माग दुई सय, आवेदन दुई हजार
साझा बिसौनी संवाददाता
सुर्खेत, २७ फागुन ।
कर्णाली प्रदेशमा स्वयम्सेवक बनेर काम गर्नका लागि दुई हजार भन्दा बढी युवाहरू इच्छुक भएका छन् । प्रदेश सरकारले माग गरेका दुई सय २७ जना स्वयम्सेवकका लागि दुई हजार एक सय २३ जनाले आवेदन दिएका छन् ।
सरकारले पहिलो चरणमा कर्णालीका १० जिल्लाका लागि विभिन्न प्राविधिक क्षेत्रका स्वयम्सेवक माग गरेको थियो । जसमा हेल्थ असिस्टेन्टमा एक सय १५, अहेवमा आठ सय ५३, स्टार्फ नर्समा ३५, अनमीमा दुई सय १९, रेडियो ग्राफरमा ६ जना, ल्याव असिस्टेन्टमा एक सय ६५, प्रशिक्षकमा १८ जना, सिभिल इन्जिनियर सात जना, सिभिल सव–इन्जिनियरमा ८६, असिस्टेन्ट सव इन्जिनियरमा एक सय नौ जनाले आवेदन दिएका छन् । यस्तै भूगर्वविद्मा दुई जना, कृषि जेटिएमा तीन सय ३३, भेटनेरी जेटीएमा एक सय ७५ जनाबाट आवेदन परेको तालिम केन्द्र सुर्खेतका प्रमुख धर्मजित शाहीले जानकारी दिए । उनका अनुसार सरकारले आवेदकहरूलाई आगामी चैत्र ३ गते अन्तर्वार्ताका लागि बोलाएको छ ।
सम्बन्धित जिल्लाबाट आवेदन भरेका उम्मेदवारहरूको अन्तर्वार्ता १० वटै जिल्ला सदरमुकाममा हुनेछ । शैक्षिक तालिम केन्द्र सुर्खेतले आइतवार प्रकाशन गरेको सूचना अनुसार जिल्ला समन्वय समितिको कार्यालयमा स्वयम्सेवकहरूको अन्तरवार्ता हुनेछ । सुर्खेतको हकमा भने शौक्षिक तालिम केन्द्रमा नै अन्तर्वार्ता लिइनेछ । उनले मेडिकल अफिसरमा आवेदन नपरेको बताए । ‘मेडिकल अफिसरका लागि आवेदन शून्य छ’ उनले भने । फागुन १० गतेदेखि २५ गतेसम्मको म्याद दिएर सरकारले १० जिल्लाबाट अनलाइनमार्फत् स्वयम्सेवा गर्न इच्छुक व्यक्तिबाट आवेदन माग गरिएको थियो । प्राविधिक र अप्राविधिकतर्फ स्वयम्सेवक परिचालन गर्ने योजना बनाएको मन्त्रालयले पहिलो चरणमा प्राविधिकतर्फ स्वयम्सेवक माग गरेको हो ।
प्रदेश सरकारले ‘क’ वर्गका डोल्पा, मुगु र हुम्ला जिल्लामा २८÷२८ जना स्वयम्सेवक परिचालन गर्ने तयारीमा छ । ‘ख’ वर्गको जुम्ला र कालिकोट जिल्लामा २४÷२४ जना र जाजरकोटमा २३ जना स्वयम्सेवकको दरबन्दी कायम गरिएको छ । यस्तै, ‘ग’ वर्गका पश्चिम रुकुम र दैलेखमा २१÷२१ जना र सल्यान जिल्लामा १८ जना स्वयम्सेवक परिचालन गर्नेछ । सुर्खेतमा भने १५ जना स्वयम्सेवक परिचालन हुनेछन् ।
कार्यविधि अनुसार प्रदेश सरकारले स्वयम्सेवकलाई जीवन निर्वाह भक्ता दिनेछ । वर्गीकरण गरिएको जिल्ला अनुसार नै भत्ता वितरण गरिनेछ । स्वयम्सेवकको योग्यता र विकटताका आधारमा सरकारले जीवन निर्वाह भत्ता निर्धारण गरेको छ । स्नात्तकोत्तर उत्र्तीण भएको प्राविधिक र अप्राविधितर्फको स्वयम्सेवकले १९ हजार आठ सयदेखि २२ हजार दुई सयसम्म भत्ता पाउनेछन् । यस्तै, स्नातक तह उत्तीर्ण गरेका प्राविधिक स्वयम्सेवकले १९ हजार दुई सय देखि २१ हजार ६ सयसम्म भत्ता पाउने व्यवस्था कार्यविधिले गरेकोे छ । अप्राविधिक स्वयम्सेवकले १८ हजारदेखि २० हजार चार सयसम्म भत्ता पाउनेछन् । उच्च माध्यमिक तह वा सो सरह उत्तीर्ण गरेका प्राविधिकतर्फका स्वयम्सेवकले १५ हजार ६ सयदेखि १८ हजार र अप्राविधिकले १५ हजारदेखि १७ हजार चार सयसम्म भत्ता पाउने कार्यविधिमा उल्लेख छ । यस्तै, प्रवेशिका परीक्षा उत्तीर्ण गरेका प्राविधिकहरूका लागि १४ हजार चारसयदेखि १६ हजार आठ सयसम्म भत्ता तोकिएको छ । कार्यविधिमा वर्गीकरण गरिएको जिल्ला अनुसार नै भत्ता निर्धारण गरिएको हो ।
जिल्लास्थित कार्यालय तथा स्थानीय तहमा कार्यरत स्वयम्सेवकले प्रत्येक महिनाको हाजिरी र मासिक रूपमा गरेको कार्यसम्पादनको प्रतिवेदन कार्यालय प्रमुखबाट प्रमाणित गराइ अनिवार्य रूपमा सचिवालयमा पठाउनुपर्नेछ । सोही आधारमा भत्ता उपलब्ध गराइनेछ ।
स्वयम्सेवकले वर्षमा २० दिन वार्षिक र आफ्नो रित र परम्परा अनुसार बढीमा १५ दिन किरिया बिदा पाउनेछन् । स्वयम्सेवक संयोजकले मासिक पाँच हजार संयोजक भत्ता पाउनेछ भने स्वयम्सेवकलाई चाडपर्व खर्च वापत वार्षिक रूपमा एकमुष्ट १० हजार प्रदान गरिनेछ । कार्यकारी समितिले स्वयम्सेवकको नियुक्ति गर्ने र १५ दिनभित्र नियुक्ति–पत्र नबुझे स्वतः रद्द हुनेछ । नियुक्त भइ न्यूनतम ६ महिना काम गरे पश्चात् मात्र प्रदेश सरकारले अनुभवको प्रमाण–पत्र दिनेछ ।
साझा बिसौनी ।