कर शिक्षा दिन माग

सुर्खेत, ८ वैशाख । (साबिस)
कर शिक्षाबारे अनभिज्ञ हुँदा आफूहरूले हैरानी खेप्नुपरेको भन्दै वीरेन्द्रनगरका व्यवसायीहरूले कर शिक्षा दिन माग गरेका छन् । ऋति फाउण्डेसनको आयोजनामा आइतवार वीरेन्द्रनगरमा भएको ‘सवाल उद्यमीको’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी व्यवसायीहरूले कर शिक्षा अपरिहार्य रहेको बताएका हुन् ।
कर कार्यालय र व्यवसायिका बीच समधुर सम्बन्ध स्थापना गर्न स्थानीय तह वा उद्योग वाणिज्य संघले कर शिक्षा सञ्चालन गर्नुपर्ने उनीहरूको भनाइ थियो । ‘वास्तवमा कर कार्यालय र हामीबीच समधुर सम्बन्ध हुनुपर्ने हो, तर अहिले कर कार्यालय हाम्रो
लागि हाउँगुजी जस्तो भएको छ’ वीरेन्द्रनगर–१ का व्यवसायी दिनेश खत्रीले भने । वीरेन्द्रनगरमा व्यवस्थित पार्किङ्गस्थल हुन नसक्नु पनि व्यवसायीहरूको लागि समस्या रहेको कार्यक्रमका सहभागीहरूको भनाइ थियो । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले सामाजिक क्षेत्रमा नगरपालिकाको यो साल चार करोड २३ लाख खर्च भए पनि उपलब्धी नदेखिएको बताए । व्यवसायी कमल शर्माले बजारमा स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको बताए ।

प्रकाशित मितिः   ९ बैशाख २०७६, सोमबार १५:२६