27 May 2019   |   सोमवार, जेष्ठ १३, २०७६

‘बा, म छाउगोठ जानै पड्न्या हो ?’

          |   134 पटक पढिएको   |   शनिबार, फाल्गुन २५, २०७५ मा प्रकाशित

सीता वली
सुर्खेत, २४ फागुन ।
‘बा, म छाउगोठ जानै पड्न्या
हो ? नगया हुँदैन ?’
‘जा, किन नजान्या ? छाउ भएका बेला बाहिर बस्नु हुँदैन ।’
मञ्चमा बाबु र छोरीबीच चलिरहेको यो संवाद सुनिरहँदा दर्शक दीर्घामा बसेकाहरू ‘अब के हुन्छ ?’ भन्ने कौतुहलतामा देखिन्थे । तर त्यसअघि कथा यसरी सुरु हुन्छ ।



रेडियोमा कार्यक्रम ‘मेरो कथा’ प्रसारण भइरहेको छ । जमुनीले उक्त कार्यक्रममा आफ्नै दाइको कथा लेखेर पठाएकी छे । यो कथा सुदूरपश्चिमको डोटी जिल्लाको हो ।
नाटकको मुुख्य पात्र उमेश र रिना एक अर्कालाई औधि मन पराउँछन् । एक अर्कालाई एकदमै माया गर्ने उनीहरूको जोडी गाउँ र सहरमा हुन्छन् । उमेश पढ्न भनि सदरमुकाम गएको हुन्छ । कलेज बिदामा घर आएको बेलामा उमेश र रिनाको सम्बन्धबारे रिनाकी आमाले थाहा पाउँछिन् । यो कुरा एक कान दुई कान मैदान हुँदै गाउँभरी फैलन्छ ।
दुवै परिवारले उमेश र रिनाको विवाह गर्ने निधो गर्छन् । विवाहको तयारी धुमधामका साथ भइरहेको हुन्छ । यस्तैमा विवाहको केही दिन अगाडि रिना महिनावारी हुन्छे । रिनाले महिनावारी भएको कुरा आमालाई भन्छे ‘आमा म भित्र आउँदिन, छाउ भयाकि छु ।’
रिनाका बुबा र आमा दुवै निराश हुन्छन्, विवाह रोकिने भयो । रिनाका बुबाले उसलाई छाउगोठमा बस्न भन्छन् । तर रिना छाउगोठ बस्न मान्दिन । उसले भन्छे, ‘बा, म छाउ जानै पड््न्या हो ? नगया हुँदैन ?’ तर रिनाका बा र आमाले उसलाई जबरजस्ती घरभन्दा केही टाढा छाउगोठमा पठाउँछन् ।
एक्लै छाउमा बसेकी रिनालाई भेट्न उसको प्रेमी उमेश जान्छ र मायाप्रेमको कुरा गर्छ । तर रिनाले छाउ भएको बेलामा छुनुहुँदैन भनी उमेशलाई त्यंहाबाट फर्काइदिन्छे । छाउगोठबाट फर्केपछि भने रिनाले बिहे नगर्ने निधो गर्छे । त्यो देखेर दुवै परिवार चकित पर्छन् । रिनाका बुबाले छोरीले निर्णय परिवर्तनले समाजमा आफ्नो ‘शीर निहुरेको’ भन्दै आत्महत्या गर्ने निधो गर्छन् । बुबाको त्यो हालत देखेर रिनाले छाउ बस्दा आफूमाथी भएको सबै घटना बुवाआमालाई भन्छे तर उनीहरूले त्यो बारेमा कसैलाई भन्दैनन् । उता उमेश रिनाको निर्णयले पागल हुन्छ । यस्तैमा उमेशकी बहिनी जमुनी महिनावारी हुन्छे । उसलाई पनि त्यसैगरी छाउगोठमा राखिन्छ । त्यो सुनेर रिना जमुनीलाई छाउबाट निकाल्न जान्छे तर उमेशले दिँदैन । उमेशले जमुनीलाई छाउबाट निकाल्न नदिएपछि आफूजस्तै घटना जमुनीलाई नपरोस् भनेर यसो गरेको कुरा रिनाले उमेशलाई भन्छे । छाउगोठमा आफू बसेको बेलामा बलात्कार भएको कुरा रिनाले उमेशलाई भनेपछि उमेशले रिनालाई साथ दिन तयार हुन्छ । र भन्छ, ‘म तेरो साथमा छु । तँ जस्तै अरुले यो समस्या भोग्नु नपरोस् ।’
यो दृश्य र कथा हो, वीरेन्द्रनगरमा सञ्चालन भइरहेको रारा राष्ट्रिय नाटक महोत्सवमा मञ्चन गरिएको नाटक ‘छाऊ’को ।
खप्तड सांस्कृतिक मञ्च कैलाली परिवारले प्रदर्शन गरेको नाटकले कर्णाली तथा सुदूरपश्चिमाञ्चल प्रदेशमा जरा गाडेको छाउपडी प्रथाको कहरलाई मञ्चमा उतारेको छ ।
कर्णाली प्रदेशमा पनि छाउपडी प्रथा कायमै छ । बराहताल, पञ्चपुरी तथा चौकुने गाउँपालीका लगायतमा छाउपडी प्रथा अझ बढी रहेको पाइन्छ । केही महिना अगाडि बराहताल गाउँपालिका की एक जना १६ वर्षीय किशोरी महिनावारी भएको बेलामा छाउगोठमै सामूहिक बलात्कृत भएकी थिइन् । यस्ता धेरै घटना सार्वजनिक नै हुँदैनन् । जसलाई ‘छाउ’ नाटकमार्फत कलाकारहरूले पनि प्रस्तुत गरेका छन् ।
लेखक तथा निर्देशक पुष्प अवस्थीले नेपाल सरकारले देखेको समृद्धिको सपना देशमा जरा गाडेको कु–प्रथाको अन्त्य नभएसम्म हुन नसक्ने भन्दै नाटकद्वारा समाजलाई चेतना दिने उद्देश्य राखिएको बताए । रारा राष्ट्रिय नाटक महोत्सवको उद्देश्य नाट्य क्षेत्रको विकासका सँगसँगै सामाजिक चेतना अभिवृद्धि गर्नु पनि रहेको स्थानीय आयोजक आरङ्ग नेपालका अध्यक्ष गणेशभक्त गौतम बताउँछन् ।
आगामी २९ गते सम्म सञ्चालन हुने महोत्सवमा शनिवार दुई वटा नाटक मञ्चन हुँदैछन् । बिहान ११ बजे प्रदेश १ बाट मानवअधिकार मञ्च नेपालको ‘म पहिलो सन्तान किसान जन्माउँछु’ प्रदर्शन हुनेछ भने दिउँसो ३ बजे कर्णाली प्रदेशको कर्णाली कला प्रतिष्ठान सुर्खेतको ‘आमाको सपना’ प्रदर्शन हुने जनाइएको छ ।

Loading...