नेपाल टेलिभिजनको प्रदेश कार्यालय स्थापना

साझा बिसौनी संवाददाता
सुर्खेत, १५ वैशाख ।
नेपाल टेलिभिजन कर्णाली प्रदेश ब्यूरो कार्यालयको वीरेन्द्रनगरमा स्थापना गरिएको छ । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले आइतवार कार्यालयको उद्घाटन गरेका हुन् ।
रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र सुर्खेतका प्रांगणमा नेपाल टेलिभिजनको ब्यूरो कार्यालयको उद्घाटन गर्दै मन्त्री भण्डारीले सरकारका सञ्चार माध्यमलाई साझारूपमा विकास गरी जनतालाई भरपर्दो सूचना प्रवाह गराउन प्रदेश हरेक स्तरबाट सहयोगका लागि तयार रहेको बताए । उनले कर्णाली प्रदेशमा प्रचुर सम्भावना रहेकाले यहाँको भ्रष्टाचार, बेथिति, विकृती विसंगतिविरुद्ध उभिएर विकास र समृद्धिको माहौल बनाउन सतही भन्दा खोज तथा अनुसन्धानमूलक समाचार प्रसारण गरी दिन सञ्चारमाधयमसँग आग्रह पनि गरे ।
कार्यक्रममा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र विष्टले नेपाल टेलिभिजनलाई नागरिकसँग सिधा जोड्नका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारसँग समन्यव गरी विकास तथा समृद्धिसँग केन्द्रीत गर्न प्रादेशिक संरचना अन्तर्गत प्रदेश कार्यालय सुर्खेतमा विस्तार गरिएको बताए । नेपाल टेलिभिजनका महाप्रबन्धक गोविन्द रोक्काले देश संघीय संरचनामा गएसँगै नेपाल टेलिभिजनले आफूलाई अझ बढी जनतामुखी र जवाफदेहिता बहन गर्न ब्यूरो कार्यालय विस्तार गरिएको बताए ।
कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकाल, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्ष दुर्गा थापा, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मितिः   १६ बैशाख २०७६, सोमबार ११:४७