कर्मचारीमाथि प्रश्नै–प्रश्न
साझा बिसौनी संवाददाता
सुर्खेत, १५ वैशाख ।
‘धेरै दुःख गरेर लोकसेवा पास गर्छन् । लोकसेवा पास गरेपछि कर्मचारीले जनताको सेबक हुँ भन्ने कुरा किन भुल्छन् ?’ उनले प्रश्न सिधै कर्मचारीतर्फ सोझाए । उनको आक्रोश देख्दा यस्तो लाग्थ्यो उनी कर्मचारीबाट आजीत छन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उप–प्रध्यापक पूर्ण नेपालीले आइतवार लोकसेवा आयोगको कार्यालय काठमाडौंले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा धक फुकाएर बोले ।
उनले प्रश्न गरे ‘कर्मचारीलाइ एक वर्षमै किन बंगला चाहियो ? सेवाग्राहीले तिरेको करको तलब खाने अनि उनीहरूलाई नै अर्कै ग्रहबाट आएको जस्तो व्यवहार गर्न मिल्छ ?’ उनले प्रश्न माथि प्रश्न गरे ।
यस्तै कार्यक्रममा सहभागी औद्यौगिक कार्यालय सुर्खेतका प्रमुख जीवनारायण वञ्जाडेले पनि कर्मचारीमाथि नै प्रश्न उठाए । भने ‘सेवाग्राहीलाई भोलि भनेर किन दुःख दिने ? कार्यालय समयमै हुने काम आजै सके के हुन्छ ?’
मध्यपश्चिमाञ्चल विश्व–विद्यालयका अर्का उप–प्रध्यापक उपेन्द्र विकले नेतृत्वको कमजोरीका कारण कर्मचारीहरू दोषी भएको बताए ।
‘नेपालको नेतृत्व कहीं न कहीं चुकेको छ । त्यही मौका हेरेर कर्मचारी बसेको छ । अनी कसरी जनताले भने जस्तो सेवा पाउँछन् ?’ उनको प्रश्न थियो ।
लोकसेवा आयोगले अब आउने कर्मचारी कस्तो क्षमताको हुनुपर्छ भन्ने विषयमा छलफल गर्न आयोजना गरिएको कार्यक्रमका अधिकांश सहभागीहरूले नेपालको कर्मचारी तन्त्रबाट जनता आजीत भएको बताए । कार्यक्रमका सहभागीहरूले लोकसेवाबाट लिइने परीक्षामा सैद्धान्तिक प्रश्न मात्रै समावेश भएको र आगामी दिनमा व्यवहारिक प्रश्न पनि समावेश गरिनुपर्ने बताए ।
लोकसेवा आयोगकी सदस्य विन्द्रा हाडाले लोकसेवा आयोगले लिखित र मौखिक प्रश्न मात्रै नभएर वैज्ञानिक ढङ्गले सेवाग्राहीको अपेक्षा अनुसारका कर्मचारी भर्ना गर्नुपर्ने बताइन् । कार्यक्रममा बोल्दै लोकसेवा आयोग काठामाडौंका सह–सचिव डा. खगेन्द्रप्रसाद सुवेदीले अब बन्ने लोकसेवा आयोगको प्रश्नपत्र परिवर्तन गरी कसरी जनताको मर्म बुझ्ने कर्मचारी छनौट गर्ने भन्ने उद्देश्यका लागि कार्यक्रमको आयोजना गरिएको बताए ।
साझा बिसौनी ।