विकासको नाममा चरम बेथिति

2साझा बिसौनी संवाददाता
सुर्खेत, १३ असार ।
पश्चिम सुर्खेतको बड्डीचौर–बेनीघाट सडकखण्ड अन्तर्गत निर्माणाधीन पक्की पुलमा चरम लापरबाही गरिएको छ । यो सडकखण्ड अन्तर्गत गिमिनेखोला र सालकोटस्थित चौरखोलामा निर्माण हुँदै गरेका दुई वटा पक्की पुल निर्माणमा चरम लापरबाही भएको हो । पुल निर्माणको जिम्मा पाएका ठेकेदारले सम्झौता अनुसार काम गर्नुको साटो आलटाल गर्दै पुल हस्तान्तरण गर्ने तयारी गरेका छन् ।
चौरखोलामा निर्माण भएको पुल ठेकेदार कम्पनीले यो असार मसान्तभित्रमा जिल्ला विकास समितिलाई हस्तान्तरण गर्ने तयारी गरेको छ । दुई करोड आठ लाख रूपैयाँमा निर्माण सम्झौता भएको यो पुल कम गुणस्तरको भएको र आलटाल गरेर हस्तान्तरण गर्न लागिएको भन्दै स्थानीय उपभोक्ता विरोधमा उत्रिएका छन् । ३० मिटर लम्बाई र साढे पाँच मिटर चौडाइ भएको उक्त पुल निर्माणमा स्थानीयले तीव्र असन्तुष्टि जनाएका छन् । सडकबाट करिब पाँच मिटर अग्लो उक्त पुलमा माटो भरेर सडकसँगको सतह मिलाइएको छ । लागत स्टिमेट अनुसार ग्याबिन तार बिच्छ्याएर
(फिलिङ्ग) भर्नुपर्ने भए पनि अहिले पुलको वारीपारी करिब पाँच सय मिटर दूरीमा माटो मात्र थुपारेर पुलसँग सडकको सतह मिलाइएको छ ।1
वर्षात्सँगै थुपारिएको माटो विस्तारै पानीले बगाउन थालेको छ । यही अवस्थामा गाडी सञ्चालन भए उक्त भाग भत्किने र बग्ने खतरा पनि बढ्दै गएको छ । माटो थुपारिएको भाग भत्किएमा पुल अग्लो हुने भएकाले गाडी खोलाबाटै चलाउनुपर्ने बाध्यता आउने भन्दै स्थानीयले तत्काल ग्याबिन तार ओछ्याउनुपर्ने माग गरेका छन् । उक्त पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टीका रानाले भनिन्, ‘यो पुल निर्माणमा चरम लापरबाही गरिएको छ, हाम्रो आँखामा छारो हाल्ने काम हुँदैछ । कुनै पनि हालतमा पुलको पूरा काम हुनुपर्छ, ठेकेदारले आलटाल गरेर हतारमा हस्तान्तरण गर्न खोजेका छन् ।’ आफूहरूले बारम्बार आग्रह गर्दा पनि ठेकेदारले आलटाल गरेको भन्दै उनले पुल गुणस्तरहीन भएको बताइन् । यस्तै सालकोट गाविसका सचिव तिलकराम अधिकारीले विकासका नाममा जनताको आँखामा छारो हालिएको बताए । उनले भने, ‘सम्झौता अनुसार तोकिएको मितिमा काम सम्पन्न भएको छैन, करोडौं रकम खर्च गरिएको छ । तर माटो भरेर पुल बनाइएको छ, झारा टार्ने कामको हामीले विरोध गरेका हौं ।’
चौरखोलामा बनेको पुलमा मात्र होइन, बड्डीचौर भन्दा पश्चिम नजिकै रहेको गिमिनेखोलामा निर्माण हुँदै गरेको अर्को पुलमा पनि चरम लापरबाही भएको छ । उक्त स्थानमा बन्न लागेको पक्की पुल पनि झारा टार्ने गरी निर्माण भइरहेको भन्दै विरोध भइरहेको छ । पुल निर्माणको काम करिब अन्तिम चरणमा पुगेको छ । तर पुल निर्माणका क्रममा नजिकै रहेको सालको रुखलाई बीचमा पारेर पर्खाल लगाइएको छ । उक्त रुख विस्तारै बढ्दै गएपछि अहिले लगाइएको पर्खाल भत्किने प्राविधिकहरूले चेतावनी दिएका
छन् । तर जिल्ला वन कार्यालयले काट्न नदिएको भन्दै उक्त रुखको वरीपरी पर्खाल लगाएर पुल निर्माण गरिएको छ । ठेकेदारको लापरबाहीका कारण रुखलाई बीचमा पारेर पर्खाल लगाइएको भए पनि केही समयभित्रमा उक्त पर्खाल भत्किने भन्दै प्राविधिकहरूले अहिले नै उक्त रुख हटाउनुपर्ने बताएका छन् । तर ठेकेदार र सरकारी अधिकारीहरूले नै यसको कुनै सुनुवाइ गरेका छैनन् । स्थानीय बासिन्दाले भने सरकारी रकमको दुरूपयोग गरिएको र विकासको वहानामा राज्यको आँखामा छारो हाल्ने काम भएको भन्दै आलोचना गरेका छन् ।
चौरखोलामा पुल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी एलिट÷रविन जेभीका प्रतिनिधि शेरबहादुर बिसीले आफूहरूले सम्झौता अनुसार नै काम गरेको जिकिर गरे । उनले भने, ‘हामीले स्टिमेट अनुसार नै काम गरेका छौं, काम पूरा नहुँदै सम्झाता भएको रकम सकियो । अब ग्याबिन जाली लगाउने हो भने बजेट पनि थप्नुपर्छ, यदि बजेट थप भएमा हामी काम सम्पन्न गर्न तयार छौं ।’ लामो नाकाबन्दीले काममा ढिलाइ भएको र लागत पनि बढेको भन्दै उनले पुल निर्माणमा लापरबाही भएको आरोप अस्वीकार गरे । यस्तै जिल्ला प्राविधिक कार्यालयले पनि आफूहरूले तत्काल पुलको अनुगमन गर्ने जनाएको छ । प्राविधिक कार्यालयका प्रमुख शम्भु मिश्रले भने, ‘माटो भरेर मात्र हुँदैन, त्यहाँ ग्याबिन जालीसहित सडक र पुलको सतह मिलाउनुपर्छ । हामी त्यो काम गराएरै छाड्छौं, त्यसका लागि हामी म्याद थप्न पनि तयार छौं ।’ उनले स्थानीय बासिन्दाको माग अनुसार नै सम्पूर्ण काम सम्पन्न भएपछि मात्र पुल हस्तान्तरण हुने जानकारी दिए । उनका अनुसार चाँडै उक्त सडकमा ओटासीलको काम पनि हुनेछ ।

प्रकाशित मितिः   १३ असार २०७३, सोमबार ०५:१०