कैदीहरूसँग महिला दिवस
साझा बिसौनी संवाददाता
सुर्खेत, २४ फागुन ।
सुर्खेत महिला जेसीज वर्ष २०१९ ले १ सय ९ औं अन्तर्राष्ट्रिय महिला दिवसको जिल्ला कारागार सुर्खेतमा रहेका कैदिबन्दीहरूसँग मनाएको छ । महिला दिवसकै अवसरमा महिला कैदी बन्दीलाई लक्षित गरी पाँच दिने ‘प्रिजन स्मार्ट कोर्ष’ समेत सुरु गरेको सुर्खेत महिला जेसीज वर्ष २०१९ का अध्यक्ष लक्ष्मी कार्की प्रधानले जानकारी दिइन् ।
उक्त पाँच दिने ‘प्रिजन स्मार्ट कोर्ष’ मा जीवन जिउने कलाका प्रमुख प्रशिक्षक डा. कञ्चन घिमिरे प्रशिक्षण दिनेछन् । विभिन्न तरिकाले देशभर महिला दिवस मनाएता पनि जानी नजानी सजाएका भागीदार रहेका कारागारका बन्दी महिलाहरूलाई लक्षित गरी आफूहरूले उक्त पाँच दिने तालिमको सुरुवात गरेको अध्यक्ष कार्कीको भनाइ छ ।
‘प्रिजन स्मार्ट कोर्ष’ले कैदीबन्दी महिलाहरूमा भएको निराशालाई हटाउने आयोजकको विश्वास छ । कारागारका बन्दी महिलाहरूलाई कारागारबाट बाहिर आइसकेपछि पनि सहजरूपमा जीवनयापन गर्नका लागि सघाउ पु¥याउने उद्देश्यले तालिम आयोजना गरिएको हो ।
उक्त तालिमको उद्घाटनमा बोल्दै सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत अनिता ज्ञावालीले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यका लागि शैक्षिक तथा जनचेतनामूलक कार्यक्रमलाई अझै प्रभावकारी ढङ्गले अघि बढाउन जरुरी रहेको बताइन् । महिलामाथि हुने सबै प्रकारको हिंसा अन्त्यका लागि संघ, प्रदेश र स्थानीय सरकारले मिलेर अभियान नै सञ्चालन गर्नु ज्ञवालीको भनाइ थियो ।
जिल्ला कारागार सुर्खेताका निमित्त जेलर जंगबहादुर राणका अनुसार कारागारका २२ जना बन्दी महिलाहरू रहेका छन् ।
साझा बिसौनी ।