लाखौं खर्च, आम्दानी शून्य

साझा बिसौनी संवाददाता
सुर्खेत, ८ वैशाख ।
कर्णाली प्रदेश सरकारले गत वर्षको वैशाख एक गते मुगुको राराताल किनारबाट निकै तामझामका साथ कर्णाली–रारा पर्यटन वर्ष–२०७५ घोषणा ग¥यो । प्रधानमन्त्री केपी शर्मा ओलीदेखि संघीय सरकारका मन्त्रीसम्म रारा पुगे । नयाँ वर्षसँगै राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन हुने भएपछि सबैको ध्यान रारामै केन्द्रित रह्यो ।


पाँच लाख पर्यटन भित्र्याउने लक्ष्य लिइएको पर्यटन वर्ष व्यवस्थापन कमजोरीका कारण खर्च पारदर्शी हुन सकेन । प्रदेशसभाको संसदीय समितिदेखि अख्तियार दुरूपयोग अनुसन्धानमा समेत खर्चको विवरण माग गरियो । २०७४ फागुन ६ गते पर्यटन वर्ष मनाउने निर्णय गरेको सरकारले चैत २८ गते ३९ लाख रूपैयाँ विषयगत मन्त्रालयलाई जिम्मेवारी बाँडफाँड गरी अख्तियारी दिएको थियो । तर, मन्त्रालयले एक वर्षको अवधिमा पनि यथार्थ खर्च विवरण निकाल्न सकेन । हालै महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको खर्च विवरणलाई नै मन्त्रालयले आधिकारिक खर्च भएको भन्दै पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । जसअनुसार पर्यटन वर्ष उद्घाटनमा मात्रै ७८ लाख १६ हजार ९६ रूपैयाँ खर्च भएको छ ।
लाखौं रूपैयाँ खर्च गरिएको उद्घाटन गरिएको पर्यटन वर्षबाट प्रदेश सरकारलाई आम्दानी भने शून्य भएको छ । पर्यटन वर्षकै कारण विगतका वर्षभन्दा ३४ दशमलब २ प्रतिशत पर्यटक बृद्धि भएको दाबी सरकारको छ । तर, पर्यटकहरू कर्णालीमा आउँदा प्रदेश सरकारलाई भने आर्थिक लाभ नभएको उद्योग, पर्यट, वन तथा वातावरण मन्त्रालयका सचिव धिरेन्द्रकुमार प्रधानले बताए । २०७५ सालमा सुर्खेतमा देउतीबज्यै, काँक्रेविहार, बुलबुले ताल लगायतका पर्यटकीय स्थलहरूमा आन्तरिक एक लाख ६२ हजार आठ सय ६१ जना, बाह्य ६ सय ५४ जना पर्यटकले अवलोकन गरेका छन् । पर्यटक आगमन सर्वेक्षण–२०७५ को तथ्यांक अनुसार दैलेखमा ३८ हजार ६ सय ६८ आन्तरिक र १४ जना बाह्य, जाजरकोटमा ५८ हजार आठ सय ६५ जना आन्तरिक तथा सात जना बाह्य पर्यटकहरू पर्यटकीय स्थलमा पुगेका छन् । पश्चिम रुकुममा ६ हजार ६ सय ५८ आन्तरिक र १३ जना बाह्य, सल्यानमा ३६ हजार एक सय ५० र नौ जना बाह्य, कालिकोटमा ३१ हजार तीन सय ५७ आन्तरिक तथा २१ जना बाह्य पर्यटकहरू पुगेका छन् ।
यसैगरी ७७ हजार सात सय १४ जना आन्तरिक पर्यटकले जुम्लाका पर्यटकीयस्थलमा अवलोकन गरेका छन् भने ६२ जना विदेशी पर्यटक पुगेका छन् । सर्वेक्षण अभिलेख अनुसार मुगुमा १३ हजार सात सय ९५ जना आन्तरिक तथा तीन सय ३४ जना पर्यटक पुगेका छन् भने हुम्लामा सबैभन्दा बढी बाह्य पर्यटकहरू पुगेका छन् । १७ हजार चार सय ८९ जना विदेशी पर्यटकहरू हुम्ला पुगेको अध्यागमन विभागको अभिलेखमा छ । हुम्लाका पर्यटकीय स्थलहरूमा २० हजार पाँच सय ४५ पर्यटकहरू पुगेका छन् । डोल्पामा आठ हजार तीन सय ५४ जना आन्तरिक र दुई हजार ६ सय ८८ जना विदेशी पर्यटकहरू पुगेका छन् । गतवर्ष कर्णालीका १० जिल्लामा २१ हजार दुई सय ९१ बाह्य र चार लाख ५४ हजार आठ सय ६४ जना आन्तरिक गरी चार लाख ७६ हजार एक सय ५५ जना पर्यटकहरूले पर्यटकीय क्षेत्रको अवलोकन गरेका छन् ।
बढी भन्दा बढी विदेशी पर्यटक कर्णालीमा भिœयाउने र आम्दानी बृद्धि गर्ने लक्ष्य प्रदेश सरकारले लिएको थियो । तर, आन्तरिक र बाह्य गरी साढे चार लाख बढी पर्यटकले कर्णाली घुम्दा प्रदेश सरकारले एक रूपैयाँ पनि आम्दानी गर्न सकेन । ‘मुगुको रारा र डोल्पाको से–फोक्सुण्डो ताल अवलोकनका लागि पुगेका पर्यटकबाट संकलन भएको राजश्व केन्द्र सरकारमा गएको छ, अन्य पर्यटकीय स्थलहरूबाट संकलन भएको राजश्वको स्थानीय सरकारले लाभ लिएका छन्’ मन्त्रालयका सचिव प्रधानले भने, ‘हालसम्म मन्त्रालयले एक रूपैयाँ पनि पर्यटकीय स्थलबाट संकलन भएको राजश्व प्राप्त गरेको छैन ।’ मन्त्रालयले आन्तरिक र बाह्य पर्यटकहरूबाट कर्णालीमा आम्दानी कति भयो भन्नेसमेत विवरण राख्न सकेको छैन । सचिव प्रधानका अनुसार कर्मचारी, संरचना लगायतका अभावका कारण पर्यटन वर्ष अपेक्षा अनुसार भएन ।
अर्थमन्त्रीले हचुवामा बोलेः मन्त्री बुढा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले अर्थमन्त्री प्रकाश ज्वालाले हचुवाका भरमा खर्च विवरण सार्वजनिक गरेको आरोप लगाएका छन् । आइतवार मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा उनले अर्थमन्त्रीले पर्यटन मन्त्रालयसँग समन्वयन नै नगरी कर्णाली–रारा पर्यटन वर्षको खर्च विवरण सार्वजनिक गरेको बताएका हुन् ।
‘अर्थमन्त्रीबाट कर्णाली–रारा पर्यटन वर्षको खर्चको गलत विवरण गयो, विषयगत मन्त्रालयसँग समन्वय नै गरिएन’ मन्त्री बुढाले भने, ‘खर्च गर्ने मन्त्रालयले विवरण दिएको भए यथार्थ खर्च जान्थ्यो, कुनै अनियमितता र भष्टाचार भएको छैन ।’ प्रतिपक्षले दल नेपाली कांग्रेसले कर्णाली–रारा पर्यटन वर्षको उद्घाटनमा भएको खर्च विवरण माग गरेसँगै आर्थिक मामिला तथा योजनामन्त्री ज्वालाले अपुरो खर्च विवरण संसदमा पेश गरेका थिए । उनले पहिलो पटक सार्वजनिक गरेको खर्च विवरण अनुसार पर्यटन वर्ष उद्घाटनमा मात्रै ४९ लाख ४१ हजार सात सय ९५ रूपैयाँ खर्च भएको थियो ।
पर्यटन मन्त्री बुढाले दोस्रो पटक सार्वजनिक लेखा समितिलाई ७८ लाख १६ हजार रूपैयाँ खर्च भएको विवरण बुझाएका थिए । सदनमा सरकारको तर्फबाट मन्त्रीले दिएको विवरण र पर्यटन मन्त्रीले समितिलाई बुझाएको विवरणमा एकरूपमा नदेखिएपछि संसदीय समितिले झण्डै पाँच महिना लगाएर उप–समितिमार्फत् अध्ययन गरेको थियो । प्रदेश सरकारले विना मापदण्ड र सार्वजनिक खरिद ऐन विपरित बजेट खर्च गरेको निश्कर्ष समितिले निकालेको थियो । तर, सरकारले महालेखा परीक्षकको कार्यालयले देखाएको खर्च नै आधिकारि मानेको छ । जस अनुसार ७८ लाख १६ हजार ९६ रूपैयाँ ५६ पैसा खर्च भएको छ ।
मन्त्रालयको तथ्यांक अनुसार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले खाद्य तथा कोशेली व्यवस्थापनमा २८ लाख ६५ हजार आठ सय १० रूपैयाँ, सामाजिक विकास मन्त्रालयले प्रचार–प्रसार तथा स्वास्थ्य व्यवस्थापनमा १० लाख ११ हजार चार सय २८ रूपैयाँ खर्च गरेको छ । पर्यटन महोत्सव व्यवस्थापनमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले १६ लाख ५८ हजार ५४ रूपैयाँ, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आवास तथा सुरक्षामा चार लाख ६२ हजार चार सय ६८ रूपैयाँ, भौतिक पूर्वाधार विकास मन्त्रालयले अतिथी सत्कार तथा सवारी व्यवस्थापनमा १० लाख ९३ हजार तीन सय ६० रूपैयाँ खर्च गरेको छ । कार्यक्रम समन्वयमा मुगु जिल्ला समन्वय समितिको कार्यालयले सात लाख २४ हजार नौ सय ७६ रूपैयाँ खर्च गरेको पर्यटन मन्त्रालयले जनाएको छ ।

प्रकाशित मितिः   ९ बैशाख २०७६, सोमबार १५:२७