाले पनि सोही समस्याका कारण ज्यान गुमाए । रोगको संक्रमणकै कारण मृत्यु हुने क्रम रोकिएन । उपचार नपाएर आठ जनाको मृत्यु भइसक्दासमेत प्रदेश र संघ सरकारलेसमेत वास्ता गरेन । बीस दिनमा नौ जनाले ज्यान गुमाए ।
पछिल्लो पटक शनिवार ताँजाकोट–१ का ५५ वर्षीय वीरवल रिठालको मृत्यु भयो । पहिचान हुन नसकेको रोगका कारण वीरबलसहित नौ जनाको मृत्यु भएपछि मात्रै सरकारले ताँजाकोटबासीको स्वास्थ्योपचारमा चासो देखाएको छ । गाउँमा रोग फैलिएको करिब तीन हप्तापछि मात्रै औषधिसहित चिकित्सकको टोली हुम्ला पुगेको छ ।
अज्ञात रोगले प्रभावित हुम्लाको ताँजाकोट गाउँपालिकामा आइतवार मात्रै औषधिसहित चिकित्सकको टोली पुगेको हो । पहिचान नभएको रोगका कारण नौ जनाको मृत्यु भएपछि सरकारले हेलिकप्टरमार्फत् चिकित्सकको टोली हुम्ला पठाएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयको समन्वयमा प्रदेश अस्पतालमा कार्यरत डाक्टर केएन पौडेलको नेतृत्वमा तीन जना एमबीबीएस डाक्टर र चार जना अन्य स्वास्थ्यकर्मीसहितको टोली ताँजाकोट पुगेको हो । आइतवार बिहान प्रभावित क्षेत्रमा पुगेको डाक्टरको टोलीले बिरामीहरूको उपचार सुरु गरेको गाउँपालिकाका अध्यक्ष बाग्देल मल्लले जानकारी दिए ।
सुर्खेतबाट औषधिसहित ताँजाकोट पुगेको चिकित्सकहरूको टोलीले बढी प्रभावित क्षेत्र वडा नम्बर १ र २ मा उपचार सुरु गरेको छ । स्थानीय स्वास्थ्य संस्थाबाहेक ताँजाकोटबासीको पहुँच पुग्ने गरी तीन स्थानमा शिविरसमेत सञ्चालन गर्न निर्देशन दिइएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख वृषबहादुर शाहीले बताए । उनका अनुसार प्रभावित क्षेत्रका लागि पर्याप्त औषधि पठाइएको छ । ‘औषधि अभाव भएको खण्डमा पुनः पठाउन सक्ने अवस्था छ’ उनले भने, ‘तत्कालका लागि आवश्यक पर्ने औषधिसहित डाक्टरको टोली पठाएका छौं ।’
चैत २६ गतेदेखि फैलिएको अज्ञात रोगका कारण शनिवारसम्म नौ जनाले ज्यान गुमाएका छन् भने ताँजाकोट–२ का स्थानीयहरू थला परेका छन् । रोगका कारण वृद्धवृद्धा र बालबालिकाहरू बढी प्रभावित भएका छन् । प्रकोप फैलिएसँगै घरदैलोमा स्थानीय चिकित्सकहरू खटाएर उपचार गराए पनि रोक नियन्त्रण नभएपछि गाउँपालिकाले प्रदेश र संघ सरकारसँग औषधि र चिकित्सक पठाउन आग्रह गरेको थियो ।

प्रकाशित मितिः   १६ बैशाख २०७६, सोमबार ११:५२