टिभी र रेडियो चलाउन अनुमति माग

साझा बिसौनी संवाददाता
सुर्खेत, २७ फागुन ।
कर्णाली प्रदेश सरकारले आफ्नै रेडियो र टिभी सञ्चालन गर्ने भएको छ । प्रदेश सभाको तेस्रो संसद वैठकबाट सार्वजनिक प्रशारण विधेयक–२०७५ पास भएसँगै सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले रेडियो र टिभी सञ्चालनको प्रक्रियामा जाने निर्णय गरेको हो ।
प्रदेशस्तरीय टेलीभिजन र रेडियो स्थापना गर्न प्रदेश सरकारले संघीय सरकारसँग अनुमति माग्ने निर्णय गरिएको भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले बताइन् । प्रदेश सरकारले सञ्चार माध्यम सञ्चालन गर्न पाउने अधिकारको उपयोग गर्दै केन्द्रसँग आवश्यक अनुमति माग गरिएको उनले जानकारी दिइन् । सरकारले चालु आर्थिक वर्षमा रेडियो र टिभी सञ्चालन ल्याउन बजेटसमेत विनियोजन गरेको छ । बजेट कार्यान्वयनका लागि पनि सरकारले कदम चालेको उनले बताइन् ।
सरकारका प्रवत्तासमेत रहेकी मन्त्री केसीले बैठकबाट समपूरक अनुदान सम्बन्धी योजनाहरू स्वीकृत प्रदान गरिएको पनि जानकारी दिइन् । यस्तै खाद्य उत्पादन, अधिकार तथा सम्प्रभुता सुनिश्चित गर्न वनेको विधेयक २०७५ र सार्वजनिक निजी साझदारी सम्बन्धीको विधेयक–२०७५ लाई प्रदेश सभामा पेश गर्न स्वीकृती प्रदान गरिएको छ । प्रदेश सेवामा खटिएका कर्मचारीलाई पदस्थापना गर्नलाई वनेको कार्यविधि–२०७५ स्वीकृत गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रस्तावमा प्रदेशस्तरीय गोदाम घर निर्माण, कर्णाली प्रदेश आर्थीक कार्यविधि ऐन–२०७४ पहिलो संशोधन र कर्णाली प्रदेश योजना तर्जुमा मार्गदर्शन–२०७५ लाई स्वीकृती प्रदान गरिएको छ ।
बहुवर्षीय ठेक्का बन्दोवस्ती सम्बन्धी निर्देशिका–२०७५ लाई स्वीकृती प्रदान, बजेट तर्जुमा तथा कार्यान्वयन सम्बन्धी निर्देशिका–२०७५ स्वीकृती प्रदान तथा उपभोक्ता संरक्षण गर्ने सम्बन्धी वनेको विधेयक मस्यौैदालाई स्वीकृती प्रदान गरिएको मन्त्री केसीले जानकारी दिइन् ।

प्रकाशित मितिः   २८ फाल्गुन २०७५, मंगलवार १४:२८