पुरस्कार अनाथ बालबालिकालाई

साझा बिसौनी संवाददाता
सुर्खेत, १५ वैशाख ।
एसओएस हर्मन माइनर विद्यालय कालागाउँमा कक्षा ९ मा अध्ययनरत छात्रा शेष्ना सिर्पालीले नेपालगन्जमा भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्राप्त पुरस्कार आफ्नै विद्यालयका दुई अनाथ विद्यार्थीलाई प्रदान गरेकी छन् । आइतवार विद्यालयमा सिर्पालीसहित उनका बाबु शेरबहादुर सिर्पाली, आमा शान्ती सिर्पालीले विद्यालयका निमित्त प्राचार्य रमेश बुढासहित अन्य शिक्षकहरूको रोहवरमा नगद चार हजार प्रदान गरेकी हुन् ।
प्रतियोगितामा एक सय मिटर दौडमा सान्त्वना भए वापत सिर्पालीले नगद पाँच हजार पुरस्कार प्राप्त गरेकी थिइन् । एक हजार गाडी भाडामा खर्च भएको र बाँकी चार हजार उनले विद्यालयका अनाथ र कमजोर आर्थिक अवस्था भएका दुई जनालाई शैक्षिक सामग्रीका लागि सहयोग गरेकी हुन् । छात्रा सिर्पालीका आमा शान्तीले सानै उमेरबाट समाजसेवातर्फ उन्मूख भएकोमा खुशी व्यक्त गरिन् ।
विद्यालयका निमित्त प्राचार्य बुढाले छात्रा सिर्पालीले दिएको रकम ग्रहण गर्दै समाज सेवाको संस्कारको सुरुवात भएकोमा यसलाई निरन्तरता दिन सुझाव दिएको विद्यालयका शिक्षक महेन्द्रकुमार चन्दले जानकारी दिए ।

प्रकाशित मितिः   १६ बैशाख २०७६, सोमबार ११:४९