वडा अध्यक्षविरुद्ध उपाध्यक्षको उजुरी
साझा बिसौनी संवाददाता
सुर्खेत, २४ फागुन ।
सिम्ता गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला शाहीले वडा अध्यक्षविरुद्ध प्रहरीमा उजुरी दिएकी छिन् । आफूलाई अपमानजनक व्यवहार गरिएको भन्दै उनले सोही गाउँपालिकाको वडा नं. २ का अध्यक्ष हरीबहादुर सिंहसहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी दिएकी हुन् ।
१०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुक्रवार आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुन शाही वडामा पुगेकी थिइन् । त्यहाँ वडा अध्यक्षसहित अन्य पुरुषहरूबाट अपमानित भएको उनले बताएकी छिन् । उनी सहभागी कार्यक्रममा सफल पार्न लागेको नारा विरुद्ध पुरुषहरूले असफल पारौं भन्दै नारा लगाएका शाहीले बताइन् । कार्यक्रममा आफूमाथि अपमानजनक व्यवहार बताउँदै उनले गाउँपालिकास्थित प्रहरी कार्यालयमा शुक्रवार निवेदन दिएकी हुन् ।
प्रहरी कार्यालयका अनुसार आवश्यक छानविनका लागि उजुरी परेको छ । गाउँ कार्यपालिकाको फागुन १९ गते बसेको बैठकले महिला दिवसमा सबै वडामा सार्वजनिक बिदा दिएर भव्य रूपमा दिवस मनाउन परिपत्र गरेको थियो । सोही निर्णय अनुसार वडापालिकामा तयारी भए पनि उपाध्यक्षमाथि वडा अध्यक्षले राजनीतिक प्रतिशोधले कार्यक्रम असफल पारेको आरोप उपाध्यक्ष शाहीले लगाइन् । ‘कार्यक्रम सभ्य र भव्य बनाउन बिहान १० बजे नै काफलकोट पुगेकी थिएँ’ उनले भनिन्, ‘तर, साढे दुई बजे मात्रै ब्यानर आयो । किमसरा खत्रीको नेतृत्वमा नारी दिवस सफल पारौं भनेर नारा लाग्दा जनप्रतिनिधिदेखि विद्यालयका शिक्षकबाट असफल पारौ भनेर नारा लाग्यो ।’
उनले वडाअध्यक्ष सिंहले राजनीतिक प्रतिशोधका कारण कार्यक्रम असफल बनाएको आरोप लगाइन् । ‘गाउँपालिकाका अन्य वडाहरूमा दिवस भव्य रूपमा मनाइयो’ उनले भनिन्, ‘काफलकोटमा बोलाएका बाजासमेत ‘को मरेको छ र बाजा बजाएको ?’ भनेर अपमानजनक शब्दहरू प्रयोग गरियो ।’
वडा अध्यक्ष सिंहले भने आफूले उपाध्यक्षमाथि अपमानजनक व्यवहार नगरेको बताए । महिला अधिकारकर्मी, संघ–संगठनका पदाधिकारीलाई वडा कार्यालयले खबर गरेको बताउँदै उनले उनीहरू आफै सहभागी नभएको बताए । ‘प्राविधिक कारण हो की खै के हो कार्यक्रममा महिलाहरूको सहभागिता भएन’ उनले भने, ‘वडा अध्यक्षले अपमान ग¥यो भन्नु गलत हो । तुल्सी प्राविका कार्यालय सहयोगी नरबहादुर बुढाले व्यानर वडा सदस्यको जिम्मा दिएका रै’छन् । वडा सदस्य अर्काे कार्यक्रममा सहभागी भएकाले व्यानर आउन ढिला भएको हो ।’
साझा बिसौनी संवाददाता ।