खण्डीकरण रोक्न मापदण्ड बनाइदै

साझा बिसौनी संवाददाता
सुर्खेत, २७ फागुन ।
पञ्चपुरी नगरपालिकाले खेतीयोग्य जमिनको खण्डीकरण रोक्नका लागि मापदण्ड बनाउने भएको छ । नगरपालिका बनेसँगै पञ्चपुरीमा खेतीयोग्य जमिनको अव्यवस्थित रूपमा खण्डीकरण हुन थालेपछि त्यसलाई रोक्न मापदण्ड बनाएर लागू गर्न लागिएको हो ।
भवन निर्माण कार्यलाई व्यवस्थित गर्ने, कृषियोग्य जमिनको खण्डीकरण रोक्ने र पञ्चपुरीलाई व्यवस्थित सहरको रूपमा विकास गर्ने लक्ष्यसहित नगरपालिकाले मापदण्ड बनाउन लागेको हो । यसका लागि सहरी विकास योजना तथा भवन निर्माण मापदण्ड–२०७५ तयार पारिएको छ । उक्त मापदण्ड आइतवारदेखि सुरु चौथो नगरसभामा पेश गरिएको छ । नगरसभाबाट पारित भएपछि उक्त मापदण्ड लागू गरिनेछ ।
पछिल्लो समय सहरीकरण हुँदै गएको पञ्चपुरीलाई व्यवस्थित गर्न शहरी योजना तथा भवन निर्माण मापदण्ड तयार गर्न लागिएको नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापाले जानकारी दिए । प्रस्तावित मापदण्ड पारित भएमा नगर क्षेत्रमा जमिनको कित्ताकाँट गर्दा कम्तिमा १० मिटर अनिवार्य हुनुपर्नेछ । ‘विगतमा ५ मिटर घडेरी खरिद गर्दा नगरका भित्री क्षेत्रमा सडक विस्तार गर्न समस्या भएको छ’ नगर प्रमुख थापाले थपे, ‘सहरको आकर्षक पक्ष भनेकै सडक हो त्यसैले व्यवस्थित सडकका लागि मापदण्ड अनिवार्य गरिने छ ।’ नगरपालिकाले अन्तरप्रदेश जोड्ने सडकको क्षेत्र ३० मिटर र अन्तरपालिका जोड्ने सडकको क्षेत्र २० मिटर छोड्नुपर्ने मापदण्ड बनाउन प्रस्ताव गरेको छ ।
मापदण्ड तयार गरेपछि नगर क्षेत्रमा भवन निर्माणमा एकरूपता आउनुका साथै कृषि योग्य जमिन खण्डीकरणमा रोक लाग्ने छ । नगरपालिकाले समथर क्षेत्रमा १० मिटर र पहाडी क्षेत्रमा ८ मिटरदेखी तलका सडक निर्माण नगर्न यसअघि नै निर्देशन दिइएको थियो ।
‘देशका ठूला सहरहरूले अहिले साँघुरा सडकका कारण सास्ती झेल्नुपरेको छ’ नगर प्रमुख थापाले भने, ‘सहर विकासको क्रममा रहेको नगरपालिकाले त्यो अवस्था झेल्न नपरोस् भनेर मापदण्ड अहिले नै बनाउन लागेका हौं ।’
यसैगरी सभाले लेखा समिति र बालविवाह बिरुद्ध कार्यक्रम संचालन खर्च तथा मर्मत सम्भार कोष सञ्चालन कार्यविधि पारित गरेको छ । यस्तै, शिक्षा नियमावली २०७५ पारित गरेको छ भने, विनियोजन ऐन तथा कार्यक्रम संशोधन तथा परिमार्जन गरेको जनाइएको छ ।

प्रकाशित मितिः   २८ फाल्गुन २०७५, मंगलवार १४:३४