पानी उत्पादन कम्पनीमा शिलबन्दी

साझा बिसौनी संवाददाता
सुर्खेत, १५ वैशाख ।
सुर्खेतमा सञ्चालन भएका दुई वटा पिउने पानी उत्पादन गर्ने कम्पनी शिलबन्दी भएका छन् । खाद्य निरीक्षक भेषबहादुर थापाको नेतृत्वमा गएको अनुगमन टोलीले मध्यपश्चिम वाटर एण्ड वेभरेज इण्डष्ट्रिज प्रा.लि. औद्योगिक क्षेत्र सुर्खेत र देउती दर्शन वाटर एण्ड वेभरेज इण्डष्ट्रिज प्रा.लि. पिपिरा सुर्खेतमा शिलबन्दी गरेको हो ।
मापदण्ड विपरित सञ्चालन गरेको र गुणस्तरीय पानी उत्पादन नभएकोले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भएको हुँदा पानी उत्पादन गर्ने कम्पनीमा शिलबन्दी गर्नुपरेको खाद्य निरीक्षक भेषबहादुर थापाले बताए । पिउने पानी सम्बन्धी निर्देशिका २०७४ बमोजिम मापदण्ड पूरा गरेर कम्पनी सूचारुका लागि निवेदन दिएमा पुनः अनुगमन गरी कम्पनी सञ्चालन गर्न दिने निरीक्षक थापाको भनाइ थियो ।
अनुगमनका क्रममा अनुज्ञा–पत्र नवीकरण नगरेको, फुड ग्रेटको बोटल, जार र बिर्को प्रयोग नभएको, पानी प्रशोधन कक्षको भुइँ तथा भित्तामा सजिलै सफा गर्न मिल्ने टायल वा सामग्री प्रयोग नगरेको, कामदारको व्यक्तिगत सफाइमा समेत ध्यान नदिएको जस्ता मापदण्डहरू पूरा नगरेकोले कम्पनी सञ्चालनमा रोक लगाइएको निरीक्षक थापाले बताए ।
अनुगमनमा जिल्ला प्रशासन कार्यालय सुर्खेत, वीरेन्द्रनगर नगरपालिका, नापतौल कार्यालय, उपभोक्ता हकहित संरक्षण मञ्च तथा पत्रकारको समेत उपस्थिति रहेको थियो ।

Loading...