विकृति विरुद्धकी अभियन्ता
वीरेन्द्रनगर नगरपालिका–२ कोलडाँडाकी शोभा विश्वकर्मा वि.सं. २०५६ साल जेठ ३ गते जन्मिएकी हुन् । बुबा खड्कबहादुर विक र आमा विष्णु विकको कोखबाट जन्मिएकी उनी घरकी एक्ली छोरी हुन् । भैरव माध्यमिक विद्यालय भैरवस्थानमा नेपाली विषय पढ्दै गरेकी शोभालाई भविष्यमा शिक्षक बन्ने रहर छ ।
बुबाले समेत उनलाई शिक्षक बनाउने सपना देखेका छन् । सानैदेखि बालविवाह, बहुविवाह लगायतका सामाजिक विकृतिविरुद्धको अभियानहरुमा संलग्न शोभाले आफ्नो कलेज लाईफको कथा हाम्रा सहकर्मी सीता वलीसँग यसरी साटिन्ः
शिक्षक बन्ने सपना छ
मैले वि.सं. २०७२ सालमा प्रभात माध्यामिक विद्यालय कोलडाँडाबाट एसएलसी उत्तीर्ण गरें । अहिले भैरव माध्यमिक विद्यालयमा कक्षा १२ मा पढ्दैछु । म सानैदेखि खासै बोल्ने स्वभावकी थिइन । तर यो सामाजिक अभियानले मलाई धेरै बोल्ने बनाएको छ । मलाई सामाजिक सेवामा अत्याधिक रुचि छ । शिक्षक बन्ने रहरले मैले एसएलसी पास गरेपछि शिक्षा संकाय पढेकी हुँ । मेरो बुबाको सपना मलाई शिक्षक बनाउने छ । त्यसैले मैले शिक्षा शास्त्र संकाय पढेकी हुँ ।
शिक्षक पेसा पनी समाज सेवा नै हो । आफूमा भएको ज्ञान अरुलाई दिनु पनि एक किसिमको सेवा हो । घरको आर्थिक अवस्था पनि कमजोर भएकोले अरु विषय पढ्न सकिएन ।
मेरो कलेजको पहिलो दिन
नयाँ विद्यालय । चिनेका कोही थिएनन् । त्यसैले कलेज गएको पहिलो दिन ‘नर्भस’ भएकी थिएँ । तर पहिलो दिननै साथी बनाएँ । त्यसपछि भने रमाइलो भयो । कलेजबाट फर्कंदा पनि रमाइलो नै भयो ।
कलेज बाहेक घरमा खासै पढ्ने बानी छैन । मैले किशोरी संवाद केन्द्र पनि सञ्चालन गर्ने गर्दछु । त्यसमा बालविवाह, बहुविवाह जस्ता विषयमा किशोरीहरुसँग छलफल हुने गर्दछ ।
कलेजको राम्रो पक्ष शिक्षकहरुसँग छलफल गर्दै पढ्न हुन्छ । साथी जस्तो व्यवहार शिक्षकहरुबाट हुने गर्दछ । नराम्रो पक्ष भनेको विद्यालय जस्तो व्यवहार पाइदैन ।
कलेज लाईफमा क्लास बंक भने गरिनँ तर कहिले काहीं फिल्म हेर्न भने गइयो । मलाई घुम्न र समाज सेवामा अत्यन्तै रुचि छ । कलेज लाईफमा प्रेमको चक्करमा भने म परिनँ । किनभने बुबाआमाले हाम्रो लागि दुःख गरेर पढाउनु भएको छ । घरको आर्थिक अवस्था पनि राम्रो छैन । त्यसैले पनि कलेज लाईफमा प्रेममा परिएन । प्रेम हरेकले हरेकलाई गर्नसक्छ । त्यो मध्येको केटा र केटी बीचको प्रेमको भने सरुरु समय आउँछ त्यो समय मेरो लागि आएको छैन ।
समाजसेवामा समर्पित
हाम्रो समाज अझै पनि अपेक्षाकृत रुपमा समृद्ध हुन सकेको छैन । सामाजिक विकृतिहरु व्याप्त छन् । समाजमा बलात्कार, बालविवाह, बहुविवाह लगायतका घटना धेरै हुन्छन् । त्यसमा पनि म समाजमा कसैले नराम्रो गरेको देख्न नसक्ने स्वभावकी छु । त्यसैले केही संघ–संस्थाहरुको सहयोगमा मैले किशोरी संवाद केन्द्र सञ्चालन गरिरहेकी छु । जसमा त्यो क्षेत्रका बालिकाहरु सहभागी हुने गर्दछौं । हामीहरुले संवाद केन्द्रमा बालविववाह, बहुविवाह, बलात्कार, घरेलु हिंसा लगायतका विषयमा छलफल गर्ने गर्दछौं । त्यसले त्यो क्षेत्रमा बालविवाह, बहुविवाह गर्नेहरुको संख्या पनि घटेको छ । यस्ता खालका समस्या पीडितहरु पनि सहभागी हुने गरेको छन् । मलाई समाज सेवामा एकदमै रुचि छ । सानै उमेरदेखि म यो क्षेत्रमा लागेकी हुँ । कक्षा आठमा पढ्दादेखि नै यो क्षेत्रमा लागेकी हुँ । घरको आर्थिक अवस्था कमजोर भएको कारण शिक्षक पेसा अपनाए पनि वास्तवमा समाज सेवा मेरो सपना हो ।
साझा बिसौनी संवाददाता ।