‘कर्णालीलाई विकासले बदल्नुपर्छ’

साझा बिसौनी संवाददाता
सुर्खेत, २३ फागुन ।
उप–प्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले विकासमार्फत् कर्णालीलाई बदल्नुपर्ने बताएका छन् । वीरेन्द्रनगरमा बिहीवारदेखि सुरु भएको रारा राष्ट्रिय नाटक महोत्सवको उद्घाटन गर्दै उनले सुन शिरानी लगाएर नुनको खोजी गर्नुपर्ने कर्णालीको बाध्यत्मक अवस्था बदल्नुपर्ने बताए ।


कर्णालीबासीको परिचय अब बदल्ने गरी विकास गर्नुपर्ने उनको भनाइ थियो । ‘यो नुनको सिरानी लगाएर नुनको खोजी गर्नुपर्ने एउटा दुर्भाग्यपूर्ण नियती भोगेका बासिन्दाले बसोबास गर्ने जस्तो यो क्षेत्र बनेको छ’ उनले भने, ‘यो बिडम्वनापूर्ण अवस्था बदल्नुपर्छ । नाट्य क्षेत्रले यसमा केही सहयोग पुगोस् ।’ उनले मुलुक संघीय संरचनामा गएकाले संविधानले प्रदान गरेका अधिकारहरूको प्रयोग गरेर तीन तहका सरकारले जनपक्षीय काम गर्नुपर्ने बताए । साथै उनले सुखी नेपाली र समृद्ध नेपालको नारालाई वर्तमान सरकारलाई साकार पार्ने प्रतिबद्धता पनि जनाए । ‘समृद्ध नेपाल र सुखी नेपाली भाषणको विषय होइन र हुन सक्दैन’ उनले भने, ‘अब हाम्रो उत्पादनसँग सबै काम जोड्नुपर्छ, उत्पादन हुँदैन भने सुखी नेपाली र समृद्ध नेपालको नारा वेकार हुन्छ । उत्पादनमा रोजगारी, आत्मनिर्भर, सीपसँग सम्बन्धित छ ।’ वर्तमान आवश्यकता समृद्ध नेपालको भएकाले सबै क्षेत्रबाट सहयोग गर्न उनेले आव्हान गरे । देशलाई समृद्ध र नागरिकलाई खुशीसँग जोडेर मात्रै सरकारले गतिविधि अगाडि बढाउने बताए ।
कार्यक्रममा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संघीय सरकारले जनसंख्याका आधारमा बजेट विनियोजन गर्नुले कर्णालीमाथिको उपेक्षा नहटेको बताए । ‘जनसंख्याका आधारमा बजेट विनियोजन हुँदा जहाँ विकास भएको छ त्यहा झनै विकास भएको छ’ उनले भने, ‘डाँडाकाँडा भएको कर्णालीमा भुगोल ठूलो छ, जनसंख्या कम छ, यसरी कर्णालीको विकास सम्भव छैन ।’ समृद्ध नेपाल र सुखी नेपालीको नारा दीर्घकालीन रूपमा कार्यान्वयन हुने गरी संघीय सरकराले काम नगरेको आरोप उनले लगाए ।
बिहीवारदेखि वीरेन्द्रनगरमा सुरु भएको नाटक महोत्सवमा पहिलो दिन स्थानीय आयोजक आरङ्ग नेपालको प्रस्तुती नाटक ‘मुसल पर्व’ प्रदर्शन गरिएको छ । गणेशभक्त गौतमको लेखन तथा निर्देशन रहेको उक्त नाटकमा गौतमसहित प्रेमदेव गिरी, प्रकाश पौडेल, केशव ढकाल, भानुभक्त अधिकारी लगायतका कलाकारहरूले अभिनय गरेका थिए । फागुन २९ गतेसम्म सञ्चालन हुने महोत्सवमा देशभरबाट छनौट भएका विभिन्न १२ वटा नाटक मञ्चन हुँदैछन् ।

प्रकाशित मितिः   २४ फाल्गुन २०७५, शुक्रबार १३:३१