‘तेस्रो लिङ्गीका अधिकार सुनिश्चित गर्छौं’

साझा बिसौनी संवाददाता
सुर्खेत, ८ वैशाख ।
कर्णाली प्रदेश सरकारले निर्माण गर्ने स्वास्थ्य विधेयकमा तेस्रो लिङ्गीहरूलाई समेट्ने प्रतिबद्धता कर्णाली प्रदेशका सांसदहरूले गरेका छन् ।
सांसद कौशीलावती खत्रीले नेपालको संविधानले समेत तेस्रो लिङ्गिहरूको लागि अधिकारको सुनिश्चितता गरेको बेला कर्णाली सरकारले सो कुरालाई ध्यानमा राखी स्वास्थ्य विधेयक बनाउने बताईन । उनले भनिन्, ‘कर्णाली प्रदेश सरकारले स्वास्थ्य विधेयकको ड्राफ्ट मात्रै बनाएको छ । सदनबाट पास भएको छैन । हामीहरूले विधेयकभित्र के छ भनेर हेर्छौ र तेस्रो लिङ्गीहरूको कुरा छुटेको खण्डमा समावेश गर्न लगाउँछौ ।’ तेस्रो लिङ्गी पनि यही समाजका नागरिक हुन् भन्ने खालको अनुभूति सरकारले गराउन सक्नुपर्ने उनको भनाइ थियो ।
अर्की सांसद पद्मा खड्काले आफूहरूले स्वास्थ्य विधेयक अध्ययन गर्न नपाएको र सभामा टेबुल भएपछि प्रक्रिया अनुसार संशोधन हालेर भए पनि तेस्रो लिङ्गीको अधिकारलाई सुनिश्चित गर्ने बताइन् । कर्णाली ग्रामीण उत्थान तथा समाज विकास केन्द्र (सीडीएस्) पार्क मुगुले कर्णालीमा बन्ने स्वास्थ्य विधेयक कस्तो हुने भन्ने विषयमा आइतवार वीरेन्द्रनगरमा गरेको छलफलमा सहभागी सांसदहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
कार्यक्रममा कर्णाली प्रदेशसभा अन्तर्गतको सामाजिक विकास समितिका सदस्यहरूको सहभागिता रहेको थियो । समितिका अध्यक्ष राजु नेपालीले संविधानलाई टेकेर आफूहरूले तेस्रो लिङ्गीहरूको अधिकार सुनिश्चित गर्ने बताइन् । कार्यक्रममा सांसद ठम्मर विष्ट, सुशील थापा, रातो कामी लगायतले पनि तेस्रो लिङ्गीहरूको अधिकार कानुनमै सुनिश्चित गर्न पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित मितिः   ९ बैशाख २०७६, सोमबार १५:२६