दलितमैत्री नीति बनाउने प्रतिबद्धता
साझा बिसौनी संवाददाता
सुर्खेत, २७ फागुन ।
कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलित सांसदहरूले आफ्नो समुदायका लागि आवश्यक कानुन निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल कम्युनिष्ट पार्टी
(नेकपा) को जनवर्गीय संगठन मुक्ति समाज नेपाल र दलित मुक्ति मोर्चाको सयुक्त आयोजनामा भएको प्रादेशिक दलित नीति विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
कर्णालीमा रहेको कूल जनसंख्याको २३ दशमलब २५ प्रतिशत जनसंख्या ओगटेको दलित समुदायको शिक्षा, स्वास्थ, रोजगारको अवस्था अत्यन्तै न्यून रहेको भन्दै सांसदहरूले नीति निर्माण गर्दा दलित समुदायका अगुवा र सरोकारवालाहरू सँग समन्वय गरेर जनचाहाना बमोजिमको नीति बनाउने सामूहिक अठोट गरेका हुन् । कर्णालीका दलित समुदाय भूमिविहीन भएकाले संविधानमा उल्लेख गरिएको भूमि सम्बन्धी कानुन कर्णालीमा पनि लागू गर्न माग गर्ने बताएका छन् ।
कार्यक्रममा मुगुबाट निर्वाचित सांसद दानसिंह परियारले सीप र श्रमका ऊर्जाशील दलित समुदायको परम्परागत पेसालाई वैज्ञानिक बनाउने विषयमा पनि नीतिमा समावेश गरिने बताए । यस्तै सांसद रातो कामीले कर्णाली सरकारमा दलित समुदायको प्रतिनिधित्व नभए पनि जनस्तरबाट उठेका मुद्दालाई संसदमार्फत् सरकारको ध्यानाकर्षण गराउने वचन दिए । उनले कर्णालीको रुकुम पश्चिमका केही स्थानीय तहबाट जातीय छुवाछुत मुक्त बनाउने पहल सुरु भएको भन्दै कर्णालीका सबै जिल्लामा यो अभियान सञ्चालन गरिने बताए ।
यस्तै सांसदहरू राजु नेपाली र झोवा विकले कर्णाली सरकार कानुन निर्माण गर्ने चरणमा रहेका बेला दलित समुदायका लागि पर्याप्त अधिकारसहितको नीति निर्माण हुनेमा ढुक्क हुन आश्वासन दिएका छन् । यसैबीच नेकपाको जनवर्गीय संगठन मुक्ति समाज नेपाल र दलित मुक्ति मोर्चाले कर्णाली सरकारका सबै निकायमा अब बन्ने नीति नियम दलितमुखी हुनुपर्ने मागसहित ज्ञापन–पत्र बुझाएका छन् ।
मुक्ति समाजका अध्यक्ष बसन्त विश्वकर्माको टोेलीले आगामी बन्ने नीति कानुनले दलित समुदायको समान सहभागिता हुनपर्ने लागायतका १६ बुदे मागसहित मुख्यमन्त्रीको कार्यालय सामाजिक विकास मन्त्रालय, आन्तिरिक मामिला तथा कानुन मन्त्रालयलाई ज्ञापन–पत्र बुझाएका हुन । ज्ञापन–पत्र बुझ्दै सरकारका प्रतिनिधिहरूले सही समयमा ध्यानाकर्षण गराएको भन्दै दलित समुदायको हकहितका लागि नीति निर्माण बनाउँदा गम्भीर भएर सोच्ने प्रतिबद्धता जनाएका छन् ।
साझा बिसौनी ।