केही दुःख, केही रमाइलो

वीरेन्द्रनगर–८ सुर्खेत निवासी प्रेमप्रसाद रेग्मी पूर्व शिक्षक हुन् । बुबा धनेश्वर रेग्मी र आमा धर्मशिला रेग्मीको सन्तानका रुपमा वि.सं. २०१४ चैत ११ गते सिम्ता गाउँपालिकाको वडा नम्बर ४ बजेडीचौरमा जन्मिए । करिब ३४ वर्ष शिक्षण पेसा गरेका रेग्मीले हाम्रा सहकर्मी मुना हमालसँग आफ्नो बाल्यकालको सम्झना यसरी साटेः

हामी चार भाइ–बहिनी । एक जना दाइ हुनुहुन्छ । एक जना दिदी र बहिनी ।
म करिब सात वर्षको हुँदा बुबाको निधन भयो । त्यसपछि चार छोराछोरीको जिम्मेवारी एक्ली आमाको काँधमा आइप¥यो । हामी भाइबहिनी सबै सानै थियौं । ठूलो दाइ १३ वर्षको हुन्नुहुन्थ्यो । हामी सानै भएकाले आमाले हामीलाई हुर्काउन र पढाउन धेरै संघर्ष गर्नुप¥यो ।
आमाको मायाममताले हामी हुर्कियौं । उहाँले आमाबुबाको दुवैको माया दिनुभयो ।
मैले प्राथमिक शिक्षा भानु प्राथमिक विद्यालयमा पढें । कक्षा ६ पढ्ने बेलासम्म मेरो पढाइ राम्रो थियो । कमाउने एक्लो आमा मात्र हुनुहुन्थ्यो । गाइभैंसी नपालेसम्म र खेती नगरेसम्म घरखर्चदेखि सबै पु¥याउन समस्या हुन्थ्यो । यति दुःख हुँदाहुँदै पनि आमाले हामीलाई पढाइरहनुभएको थियो ।
हामी सबै भाइबहिनी पढ्ने भएकाले खर्च पु¥याउन समस्या हुन्थ्यो । म कक्षा ६ मा पढ्ने बेलामा आमा एक्कासी बिरामी पर्नुभयो । त्यसकारण मेरो पढाइ एक वर्ष रोकियो । दिदीको बिवाह भइसकेको थियो । दाइ अलि ठूलो कक्षामा पढ्ने भएकाले पढाइलाई निरन्तरता दिनुभयो । पछि दाईले कक्षा ९ मा पढेपछि शिक्षक बन्नुभयो । दाइले जागिर गर्न थालेपछि एक वर्षदेखि रोकिएको पढाइलाई मैले फेरि निरन्तरता दिन पाएँ । उहाँले जागिर गरेपछि हामीलाई पढ्न सजिलो भयो । सानै उमेरमा एक वर्ष पढाइ रोकिएपछि फेरि पढ्न समस्या भयो । तर विस्तारै बानी पर्दै गएँ । भानुमाविमा कक्षा ५ देखि पढें । मैले पनि टेष्ट पास गरेपछि जागिर गर्न थालें । सुरुमा मुखियाको जागिर गरें । त्यसपछि शिक्षक भएँ । एसएलसी त मैले २६ वर्षको उमेरमा पास गरेको हुँ ।
आमाले मलाई असाध्यै माया गर्नुहुन्थ्यो । म आमाको आज्ञाकारी छोरा थिएँ । आमाले गलत काम नगर्नु भनेर सचेत गराइरहनुहुन्थ्यो । आमाले भनेको जुनसुकै कुरा पनि मैले मान्थें । काम सरासर गर्थें । तर कहिले काँही बदमासी पनि गरियो । एक पटक खेल्दाखेल्दै रात प¥यो । आमा घरमा हुनुहुन्थेन । तत्कालीन एमालेका नेता स्व. ऋषि शर्मा र म मामा–फुपुका छोरा हौं । उहाँ हाम्रो घरमा घरमा बसेर पढ्नुहुन्थ्यो । दुवै भाइ दिनभरी खेल्यौं । गाइभैंसीलाई घाँस काट्नै झुलेछौं । साँझ परेपछि छिमेकीको पराल चोरेर ल्यायौं । दुई दिनलाई पुग्नेसम्म चोरेछौं । पछि दाईले थाहा पाएर गाली गर्नुभयो । गाउँमा बेलौती, काँक्रा लगायतका फलफूल चोरेर खाइन्थ्यो । बाल्यकालमा साथीहरुसँग रमाइलो गर्ने, खेल्ने बढी हुन्थ्यो । डण्डीबियो, कपर्दी, खोपी खेल्ने गथ्र्यौं । बाल्यकालमा सबैभन्दा बढी त खोपी नै खेलियो । खेल्न जाँदा दाइले प्रायः मलाई लैजानुहुन्थेन । कहिले काहीं भने लैजानुहुन्थ्यो ।
पहिले पढेर अहिलेको जस्तो डाक्टर बन्छु, अथवा अरु केही बन्छु भनेर कुनै लक्ष्य निर्धारण हुँदैनथ्यो । त्यस बेलामा जागिर खानुपर्छ भन्ने हुन्थ्यो । प्राय पढेर शिक्षक भएकाले शिक्षक बन्नुपर्छ भन्ने लाग्थ्यो । घरमा सबै काम गर्नुपर्ने हुन्थ्यो । घाँस काट्ने, भैंसी दुहुने, घरका अन्य सबै काम गरेर मात्र विद्यालय जान पाइन्थ्यो । कहिले काहीं काम नसकेपछि विद्यालय जान पाइदैंनथ्यो । म सानोमा सोझो, कसैले केही जवाफ सोधेको बेलामा तत्काल जवाफ दिने, अन्याय विरुद्ध बोल्ने, तार्किक कुरा गर्ने स्वभावको थिएँ ।
बाल्यकालमा चाडपर्व विशेष लाग्थे । नयाँ कपडा लगाउन पाइने, आफन्तको घरमा गएर मिठो खाने र भेट्ने अवसर मिल्ने भएकाले पनि सानो छँदा बाल्यकाल विशेष लाग्ने रहेछ ।
तीज र तिहार अझै रमाइलो लाग्थ्यो । तीजका बेलामा गाउँमा एक महिनासम्म नाच्ने गर्थे । रातिको समयमा रमाइलो हेर्न जान्थ्यौं । तिहारको समयमा पनि उत्तिकै रमाइलो लाग्थ्यो । सिंगारु नाँच्थे । रमाइलो हुन्थ्यो । चाडपर्व सकिने बेलामा शरिरको कुनै एउटा अङ्ग नै झ¥यो की भन्ने लाग्थ्यो । बाल्यकालमा रमाइलो पनि भयो । केही दुःख र संघर्ष पनि भयो । समग्रमा भन्नुपर्दा व्यवहारिक जीवनमा नै बाल्यकाल बित्यो ।

प्रकाशित मितिः   ९ बैशाख २०७६, सोमबार १५:२५