विवाह उत्सवमा दृष्टिविहीनलाई सहयोग
साझा बिसौनी संवाददाता
सुर्खेत, १५ वैशाख ।
वीरेन्द्रनगर–६, जुम्लारोडका एक दम्पत्तीले आफूहरूको विवाह उत्सवको अवसरमा दृष्टिविहीनलाई सहयोग गरेका छन् । सिया कार्की प्रधान र सुवेन्द्र प्रधानले वीरेन्द्रनगर–८ बसपार्क नजिक बस्दै आएका दृष्टिविहीन टिकामाया रेग्मीलाई सहयोेग गरेका हुन् ।
सिया कार्की प्रधानले रेग्मीकै घरमा पुगेर कपडा, खाद्यन्न, नगद एक हजार सहयोग गरेकी हुन् । सुर्खेत महिला जेसीज वर्ष २०१९ को अध्यक्षसमेत रहेकी प्रधानले भड्किलो खर्च गर्नुभन्दा सामाजिक सेवा गरेको बताइन् । ‘हामीले थोरै भए पनि उहाँलाई सहयोग पुग्छ भन्ने उद्देश्यले सहयोग गरेका हौं’ उनले भनिन्, ‘यसले उहाँलाई थोरै भए पनि सहयोेग पुग्छ भन्ने आशा गरेका छौं ।’ यस्तै प्रधानले अर्का दृष्टिविहीन सोमना खड्काको छोरीका लागि विद्यालय पोसाक र किताब खरिदका गर्न तीन हजार रूपैयाँ पनि सहयोग प्रदान गरेकी छिन् ।
साझा बिसौनी ।