सुर्खेतमा क्यान इन्फोटेक मेला सुरु

साझा बिसौनी संवाददाता
सुर्खेत, २४ फागुन ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा क्यान इन्फोटेक मेला सुरु भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रवार इन्फोटेकको उद्घाटन गरे ।
कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश डिजिटल प्रदेश बन्नेमा आशा पलाएको बताए । ‘कर्णाली प्रदेश सरकारले यस प्रदेशलाई डिजिटल प्रदेशको रूपमा विकास गर्ने कार्य अघि बढाएको छ । त्यसमा क्यानको साथ र सहयोग जरुरी छ’ उनले भने । विज्ञान र प्रविधिको विकास विना अन्य विकासहरू अधुरा रहने भएकाले निर्माण भइसकेका वैज्ञानिक सामग्रीहरूको प्रयोग गर्दै अब कर्णाली प्रदेशमै अनुसन्धान गरेर नयाँ आविश्कार गर्नुपर्ने उनले बताए । मुख्यमन्त्री शाहीले डिजिटल प्रविधिको प्रयोग गरेर कामलाई सजिलो र छिटो बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिए ।
सूचना र प्रविधिको प्रयोगमा सक्षम नभएसम्म चुनौतीहरू कायम रहने भन्दै क्यानले आयोजना गरेको इन्फोटेकले कर्णालीको विकासमा टेवा पुग्ने विश्वास लागेको बताए । ‘म आफै पनि प्रविधिमैत्री व्यक्ति हुँ, तपाईंहरू प्रविधिको विकासका लागि अघि बढ्नुहोस् कर्णाली प्रदेश साथ र सहयोग गर्न तयार छ’ शाहीले भने ।
फागुन २८ गतेसम्म सञ्चालन हुने क्यान इन्फोटेकको मुख्यमन्त्री शाहीले औपचारिक उद्घाटन गरेपछि स्टल स्थलको उदघाटन नेपाली वैज्ञानिकहरूद्वारा निर्माण गरिएको रोबोर्टले रिबन काटेर गरेको थियो । कर्णाली प्रदेशमै पहिलो पटक रोबोर्ट ल्याइएको हो । इन्फोटेक स्थलमा रोबोर्ट हेर्नेहरूको भीड लागिरहेको छ ।
कम्प्युटर एशोसियसन नेपाल (क्यान) महासंघ सुर्खेत शाखाद्वारा आयोजित क्यान इन्फोटेकमा क्यान महासंघका केन्द्रीय अध्यक्ष हेमन्त चौराशीयाले कर्णाली प्रदेश सरकारले डिजिटल प्रदेशको निर्माण गर्ने योजना बनाएर प्रविधिको विकासका लागि खेल्न थालेको भूमिकाको चर्चा गर्दै इन्फोटेकले उक्त कार्यमा महŒवपूर्ण भूमिका निर्वाह गर्ने बताए । सहज, सरल र समुन्नत ढङ्गले अघि बढ्नका लागि प्रविधिलाई जीवनशैलीमा प्रयोग गर्नुपर्ने उनको भनाइ थियो ।
मेलामा आईसीटी कन्फ्रेन्स, आईटी वर्कसपहरू डिजिटल कर्णालीका लागि स्मार्ट प्रविधि विषयमा सेमिनार जस्ता कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । आयोजक संस्थाका अध्यक्ष प्रेमप्रकाश चन्दले इन्फोटेकका मुख्य आकर्षकको रूपमा सूचना प्रविधिको बृहत प्रदर्शनी, प्रत्येक दिन आईटी सेमिनार, लक्की ड्रबाट हरेक दिन एकजनालाई रारा भिजिट, कम्प्युटर ल्यापटप र प्रिन्टर फ्रि सर्भिस क्याम्प, टाइपिङ्ग कम्पिटिसन, नेपाली वैज्ञानिकहरूद्वारा निर्मित रोबोर्ट तथा अन्य प्रविधिहरूको प्रदर्शनी लगायत रहेको जानकारी दिए ।

प्रकाशित मितिः   २५ फाल्गुन २०७५, शनिबार १३:५०